चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
महिनावारी कसैका लागि उत्सव र खुशी पनि हुन सक्छ । तर मेरो लागि डर, भय र त्रास अनि परिवारको इज्जत हो ।
उत्सवलाई इज्जतसँग दाँज्दा झस्किनुभयो होला है । हो मेरा लागि महिनावारी परिवार र मेरो इज्जत हो ।
म महिनावारी भएको मलाईभन्दा बढी मेरो टोल, गाउँ, छिमेकीलाई चासो हुन्छ । यो चासो थियो, छ र भइरहेको छ । किनकी महिनावारी मेरो इज्जत हो ।
मेरो चरित्र मेरो महिनावारीसँग जोडिएको छ । यो मेरो समाजले जोडिदिएको हो ।
सुदूरपश्चिमको पहाडी जिल्ला अछाम, अछामको पनि १५, २० क्षेत्र । अहिलेको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा मेरो जन्म भयो । बिकट जिल्ला अछामको छाउपडी कुप्रथाबारे सुन्नुभएकै होला । देख्नुभएकै होला ।
तपाईंहरु कतिपय त त्यही छाउपडीका नाममा अछाम समेत पुग्नुभएको पनि होला ।
२०६४ साल माघमा मेरो पहिलो महिनावारी भयो । महिनावारी हुँदा आमा, बुवा त खुशी हुनु नै भयो होला । तर मलाई भने खुशीभन्दा बढी दुःखी हुनुपर्ने भयो । किनकी त्यही दिनदेखि मैले सुरु गर्नु थियो, मेरो एकान्तवास । घरबाट टाढा रहेको त्यो छाउपडी गोठमा बस्न ।
त्यो दिन डाँडाकाँडा हिउँले सेताम्मे थिए । गाउँमा परेको हिउँ पग्लिंदै थियो । मुटु कँपाउने जाडो थियो । अब सामना गर्नुपर्ने भयो त्यो चिसोसँग । पातलो एक जोर ओढ्ने ओछ्याउने र अलिकति दाउरा बोकेर लागें छाउपडी गोठमा । कसरी बस्ने ? एक्लै मनमा डर लाग्यो । तर, बाध्यता थियो ।
भाइ, बुवाको अघि लुकेर बस्नुपर्ने । खाना खाँदा, बस्दा अलगै बस्नुपर्ने । कसैलाई छुन त परैको कुरा घरको करिब २, ३ सय मिटर आसपास जानै नपाउने । दही, दुध खानुको त कुरा छोडौँ, गाईलाई समेत छुन नपाइने ।
हो त्यही दिनदेखि बुझें मैले यो महिनावारी मजस्ता केटीहरुका लागि डर हो, भय हो, त्रास हो । त्योभन्दा ठूलो मेरो परिवारको इज्जत हो । इज्जत कसरी ? यो पनि म भन्छु ।
मेरो टोलमा १२ वटा जति घर छन् । सबैको छाउ हुँदा बस्ने गोठ एउटै । टोल सानो भएकाले पनि होला कसको घरमा के भयो, के हुँदैछ सबैैलाई सजिलै थाहा हुन्छ ।
मेरो पहिलो महिनावारी सबैलाई थाहा भयो । ए फलानो त छाउ भइछे नि आज । ल केटी पनि आमा बन्न तयार भई, ओहो लौ तेरो त बिहे गर्ने बेला सुरु भयो । काकी, भाउजुहरुले यस्तै कुरा सुनाए ।
मानौं मेरो महिनावारी अचम्म थियो । मेरो मात्र हैन, मेरो टोलका दिदीबहिनीको पहिलो महिनावारीमा सबैले सुन्नुपर्ने यही हो ।
महिनावारी सुरु भएदेखि हरेक महिनाको त्यही गते अथवा महिनावारी हुने पालो, सोध्न थाल्छन् । ए तेरो त महिनावारीको पालो आयो । महिनवारी भयो की बाँकी छ ?
केही दिन तलमाथि हुँदा किन छाउ भएन ? ओहो के भयो होला ? यो मलाईभन्दा मेरा टोलका काकी, भाउजुहरुलाई खुल्दुलीको विषय हुन्थ्यो ।
लाग्थ्यो, यो महिनावारी के रहेछ ? किन केही दिन तलमाथि हुँदा पनि सबैले प्रश्न गर्छन् ?
मैले आमालाई सोधीहाले आमा किन म छाउ भएको नभएको सबैलाई चासो हुन्छ ? आमाले भन्नुभयो, ‘तिम्रो महिनावारी त हाम्रो इज्जत हो ।’
महिनावारी केही महिनाको लागि तब रोकिन्छ, जब महिला आमा बन्न पेटमा बच्चा बस्छ । महिनावारी सधैंको लागि तब रोकिन्छ, जब महिला ५० भन्दा माथीको उमेरमा पुग्छे । त्यो भन्दा अघिपछि नभए त चरित्रमा औंला उठ्छ । मलाई पनि आमाकै कुरामा विश्वास लाग्यो ।
गाउँमा आफ्नो भन्दा अरुको परिवारको चासो राख्ने बढी हुन्छन् । मेरो टोलको कुरा गर्दा १२ जना परिवारको छाउगोठ एउटै थियो । किशोरी, कसको महिनावारीको पालो कहिले, कसको कहिले आफूभन्दा अरुलाई चासो हुन्थ्यो ।
मेरो महिनावारी हुने समयभन्दा केही दिन तलमाथि हुँदा समेत कुरा सुरु भइहाल्थ्यो । फलानो किन महिनावारी नभएको ? सँगै भएका मेरी छोरी त भइसकी, कतै... हो गाउँलेहरुको एकआपसमा कुराकानी सुरु हुन्छ ।
छाउगोठ बस्दाको पीडा
छाउ भएको बेलामा कसरी सफा रहने, कसरी सुरक्षित रहने, कस्ता खानेकुराहरु खाने यो बारेमा ध्यान कसको जाओस् । ध्यान जान्थ्यो त सबैको उसको महिनावारी किन भएन ? कहिले हुन्छ ?
कति चिसा रात, कति गर्मीका रात एक्लै बस्नुपर्दाको पीडा । म शब्दमा बयान गर्न सक्दिनँ ।
साउने झरी होस् या बैशाखको चर्को घाम । कति रात ननिदाएर कटे, कति रात डरले बिते, कति रात बहिनीहरुलाई सँगै लिएर बिते, कति रात कसरी बिते पत्तो पाइनँ ।
कति रात वर्षामा चुहिने गोठमा प्लाष्टिक ओढेर बसें । किरा फट्यांग्राको डर । सर्प, बिच्छीको डर । मान्छेको डर । मनको डर । ओहो डरैडर । त्यो बेला एउटी किशोरीको कलिलो मस्तिष्कमा कस्तो असर प¥यो होला ? मात्र मनोविमर्शकर्ताहरुले अनुमान गर्न सक्छन् ।
यसरी कति वर्ष बिते, पत्तो पाइनँ । त्यसपछि गाउँमा भएका छाउगोठ भत्काइए । छाउगोठ भत्काएर के गर्नु ? मनको गोठ त भत्केको थिएन । त्यसपछिका दिन फेरि कष्टकर बने ।
शौैचालयको बास
गाउँमा भएका छाउगोठ भत्के । घरमै बस्न परिवारले दिंदैनन् । गोठ छैनन् । त्यसपछिका दिन मेरा लागि थप कष्टकर बने । कि त खेतको आलीमा पाल टाँगेर बस्नु पथ्र्यो । कि त अर्को गाउँमा रहेको छाउपडी गोठमा जानु पथ्र्याे । त्यहाँ जाँदा कहिले धेरैजना भएर ठाउँ नै नहुने, कहिले एक्लो हुने । यस्तैमा बिते कति समय ।
त्यसपछि गाउँमा खुल्ला दिसामुक्त अभियान चल्यो । सबैलाई शौैचालय अनिवार्य थियो । मेरो बुवाले पनि शौचालय बनाउनुभयो । त्यसपछिको करिब चार महिना मेरो बास भयो शौचालयको । खुट्टा खुम्च्याएर त्यही बसें । दिउँसो सबैको दिसा गर्ने शौचालय साँझ मेरो लागि बसस्थान थियो । म एक्लैको लागि हैन, मेरा साना बहिनीहरुको पनि बासस्थान भयो ।
हुन त महिनवारीको बेला छाउगोठको होस् वा शौचालयको, साथमा सानी बहिनी मेरी साथी हुन्थी । किनकी उसलाई डर लाग्दैन । सानी थिइ । डर के हो थाहा थिएन । उसैको साथमा म गोठमा निडर भएर बस्थें । कहिले त टन्न साथी हुन्थे । गाउँकै कहिले भाउजु, कहिले काकी, कहिले दिदीहरु पनि महिनावारी भइरहेका हुन्थे । गोठमा सँगै हुन्थ्यौं । अरु कोही नहुँदा मेरी साथी बहिनी हुन्थी ।
दिनभर प्रयोग गरेको शौचालय साँझ सफा गर्ने, प्वालमा पराल राख्ने, त्योमाथि काठ बिच्छाउने अनि रातभरी सुत्ने । यसैगरी बिते, मेरा केही महिना । त्यसपछि म पढाइको सिलसिलामा कैलाली सरें, अनि छुट्यो मेरो गोठको यात्रा ।
सम्झँदा डर लाग्छ
ती डरलाग्दा दिनहरु सम्झँदा अहिले पनि अत्यास लाग्छ । सपना हो या बिपना भन्ने पनि लाग्छ कहिलेकाहीँ त । साँच्चै मेरो महिनावारी र गोठको बसाईको एउटा सानो चलचित्र नै बन्छ होला ।
जो एक कथा हैन । स्वयं मैले भोगेको कथा । मजस्तै मेरा धेरै दिदीबहिनीहरुको दुःख पनि यस्तै होला ।
तर, अहिले त्यस्तो अवस्था छैन । मेरो जस्तो दुःखद बसाई मेरा बहिनीहरुलाई छैन । अहिले उनीहरु आफ्नै घरमा सुरक्षित बसेका छन् । अहिले उनीहरुलाई देख्दा लाग्छ तिमीहरु कति भाग्यमानी । न कसैलाई महिनावारी भएको थाहा हुन्छ, न गोठ खोज्दै बास बस्नुपर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
इन्द्रसरा खड्का महिला अधिकार र सामाजिक विषयमा कलम चलाउनुहुन्छ ।