स्वदेश फर्कने नेपालीको कोरोना जाँचमा ढिलाई हुँदा नेपाल एअरलाइन्सले परिवर्तन गर्‍यो उडान तालिका

 असार ३, २०७७ बुधबार १६:१७:३८ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपालीको स्वदेश फिर्तीको लागि तय गरेको चार्टर्ड उडान तालिका परिवर्तन गरेको छ । नेपाल फर्कने नेपालीले अनिवार्य रुपमा पीसीआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएकाले चार्टर्ड उडानको तालिका परिवर्तन गरेको निगमले जनाएको छ । 

पीसीआर रिपोर्ट समयमा आउन नसेकेको तथा अन्य प्राविधिक कारणले गर्दा सम्बन्धित देशका नेपाली दूतावासले नै उडान तालिका मिलाउन अनुरोध गरेकाले तालिकामा केही परिवर्तन भएको निगमको भनाइ छ ।

 निगमले यसअघि जुन १४ देखि २५ सम्मको उद्धार उडानको तालिका सार्वजनिक गरेको थियो । निगमको पहिलो उडानमा वाइड बडी जहाजले बङ्गलादेशबाट २५८ नेपाली उद्धार गरी नेपाल ल्याएको थियो । जुन १५ र १६ को उडान रद्द भएको थियो । पछिल्लो पटक निगमले उडानको नयाँ कार्यतालिका बनाएको छ । 

यस्तो छ नयाँ उडान तालिका

नयाँ तालिका अनुसार आजै नेपाल एअरलाइन्स थाइल्याण्डको बैंकक गएको । आज साँझ त्यहाँबाट नेपाली लिएर स्वदेश फर्कने छ ।

त्यसैगरी जुन १८ मा साउदी अरेबियाको रियाद र यूएई, जुन १९ मा जापानको नारिता र कुवेत, जुन २० मा साईप्रस, क्वालालम्पुर र दोहा उडान हुनेछ । 

त्यसैगरी जुन २१ मा ढाका, दक्षिण कोरिया र बहराइन,  जुन २२ मा अष्ट्रेलियाको सिड्नी र बैंकक उडान हुनेछ । 

त्यस्तै जुन २३ मा नारिता र माल्दिभ्सको माले, जुन २४ मा नारिता, साउदी अरबको जेद्दा, जुन २५ मा बहराइन, जुन २६ मा अस्ट्रेलियाकाे मेलबर्न, जुन २७ मा अस्ट्रेलियाकाे मेलबर्न, जुन २९ मा इजरायलको तेल अभिव, साईप्रस, जेद्दा र जुन ३० मा साईप्रसका लागि उडान निर्धारण गरिएको छ । 

दूतावाससँगको समन्वयमा हुने चार्टर्ड उडानमा यात्रुले पीसीआर वा आरडिटी परीक्षण नेगेटिभ वा कोभिडको लक्षण नभएको स्वास्थ्यकर्मीको प्रमाणित प्रमाण पेश गरेको हुनुपर्नेछ । चार्टर्ड उडान यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुनसक्ने र जहाजमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर्ड हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिइएको छ । नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारो बडी जहाज छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया