विदेशबाट फर्केर स्वदेशमै स्वराेजगार

 असोज ५, २०७७ सोमबार १६:३०:३ | रासस
unn.prixa.net

कोरोनाको सङ्क्रमणबाट जोगिन भारतलगायत विभिन्न खाडी देशहरुबाट स्वदेश फर्किएका युवा यहीँ विभिन्न व्यवसाय र काम गरेर बस्न थालेका छन् । विदेशमा कोरोनाको सङ्क्रमण झन बढेपछि उनीहरुले विदेश जाने सोच बदलेर गाउँघरमै आफूले जानेका सीप र श्रम लगाएर काम गर्न थालेका हुन् । 

गएकाे  चैतको दोस्रो हप्ता भारतको नयाँदिल्लीबाट घर फर्कनुभएका दाङको राप्ती गाउँपालिका­ ३ छोट्की सिसहनियाका खेमराज खड्काले अहिले गाउँमै कुखुरापालन व्यवसाय शुरु गर्नुभएको छ । नयाँदिल्लीमा रहँदा होटेलको कुकको काम गरेका खड्काले स्थानीय एग्रोभेटको प्राविधिक सहयोगमा कुखुरा पाल्न थाल्नुभएको हो ।

लमही नगरपालिका ७ का अनिल चौधरीले कतारबाट फर्केर अहिले घर निर्माणको काम गरी रहनुभएको छ । उहाँले कतारमा रहँदा पनि निर्माण मजदूरको काम गरेकाले लमही बजारमा कामको लागि जाने गरेको बताउनुहुन्छ । “खाली बस्दा साँझ बिहान के खाने भन्ने चिन्ता हुन लाग्यो, आफूले गर्न सक्ने श्रमको काम गरेको छु” अनिलले भन्नुभयो । कोरोनाको डरले भएपनि घरमा परिवासंग बसेर काम गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।

देउखुरीकै सूर्यनारायण चौधरीले बाख्रापालन व्यवसाय शुरु गर्नुभएको छ । कतारको सुपरमार्केटमा काम गर्ने चौधरी नेपाल सरकारले गरेको उद्दार उडानमार्फत नेपाल आउनुभएको हो । चौधरीले अहिले १० वटा बाख्रा किनेर व्यवसाय शुरु गरेको बताउनुभयो । छ वर्ष विदेश बसे पनि घरमै बसेर व्यवसाय गर्न पाउँदा उहाँ खुशी हुनुहुन्छ । 

विदेशबाट घर फर्किएका जिल्लाका अन्य युवाहरुले पनि तरकारी खेती, पशुपालन, कुखुरापालन माछापालन, माहुरीपालन, व्यापार तथा ससना घरेलु उद्योग शुरु गरेको पाइएको छ । गाउँघरमै रहेर काम गर्नका लागि घरपरिवारको सहयोग र समूहबाट रकमको जोहो गरेर व्यवसाय सञ्चालन गरेको उनीहरुको भनाइ छ । 

विदेशबाट फर्केर व्यवसाय गरेका एक सय ३० जनालाई राप्ती गाउँपालिकाले व्यवस्थापन तथा प्रोत्साहनबापत अनुदान दिएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा राप्ती गाउँपालिका कृषि शाखाले वडा कार्यालयको सिफारिसमा कोभिडबाट प्रभावित भई वैदेशिक रोजगारी गुमाएर गाउँ फर्किएर कृषिसँग सम्बन्धित व्यवसाय गरेका व्यक्तिलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया