प्रधानमन्त्रीविरुद्ध सर्वाेच्चमा अवहेलना मुद्दा दर्ता

 माघ १३, २०७७ मंगलबार १८:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मङ्गलबार अवहेलना मुद्दा दर्ता भएको छ । अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको र कानुन व्यवसायीहरूको मानमर्दन गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दुई जना अधिवक्ताले निवेदन दिएका थिए ।

अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले पेस गरेको निवेदन मङ्गलबार दर्ता भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । निवेदनमा प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ता भेलामा कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानुन व्यवसायीमाथि व्यङ्ग्य गरेपछि प्रधानमन्त्रीको अहिले चौतर्फी आलोचना भइरहेको छ । अदालतको अवहेलनाको आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।   

यसैबीच पूर्वसभामुख दमननाथ ढुङ्गानाविरुद्ध पनि अवहेलनको मुद्दा दर्ता भएको छ । पूर्वसभामुख ढुङ्गानाले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा अदालतले सदर गरिदिए अदालतबाटै न्यायाधीशहरूलाई थुत्न सक्ने अवस्था आउने अभिव्यक्ति दिनुभएको थियो । यही अभिव्यक्तिका आधारमा ढुङ्गानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो ।

मङ्गलबार नै पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध आएको निवेदन भने दर्ता भएन । प्रक्रिया पूरा नभइ निवेदन आएकाले दर्ता नगरिएको र बुधबार यो विषयमा टुङ्गो लाग्ने सञ्चार विज्ञ पौडेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया