सम्पदाको संरक्षणमा दत्तचित्त भएर लागेका छौँ : मेयर शाक्य

 मंसिर २०, २०७७ शनिबार १५:३३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ । 

उहाँले सम्पदा संरक्षणलाई महानगरपालिकाले  प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको पनि बताउनु भयो । आज वडा २५ श्रीघः, नघलमा रहेको धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

‘क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक सम्पदाको निर्माण–पुर्ननिर्माणको अभियानलाई महानगरपालिकाले प्राथमिकतामा राखेर अघि बढाएको छ,’ उहाँले भन्नुभयो, ‘गुठी परम्परालाई जीवन्त बनाइराख्न पनि काठमाडौँ महानगरपालिकाले आवश्यक लगानी गर्दै आएको छ ।’ 

उहाँले सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम आग्रह समेत गर्नुभयो । ‘तपाईँहरु सम्पदा निर्माण–पुर्ननिर्माणको योजना लिएर आउनुहोस् बजेट अभाव हुन दिन्न,’ उहाँले भन्नुभयो, ‘सम्पदा निर्माण एक जनाको मात्र पहलमा सम्भव हुँदैन । सबैको सहयोग आवश्यक रहने भएकाले महानगरपालिका भित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक छ ।’ 

शाक्यले कार्यक्रममा सम्वोधन गर्दै कामपाले विभिन्न थेरवादी तथा वज्रयानी विहारहरू निर्माण गर्न आवश्यक सहयोग पुर्याउँदै आएको स्मरण समेत गराउनुभयो । काठमाडौं नगर भित्र अवस्थित बुद्ध विहारको मुल भवन, लुम्बिनीको वज्रयान महाविहार, जनबहाल ९सेतो मत्स्येन्द्रनाथ०को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूमा रहेकाे आनन्दकुटी विहार, किम्डोलस्थित आनन्दभुवन विहार, वानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माण गर्न सहयोग गरिरहेको जानकारी समेत दिनुभयो ।

‘मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर हो । काठमाडौँ महानगरलाई मुर्त–अमुर्त सम्पदाले सुन्दर बनाएको छ,’ शाक्यले भन्नुभयो, ‘सहरभित्रका सम्पदालाई काठमाडौंबाहिरका सम्पदासँग जोडेर पर्यटन क्षेत्रको विकास गर्ने र यसबाट स्थानीयको आयमा समेत वृद्धि गर्ने योजना अनुसार केही दिन अघि मात्रै हामीले लुम्बिनी प्रदेशको रामग्राम नगरसँग भगिनी सम्बन्ध स्थापना गरेका छौं । यसै गरी भगवान वुद्धको मावली घर भएको पण्डितपुरमा कोलिय शान्ति पार्क निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेका छौं ।’

सम्पदा क्षेत्रको व्यवस्थापनमा गरिएको त्यो लगानीले पर्यटन उद्योगमार्फत राष्ट्रिय समृद्धिमा टेवा पुग्ने अपेक्षा लिएको पनि बताउनुभयो ।  ‘स्थानीयलाई राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा पहिचान गराउन हामीले लुम्बिनीमा नेपाली बिहार निर्माण गर्न ४ करोड २० लाख सहयोग गरेका छौं,’ उहाँले भन्नुभयो, ‘कामठाडौँ महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्न नगर–नगर साझेदारी कार्यक्रम अन्र्तरगत काठमाडौंका सबै नगरसहित मध्यपुर थिमीमा शंखधर पार्क निर्माणका लागि पनि सहयोग गरेको छ ।’ 

विहारको विस्तारित भवनको लागत ४ करोड २८ लाख रुपैयाँ हो । त्यसमध्ये पहिलो चरणमा करीब १ करोड लागतका काम हुनेछ । विस्तारित भवन निर्माण उपभोक्ता समितिका संयोजक अभयरत्न कंसाकारले भन्नुभयो, ‘पहिलो चरणमा लाग्ने कुल ९९ लाख ९९ हजार १६५ रुपैयाँको १५ प्रतिशत अर्थात् १४ लाख ९९ हजार ८७४ रुपैयाँ उपभोक्ता समितिले व्यहोर्नेछ । बाँकी ८५ प्रतिशत अर्थात् ८४ लाख ९९ हजार २९० रुपैयाँ महानगरको सहयोग हुनेछ ।’ 
 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया