वैदेशिक राेजगारीमा रहेकालाई स्वदेश फर्काउन ‘गाउँ फर्क प्याराप्यारी अभियान’ शुरु

 मंसिर १९, २०७७ शुक्रबार १०:५८:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

पर्वतको महाशिलामा ‘गाउँ फर्क प्याराप्यारी’ कार्यक्रम शुरु भएको छ । रोजगारीको खोजीमा बर्सेनि गाउँपालिकाबाट पलायन दर बढ्दै जाने र पछिल्लो समय कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती बेरोजगार बनेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो ।

गाउँमै स्वरोजगार सिर्जना गर्ने र त्यही पेशाबाट आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि गाउँ फर्क प्याराप्यारी कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

विदेशमा रहेका युवायुवतीलाई गाउँपालिकामा फर्काई स्वदेशमै केही गरी उत्पादन र आयआर्जनसँग जोडी उद्यमी बनाउन यो कार्यक्रम शुरु गरिएको हो । उहाँले भन्नुभयो, “यो कार्यक्रमअन्तर्गत कुनै उद्यम व्यवसाय गर्न चाहने युवायुवतीलाई ब्याजमा अनुदान दिइनेछ ।” गाउँपालिकाले बनाएको कार्यविधिअनुसार कम्तीमा तीन वर्षभित्र विदेशबाट फर्केर आएका युवायुवती समावेश हुनसक्ने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यसले बढ्दो पलायन र बेरोगार युवायुवती दुवैको दर कम गर्ने र गाउँपालिकामा रहेको गरिबीको दर घट्दै जाने गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । यस्तो कार्यक्रममा सहभागी हुन चाहने युवायुवतीले पछिल्लो तीन वर्षभित्र विदेशमा बसिआएको प्रमाण खुल्ने कागजातको प्रतिलिपि, आफूले गर्न चाहेको व्यवसायको प्रस्तावना, ऋण लिने वित्तीय संस्थाको सहमतिपत्र गाउँपालिकामा पेश गर्नुपर्ने बताइएको छ ।

त्यसैगरी गाई, भैँसी न्यूनतम तीन वा त्याेभन्दा माथि, कुखुरा पाँच सय वा त्याेभन्दा माथि, बङ्गुर ३० वा त्याेभन्दा माथि, फलफूल तथा तरकारी खेती तीन रोपनी क्षेत्रफल वा माथि हुनुपर्ने छ । पालिकाले अधिकतम तीन लाख रुपैयाँको १२ प्रतिशतको दरले अधिकतम दुई वर्षको अवधिका लागि ब्याज रकम अनुदान भुक्तानी दिने भएको छ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन भएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिनुभयो । यस वर्ष ३० देखि ५० युवायुवतीलाई यो कार्यक्रममा समावेश गर्ने गरी आवेदन माग गरिएको समेत उहाँले बताउनुभयो ।

यसैबीच गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै पेशा व्यवसाय गर्न इच्छुक युवायुवतीलाई १५ दिनभित्र आवेदन दिन माग गरेको छ । विशेषगरी कोभिड–१९ को प्रभावका कारण गाउँ फर्केका युवायुवती यो कार्यक्रमबाट लाभान्वित हुने पालिकाको विश्वास छ । विदेश गएका तर गतिलो कमाइ गर्न नसकेकासमेत यो कार्यक्रमपछि गाउँ फर्कने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले यसअघि ‘एक घर एक रोजगार’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत ६ सय भन्दा बढीले रोजगारीसमेत पाइसकेका छन् । स्वयंसेवकको रूपमा रहेका उनीहरुले गाउँपालिकाभित्र सडक, साना सिँचाइ, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा काम गर्दै आएका छन् । उक्त कार्यक्रमले पनि रोजगारविहीन विपन्न नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण बनेको गाउँपालिकाका अध्यक्ष पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया