अमेरिकी अर्बपति मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः ...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्ने तयारी गर्नुभएको छ ।
नियुक्तिको सिफारिसलाई सदर गर्नका लागि अहिले राष्ट्रपति कार्यलय शितल निवासमा तयारी भैरहेको कार्यलयका प्रवक्ता जगन्नाथ पन्तले उज्यालोलाई जानकारी दिनुभयो । केहीबेरमा नियुक्तिको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्नुहुने र नियुक्ती लगत्तै बिहान ११ बजेभित्रमा सबैजनालाई शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पन्तको भनाइ छ ।
संवैधानिक परिषद् बैठकले गरेको सिफारिसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुई जना सदस्यको नाम सिफारिस छ । प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राई र आयुक्तहरूमा पूर्वएआईजी जयबहादुर चन्द र उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश किशोर सिलवालको नाम सिफारिस भएको थियो । त्यस्तै मानवअधिकार आयोगमा सर्वोच्चका पूर्वन्यायाधीश तपबहादुर मगर र महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुलीको नाम नियुक्तिका लागि सिफारिस भएको छ ।
संवैधानिक परिषदले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी भएको भन्दै शपथ रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदना पेस गर्नुभएको छ । संवैधानिक परिषद्ले नियुक्ति सम्बन्धमा गर्ने सिफारिस संसदीय सुनुवाइ समितिमा पेस हुनुपर्ने बाध्यात्मक व्यवस्था संविधानको धारा २९२ ले गरेको छ ।
यसअघि सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाउनुभएको थियो । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको लागि परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिनुभएको हो ।
सरकारले गएको पुस ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्ति गरेको थियो । बैठकमा परिषद् सदस्यसमेत रहनुभएका विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा उपस्थित हुनुभएको थिएन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।