अमेरिकी अर्बपति मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः ...
माघ ४, २०८१ शुक्रबार
म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि एक खालको अन्योलको वातावरण सिर्जना भएको छ । यहाँ रहेका झण्डै डेढ लाख नेपाली भाषी पनि अब के होला भन्ने अन्योल र त्रासमा छन् ।
सैन्य ‘कू’ पछि संकटकाल लागेकाले अवस्था कस्तो होला भन्ने आम मानिसमा डर बढेको छ । इन्टरनेट सेवा पनि बन्द गरिदिएकाले सञ्चारमाध्यम र खबर पढ्न र हेर्नबाटै बञ्चित हुने हो कि भन्ने आशंका पनि बढेको छ ।
सैन्य ‘कू’ लगत्तै म्यान्मारमा मोबाइल फोन केही समयसम्मका लागि बन्द भएको थियो । अहिले म्यानमारमा रातको समयमा कर्फ्यू लागिरहेको छ ।
म्यानमारमा अहिले झण्डै डेढ लाखको संख्यामा नेपाली भाषी छन् । अखिल म्यानमार देशीय हिन्दु महासंघका अध्यक्ष सागर घिमिरेका अनुसार, नेपाली भाषीहरु राजनीतिक रुपमा सक्रिय छैनन् । उनीहरु विगतदेखि नै सेनाको कठोर शासन भएको देशमा बसेकाले पनि आफूहरुलाई असजिलो पर्छ कि भनेर सचेत छन् ।
आफ्ना पेशा, व्यवसाय र दैनिक जीवन कसरी सहज बनाउन सकिन्छ भन्ने चिन्ता उनीहरुको प्रमुख चासोको विषय हो । राजनीतिक रुपमा नेपाली भाषीहरु निरपेक्ष छन् । सैन्यू ‘कू’ पछि अहिलेसम्म नेपाली भाषीहरु कतै अप्ठ्यारो अवस्था परेकाबारै कुनै पनि जानकारी नआएको घिमिरेले बताउनु भएको छ ।
केहीले भने सामाजिक सञ्जालमार्फत् गीत, कविता, स्टाटसमार्फत सैन्य ‘कू’ को विरोध गरिरहेका छन् । अहिलेसम्मको अवस्थाले म्यानमारका नागरिक र नेपाल भाषीको अवस्थामा केही पनि फरक पारेको छैन । बुधवार जनजीवन बिस्तारै सामान्य जस्तै देखिएको छ । सडकमा गाडीको संख्या पनि बाक्लो छ । पसलहरु पनि हिजोभन्दा लामो समयसम्म खुलेका छन् । सडक र बजारमा सेनाको उपस्थिति पनि पहिलो दिनको तुलनामा निकै कमी भएको छ । जनजीवन समान्यजस्तै बन्न थालेकाले पनि होला सार्वजनिक ठाउँमा मानिसको ओहोरदोहोर बढेको छ । तर, सडक र बजारमा सेनाको उपस्थिति घटे पनि हिरासतमा रहेका प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेता र अधिकारकर्मीहरुका घर वरिपरि भने सेनाको उपस्थिति अझै पनि बाक्लो छ ।
देशमा रक्तपात निम्तन सक्छ भन्ने डरमा कसैले पनि विरोधका कार्यक्रम र जुलुस निकाल्न सकेका छैनन् । तर, सेनाको समर्थनमा भने ठाउँ ठाउँमा उत्सव प्रदर्शन जस्तो भईरहेको छ । सैन्य ‘कू’ को विरोधमा डाक्टरले सामूहिक राजीनामा दिने, कर नतिर्ने लगायतका काम भने सुरु भएका छन् । सडक प्रदर्शनमा जाँदा रक्तपातको स्थिति आउन सक्ने भएकाले पनि नागरिकले शान्तिपूर्ण तरिकाले विरोधको फरक शैली रोजेका छन् ।
भोलि के होला भन्ने अन्यौलकै कारण नागरिक दिनमा पनि कर्फ्यू लाग्ने हो कि भन्ने त्रासमा छन् । यसै कारण पैसा झिक्न एटीएम मेसिनमा लामो लाइनमा लाग्ने गरेको छ । यस्तै, बैंक तथा खाद्यान्न सामग्री किन्न पसलमा पनि ग्राहकको लामो लाइन देखिन्छ । तर, पहिलो दिनको तुलनामा अहिले वातावरण बिस्तारै सहज र सामान्य बन्दै गएको छ ।
म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वभर आलोचना भए पनि तत्काललाई यसले यहाँ असर गर्ने देखिंदैन । थोरै जनसंंख्या, उर्बरभूमि लगायतका कारणले म्यानमार आत्मनिर्भर रहेकाले अन्तर्राष्ट्रिय दबाब र प्रभाव पर्ने सम्भावना तत्काललाई छैन ।
चीनको वैदेशिक नीति तटस्थ खालको भएको र उसले म्यानमारलाई सहयोग गरे अरु देशले लगाएको प्रतिबन्धले खासै फरक पर्दैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।