‘प्रचण्ड–नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेका छन्’

 पुष ७, २०७७ मंगलबार १४:४६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले सरकारलाई असफल बनाउन प्रयास गरिरहेको बताउनुभएकाे छ । 

मङ्गलबार बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको भेला गर्दै प्रधानमन्त्री ओलीले महाअभियोग लगाउने तथा अविश्वास प्रस्ताव राख्ने गतिविधि गरिरहेकोले पार्टीले गति लिन नसकेको बताउनुभएकाे हाे । उहाँले भन्नुभयो, ‘अब त उहाँहरू महाअभियोग लगाउने, अविश्वास प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष निकाल्ने, अरू नेताहरु निकाल्ने यो बाटोतिर पो खेती गरिराख्नु भएको छ । एकीकरणको बाटोबाट पार्टी अगाडि बढाउने होइन बरु उहाँहरू भत्काउने, कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने, कुदेर राष्ट्रपतिकहाँ पुग्ने, कुदेर सभामुखकहाँ पुग्ने, कुदेर कहाँ पुग्ने यही प्रकारको खेती गर्नुभएको छ ।’ 

कार्यक्रममा ओलीले ११ महिनाभित्र महाधिवेशन गरिसक्ने बताउनुभएकाे छ । साथै उहाँले अब चुनावकाे तयारीमा जुट्ने बताउनुभयाे । ‘अर्को चुनावपछि अरू कामहरू बढी व्यवस्थित गर्ने मातहतका कमिटीहरूलाई पुनर्गठन गर्ने, यावत् कामहरू गर्नुपर्ने अवस्था छ । यी सबै काम गरेर हामी चुनावका लागि तयारी गर्छाैँ । चुनावमा हामीले कम्तीमा ५० लाख लाेकप्रिय भोट ल्याउनुपर्नेछ ।’ 

केन्द्रीय कमिटी सदस्यहरूको भेलामा ओलीले एक हजार एक सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गर्नुभएको छ । नेकपाको अहिले कायम रहेको चार सय ४७ केन्द्रीय समिति सदस्यमा पाँच सय ४७ सदस्य थप गर्नुभएको छ भने बाँकी एक सय ९६ सदस्यपछि थपिने व्यवस्थासमेत बैठकले गरेको छ ।  

ओली पक्षले २०७८ मङ्सिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको छ ।

मनोनीत महाधिवेशन आयोजक समिति सदस्यहरूलाई अध्यक्ष ओलीले मङ्गलबार नै सपथ ग्रहणसमेत गराउनुभएको छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया