आईएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्...
फागुन २२, २०८१ बिहिबार
काठमाण्डौ – एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफूलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले नयाँ सेवा ‘एनसेल जबशप’ सुरु गरेको छ । यो सेवाले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्दछ ।
एनसेलले आफ्नो अहिले सञ्चालनमा रहेको अभियान ‘अनपज’ (#unpause) अन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यो अभियानले अहिलेको विषम परिस्थितिमा भविष्यको पुनर्विचार गर्दैै अघि बढ्न अभिप्रेरित गर्ने उद्देश्य लिएको छ ।
एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘कोभिड–१९ महामारीले गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । भर्चुअल रूपमा सम्पर्कमा रहन सकिने विकासले गर्दा अहिलेको अवस्थामा पनि अनलाइन नेटवर्कमार्फत एक अर्कासँग सम्पर्क स्थापित गर्न सकिने भएको छ । कार्यस्थलभन्दा टाढै बसेर पनि काम गर्ने र रोजगारीका अवसरहरू खोज्ने प्रवृत्ति बढिरहेको बेलामा कामको खोजिमा रहेका व्यक्तिलाई सिधै रोजगारदातासँग जोड्ने यो नवीन सेवा ल्याउन पाएकोमा हामी हर्षित छौँ । अर्थतन्त्रमा बिस्तारै सुधार हुन थालेको बेलामा यो एनसेल जबशपले विषम परिस्थितका बेला काम गुमाएकालाई विभिन्न रोजगारीका अवसरसँग जोड्दछ ।’
अहिलेको सुरुवाती अवस्थामा शारीरिक रूपमा काम गर्ने श्रमिक/कामदार र यस्ता जनशक्ति चाहनेले यो सेवा आफ्नै मोबाइलबाट लिन सक्नेछन् ।
कामको खोजीमा रहेका व्यक्ति र काम दिने व्यक्तिको आवश्यकताबीच प्रत्येक पटक मेल खाएपछि दुवै पक्षलाई एसएमएसमार्फत सन्देश प्राप्त हुन्छ । एनसेलको सेवा प्रयोग गर्ने र कामको खोजीमा रहेका जो कोही श्रमिक वा कामदारले रोजगारी खोजिरहेको व्यक्तिका रूपमा यो सेवा सुरु गर्न सक्छन् । सर्वप्रथम आफूले खोजिरहेको काम र आफ्नो दक्षताअनुसार प्रोफाइल बनाएर यो सेवा सुरु गनुपर्ने हुन्छ । कामदार खोजिरहेका व्यक्तिले पनि आफ्नो आवश्यकतालाई प्रोफाइल बनाउनुपर्ने हुन्छ । जब–जब काम खोज्ने र कामदार खोज्नेको आवश्यकतासम्बन्धी पोस्ट मेल खान्छ तब एसएमएसमार्फत दैनिक रूपमा दुवै पक्षलाई यससम्बन्धी जानकारी जान्छ ।
यो सेवा लिन इच्छुक ग्राहकले *१७१३७# डायल गरी वा एनसेल जबशप डट कम वेबसाइटमा गइ दिइएको निर्देशनअनुसार कामदार वा काम दिने व्यक्तिले आफ्नो आवश्यकताअनुसार यो सेवा सुरु गर्न सक्नेछन् । काम दिने व्यक्ति वा रोजगारदाताको लागि एउटा आवश्यकता पोस्ट गर्न करसहित रु ६.३८ लाग्छ र एक पटक पोस्ट गरेको कामको विवरण एक हप्तासम्म रहनेछ ।
त्यसैगरी कामको खोजीमा रहेका ग्राहकले तीन दिन, सात दिन, एक महिना, ६ महिना वा वार्षिक गरी विभिन्न समयसीमामा रहेर यो सेवा सुरु गर्न सक्नेछन् । कामको खोजीमा रहेका व्यक्तिले करसहित रु ३.८३ मा तीन दिनको प्याक खरिद गर्न सक्नेछन् र त्यसैअनुसार प्याकको समयसीमाभित्र त्यस कामदारको प्रोफाइल सक्रिय रहनेछ ।
ग्राहकले करसहित रु ८.९४ मा सात दिनको र करसहित रु ३८.३१ मा ३० दिनको समयसीमा रहेको प्याक सुरु गर्न सकिने एनसेलले जनाएको छ । अलि धेरै समयको लागि आफ्नो प्रोफाइल सक्रिय राख्न चाहने ग्राहकले ६ महिना र १२ महिना समयसीमा रहेको प्याक करसहित मात्र रु १५३.२२ र २२९.८४ मा सुरु गर्न सक्नेछन् ।
यही 'अनपज' अभियानअन्तर्गत एनसेलले योभन्दा अगाडि महिला वर्गलाई लक्षित गर्दै आकर्षक गो सिम योजना ल्याएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।