शीतलहर र हिमपातको असर कम गर्न सरकारको पूर्वतयारी

 पुष १, २०७७ बुधबार ८:२१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्रालयले शीतलहर र हिमपातबाट नागरिकलाई जोगाउन पूर्व तयारी सुरु भएको जनाएको छ । मन्त्रालयकाअनुसार सबै जिल्लामा चरणबद्ध रुपमा राहत वितरण र पुनःस्थापनका कार्यक्रम तय गरी पूर्व तयारीका कार्यक्रम सुरु भएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सूचना सङ्कलनदेखि विपद् हुन नदिन र भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिएको जानकारी दिनुभयो । राहत, आश्रयस्थलको व्यवस्थापकीय कार्यसमेत तत्काल प्रबन्ध गर्ने गरी कार्यक्रम अघि बढेको पोखरेलले बताउनुभयो ।

‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ मन्त्रालयले लागू गरेको छ । त्यसैअनुसार स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अवस्था अध्ययन गरी विवरण सङकलन गर्ने, साधनस्रोतको कमी रहे/नरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्नुपर्ने छ ।

तल्लो तहबाट आएको प्रतिवेदनका आधारमा सङ्घीय सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने भएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा देशमा शीतलहरका कारण ११६ जनाले ज्यान गुमाएका छन् भने चार सयको उद्धार भएको प्राधिकरणले जनाएको छ ।

शीतलहरबाट सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तुलगायत ११ जिल्लाका नागरिक बढी प्रभावित हुने गरेका छन् । शीतलहरबाट कम प्रभावित जिल्लामा झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी ११ वटा जिल्ला रहेको छ ।

हिमपातबाट ताप्लेजुङ्, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुमपूर्व, म्याग्दी गरी २१ जिल्ला बढी प्रभावित हुने गरेका छन् ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया