पुनर्निर्माण र पुनर्स्थापनामा भएका उपलब्धिबारे छलफल सुरु

 मंसिर १२, २०७७ शुक्रबार १०:६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा भएका उपलब्धिबारे काठमाण्डौमा छलफल सुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तर्क्रिया तथा अभिलेख गर्न वेबमा आधारित सेमिनार (वेबिनार) आयोजना गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकाबारे छलफल गर्न र मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव तथा टिप्पणीहरु प्राप्त गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

वेबिनारको पहिलो दिन आज निजी आवास, सांस्कृतिक सम्पदा र सार्वजनिक भवन तथा पूर्वाधार गरी तीनवटा विषयगत अध्यायमा प्रस्तुतीकरण र छलफल हुँदैछ । भोलि दोस्रो दिन बाँकी तीनवटा विषयगत अध्यायहरुमा छलफल हुनेछ ।

प्राधिकरणले संस्थागत स्मृति स्थापित गर्ने सिलसिलामा पुनर्निर्माणका पाँच वर्षका अनुभव तथा सिकाइहरु समेटेर विभिन्न सात वटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ । यी विषयगत अध्यायहरुलाई वृहत छलफल तथा परामर्शबाट टुङ्ग्याउने उद्देश्यसहित छलफल आयोजना गरिएको प्राधिकरण कार्यकारी समिति सदस्य एवं प्रस्तावित अन्तर्राष्ट्रिय सम्मेलनका संयोजक डाक्टर चन्द्रबहादुर श्रेठले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विषयगत अध्यायहरु तयार गर्न प्राधिकरणका अधिकारीहरु एवं विज्ञहरु संलग्न रहेका कार्यसमूहहरु गठन गरिएको थियो ।

प्राधिकरणले निजी आवास पुनर्निर्माण, सार्वजनिक भवन तथा पूर्वाधार, सांस्कृतिक सम्पदा, जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र सुशासन एवं संस्थागत प्रवन्ध गरी छ वटा विषयगत क्षेत्रमा संस्थागत पत्र तयार गरिरहेको छ । थप एउटा पत्र प्राधिकरणको लगानीबाट आर्थिक, सामाजिक प्रभाव अध्ययन गरिन लागेकाले अध्ययन गर्ने ढाँचाको सम्बन्धमा प्रस्तुतीकरण गरी सुझाव संकलन गरिनेछ  ।

वेबिनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय विज्ञहरु, विज्ञ तथा अभ्यासकर्ताहर, नागरिक समाज तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको डाक्टर श्रेठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया