कांग्रेसलगायत दलहरुले संस्थागत धारणा तय गर्दै, आजको बैठकले थप स्पष्ट गर्ने तयारी

 पुष ७, २०७७ मंगलबार ९:४६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएलगत्तै नेपालको राजनीतिक वृत्तमा तरंग पैदा भएको छ ।

संसद विघटनसँगै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले तिव्र विरोध भैरहेको छ । यो कदमलाई सत्तारुढ दल नेकपा र अरु दलका नेताहरुले असंवैधानिक भनिरहेका छन् । संसद विघटनको विरोधमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरुले यसबारे संस्थागत धारणा तय गर्न बैठक आह्वान गरेका छन् । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमा संसद विघटनको घोषणापछि कांग्रेसको उपस्थितिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमबारे कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेका छन् । 

पछिल्लो राजनीतिक घटनाक्रमबारे हिजो सर्वदलीय बैठक बोलाएर छलफल गरेको थियो । सर्वदलीय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति शेरबहादुर देउवालाई मिलेर अगाडि बढ्न प्रस्ताव राख्नु भएको थियो । देउवाले आजको बैठकपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भएको छ । 

यस्तै आज जनता समाजवादी पार्टीले पनि आज छलफल गर्दै छ । आजको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र बैठकले विरोधका थप कार्यक्रम तय गर्ने जसपाले जनाएको छ । संसद विघटनको कदमविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको जसपाले तप कार्यक्रम तय गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज  पनि बस्दै छ । बिहान ११ बजे बानेश्वरमा बस्ने बैठकमा पार्टीका अध्यक्ष कमल थापा, डाक्टर प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा हिजोको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि आज छलफल हुने राप्रपाले जनाएको छ । 

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भएको निष्कर्षसहित राप्रपाले सर्वत्र आलोचनासहितको सरकारको निरन्तरताभन्दा ताजा जनादेशमा जाने कदम चाँही स्वागतयोग्य रहेको जनाएको स्पष्ट पारिसकेको छ । यसैबारे आजको बैठकले थप निर्णय गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया