१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ - सत्तारुढ नेकपाभित्रको विवाद झनै पेचिलो बनेको छ ।
दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद स्थायी कमिटी बैठकमा प्रवेश गर्दैछ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको असहमतिबीच आइतबार पार्टी कार्यालय धुम्बराहीमा स्थायी कमिटी बैठक बोलाइएको छ ।
स्थायी कमिटी बैठकमा ओली उपस्थित हुने/नहुने अनिश्चित छ । शनिबारको बैठकमा ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो । तर सचिवालय बैठकमा सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले दुवै प्रस्ताव स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्नुपर्ने अडान लिएका थिए। शनिबारको सचिवालय बैठकले दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने सचिवालय बैठकले निर्णय गरेको छ ।
सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएर विवाद समाधान गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । तर यसमा नेता गौतमसहित प्रचण्ड- नेपाल समूहले अस्वीकार गरेको थियो ।
पार्टीको विवाद आइतबार बस्ने स्थायी कमिटी र बिहीबार सुरु हुने केन्द्रिय कमिटीबाट किनारा लगाउने प्रचण्ड-नेपाल समूहको तयारी छ । ओली अब बैठकबाट होइन, सहमतिबाट मात्र समस्या समाधान गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।
उहाँले शनिबारको बैठकमा पनि स्थायी कमिटी बैठक तत्काल नबोलाउन आग्रह गर्नुभएको थियो । तर सचिवालयका बहुमत सदस्यले स्थायी कमिटी बैठक बोलाउने अडान लिएपछि आइतबार स्थायी कमिटी बैठक बस्ने निर्णय भएको हो ।
शनिबार सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष ओली र प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका थिए । उनीहरूबीच तीन हप्तादेखि छलफल हुन सकेको थिएन । तर लामो संवादहीनता तोड्दै दुई अध्यक्षबीच एक्लाएक्लै छलफल भएपछि विवाद केही मत्थर हुने विश्वास गरिएको थियो । तर शनिबारको सचिवालय बैठकमा कुनै सहमति भएन ।
शनिबारको सचिवालय बैठकमा ओलीले सहमतिअनुसार अघि बढ्नुपर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्ष पद नछोड्ने बताउनुभएको छ ।
महाधिवेशन नहुँदासम्म हरेक निर्णय सहमतिमै गर्नुपर्ने नियम विपरीत पार्टी एकताको स्प्रिट तोड्न लागेको भन्दै उहाँले आफूलाई महाधिवेशनअघि अध्यक्षबाट र चुनावअघि प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने चेतावनी पनि दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।