'असमान सन्धि सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्छ, 'बडे भाइ' को दम्भ त्याग्नुपर्छ'

 असार ४, २०७७ बिहीबार १३:४३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले भारतले ‘बडे भाइ’ को दम्भ त्यागेमात्रै दुई देशको सम्बन्ध सुमधुर हुने बताउनुभएको छ । २१ औँ शताब्दीमा पनि भारतले बल्लभ भाइ पटेलको मानसिकतामा परिवर्तन गर्न नसके दुई देशको सम्बन्ध सुमधुर हुन नसक्ने उहाँले बताउनुभयो । 

नेपाल भारतबीचको आर्थिक, सामाजिक र अन्य सम्बन्धहरु सुमधुर बनाउन नेपाल भारत दुई देशको कर्तव्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आजको भारतीय संस्थापन पक्षले हिजोका बल्लभ भाइ पटेलको मानसिकतामा आधारित भएर दुई देशबीचको सम्बन्ध सुमधुर बन्छ भन्ने ठान्छ भने त्यो बन्न सक्दैन । उसले त्यो मानसिकतामा परिवर्तन ल्याउनुपर्छ । भारतले बडे भाइको दम्भ त्याग्नुपर्छ । यो त्यग्नैपर्छ नेपाल भारतको सम्बन्ध सुमधुर बनाउन ।’

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई २१ औँ शताब्दीको उन्नत चेतनामा आधारित भएर मित्रवत् सम्बन्धको सुरुवात गर्ने आँट र क्षमता देखाउन पनि आग्रह गर्नुभयो ।

राष्ट्रिय सभामा प्रस्तुत नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथिको छलफलमा उहाँले महाकाली सन्धिमा उल्लेख भएका कतिपय कुराहरुको गलत अर्थ लगाइएको बताउनुभयो । अधिकांश महाकाली नदी सीमा नदी हो भनेर उल्लेख भएको शब्दावलीलाई गलत अर्थ लगाइएको उहाँले बताउनुभयो । 

महाकाली पारि पनि नेपाली भूमि दोधारा–चाँदनी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘महाकाली नदी सम्पूर्ण सीमा नदी हो भन्न सक्ने अवस्था नेपालको छैन । महाकाली पारि पनि दोधारा र चाँदनी छन् । त्यो हाम्रो होइन भन्न सक्छौँ ? सक्दैनौँ भने महाकाली सन्धिमा अधिकांश भूभाग सीमा नदी हो भनेको कुरा गलत ढङ्गले भनेको भनेर सोच्नु हुँदैन ।’

भारतीय पक्षका कारण पछिल्लो समय नेपाल–भारत सम्बन्धमा दरार आएको उहाँले बताउनुभयो । वार्ताको लागि पटक–पटक आग्रह गर्दा पनि विवादित क्षेत्रमा आफै सडक उद्घाटन गर्ने अनि सेना प्रमुखले नेपालको अपमान गर्दा नेपालले त्यो सहन नसक्ने उहाँले बताउनुभयो । ‘सीमा समस्या समाधानको लागि पटक–पटक आग्रह गर्दा पनि भारतबाट बेवास्ता भयो । भारतीय पक्षले हेपाहा र मिचाहा प्रवृत्ति देखाएका कारण समस्या उत्पन्न भयो । यो भारतीय संस्थापनको कुटनीतिक असफलता हो’, उहाँले भन्नुभयो ।

उहाँले सबै असमान सन्धि सम्झौता पुनरावलोकन गर्न भारत तयार हुनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया