एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु

 फागुन २३, २०७७ आइतबार १०:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा बहुप्रतिक्षित टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सुरु गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममाझ फागुन १३ गते धुलिखेल अस्पतालअन्तर्गत संचालनमा रहेका ४ वटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण  गर्नुभएकाे हाे । चोङ् र धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले धुलिखेल अस्पतालमा स्थापित एनसेल–धुलिखेल अस्पताल टेलिमेडिसिन र स्वास्थ्य सेवा सूचना केन्द्रको पनि उद्घाटन गर्नुभएकाे हाे । 

प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाएर ग्रामिण, दूरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने यस कार्यक्रमको उदेश्य रहेकाे एनसेलले जनाएकाे छ । एनसेलले धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिरहेको स्वास्थ्य केन्द्रहरुलाई टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी हस्तान्तरण गर्ने भएकाे छ ।

धुलिखेल अस्पतालका तर्फबाट चिकित्सक र परामर्शदातालगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान हुने एनसेलले जनाएकाे छ । अस्पतालले कार्यक्रमलाई सफलता पूर्वक संचालन गर्न आवधिक ट्रेनिङ्गहरु र अनुगमनलगायतका कामहरु पनि गर्ने भएकाे छ ।

पहिलो चरणमा सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका सामुदायिक स्वास्थ्य केन्द्रहरुमार्फत कार्यक्रम संचालन हुनेछ । यी केन्द्रहरुले कुल १५ हजारभन्दा बढी घरधुरीका जन समुदायहरुलाई सेवा प्रवाह गर्नेछन् ।

कार्यक्रम संचालनमा आएपछि स्थानीयहरुले दीर्घरोग, नसर्ने रोग, सरुवा रोगलगायतका रोगहरुको उपचार सेवा पाउने एनसेलले जनाएकाे छ । अबको चार वर्षमा यो कार्यक्रम २० वा त्यसभन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने एनसेलको योजना रहेको छ । 

यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रीत भएर सञ्चालन हुनेछ । टेलिमेडिसिन अन्तर्गत कार्यक्रमले धुलिखेल अस्पतालद्वारा संचालित आठ सामुदायिक स्वास्थ्य केन्द्रहरुबाट आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग तथा अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क गराएर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने एनसेलले जनाएकाे छ ।    

पीएचपी अन्तर्गत यो कार्यक्रम संचालन भएका क्षेत्रका स्थानीयहरुले पर्सनलाइज्ड स्वास्थ्य सेवा पाउनेछन् जसका लागि सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच गर्नेछ र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्नेछन् ।

पीएचपीलाई कार्यक्रम संचालन गरिने समुदायहरुभन्दा बाहिरसमेत लाने उद्देश्यकासाथ जन समुदायका मानिसहरुको स्वास्थ्यमा सुधारका लागि तथ्याङ्कमा आधारित व्यवहार परिवर्तनको विकास गर्नु यसको लक्ष्य हो । 

एनसेलले २०७६ साल साउनमा धुलिखेल अस्पतालसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनको लागि सम्झौता गरेको थियो । यस कार्यक्रम अन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाएर ग्रामिण, दूरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य रहेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया