भुवन र माइकल भन्छन्, हामी अमेरिका किन जाने ?

 भदौ ५, २०७५ मंगलबार १०:२७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उमेरले ७ दशक पार गरिसकेर पनि अभिनय क्षेत्रमा उत्तिकै सकृय नाम हो भुवन चन्द । जसलाई नेपाली चलचित्र हेर्नेहरुले नेपालकी पहिलो नायिकाका रुपमा चिन्छन् ।

उनी १० वर्षको उमेरदेखि नै अभिनयमा सकृय छिन् । उनले ‘अन्धवेग’ नामक नाटकबाट बाल कलाकारका रुपमा अभिनय यात्राको सुरुवात गरेकी थिइन् । ‘अन्धवेग’को सफलतापछि उनले अर्को नाटक ‘जाली रुमाल’मा आफ्नो अभिनय कौशल प्रस्तुत गरिन् । नाटक ‘के सक्कली, के नक्कली’मा उनलाई दर्शकहरुले निकै रुचाएका थिए ।

मुकुन्द इन्दिरा, मानसीलगायतका दर्जनाैं नाटकहरुमा उनले आफ्नो अभिनयको जादु प्रस्तुत गरेकी छिन् ।

नाटकमा सफलता हात पार्दै गएपछि चलचित्र क्षेत्रतिर

उनले अभिनय गरेको पहिलो चलचित्र ‘आमा’ क्षेत्रबाट उनले निकै ठूलो फड्को मारिन् । हो, जुन नेपालको पनि पहिलो चलचित्र हो । पहिलो चलचित्रमै उनलाई दर्शकको राम्रो साथ मिल्यो । त्यसपछि उनले ‘हिजो आज भोलि’ नामक चलचित्रमा अभिनय गरिन् । 

उनको अभिनयलाई दर्शकले रुचाएपछि उनलाई एकपछि अर्को चलचित्रको लहर नै लाग्न थाल्यो । त्यसपछि भुवनले दुई थोपा आँशु, कोसेली, प्रतिज्ञा लगायतका चलचित्रहरुमा काम गरिन् ।

अब्बल अभिनयका कारण उनलाई दिनप्रतिदिन दर्शकको माया बढ्न थाल्यो ।  यही मायाका कारण उनले पे्रम प्रतिज्ञा, जीवन, देउराली, नाम के हो, दुलही रानीलगायतका चलचित्रहरुमा काम गर्ने अवसर पाइन् ।

उनी चलचित्रसँगै टेलिचलचित्रहरुमा समेत रुचाइएकी अभिनेत्री हुन् ।  राजमार्ग, जीवन चक्र, दूध पोखरी, हिजो आजका कुरा जस्ता टेलिचलचित्रमा उनले अभिनय गरेकी छिन् ।

उमेरले ७ दशक कटाए पनि अझै उनको सुन्दरतामा कुनै कमी देखिँदैन । उनको हँसिलो मुहारले अझै पनि नायिका कै झल्को दिने गर्छ ।
भुवन काठमाडाैंका स्थायी बासिन्दा भैरवबहादुर थापाकी छोरी हुन् । 

उनका हजुरबुबा काठमाडाैंका जमिनदार थिए । भुवनले विवाह भने बैतडी जिल्लामा जन्मिएका माइकल चन्दसँग विक्रम सम्बत २०३३ सालमा गरिन् ।
त्यतिबेला माइकल रेडियो नेपालमा अंग्रेजी भाषाको समाचार वाचकका रुपमा कार्यरत थिए । माइकल र भुवन दुवै नाचघरमा जागीरे रहँदा एकअर्कालाई चिन्ने अवसर जुरेको थियो ।

भुवन माइकलको स्वरको प्रशंसक थिइन् भने माइकल भुवनको रुप र उनको हिँड्ने शैलीमा मोहित भएका थिए । एक अर्काका प्रशंसक हुँदै उनीहरुको सम्बन्ध जीवन साथीका रुपमा रुपान्तरण भएको थियो ।

माइकल स्मरण गर्छन्, ‘त्यो समय अहिलेको जस्तो थिएन, ‘हामी एक अर्कालाई चाहन्छांै’ भन्ने दुवैलाई थाहा भैसकेको थियो । तर पनि बाटोमा सँगै हिँड्दा, समाजको डरले झण्डै दुई मिटर टाढा रहेर हिँड्ने गर्थ्यौं । अहिलेका जोडीहरु एक अर्काको हात समाएर हिँडेको देख्दा मलाई पनि त्यही समयको झल्को आउँछ ।’

रोचक प्रसंग त के छ भने, विवाह भएको ३ दिनपछि भुवन आफ्नो चलचित्रको कामका निम्ति रुस गएकी थिइन् । त्यसको भोलिपल्ट अर्थात् विवाह भएको चौथो दिन माइकल रेडियो नेपालले पठाएको कामका निम्ति ३ वर्षका लागि जर्मनी गएका थिए ।

भर्खरै विवाह बन्धनमा बााधिएका दम्पती ३ दिनमा आ–आफ्नै कार्य व्यस्तताका कारण अलग भएका थिए । ३ महिनापछि भुवन जर्मनी गइन् र श्रीमान माइकलका साथमै रहन थालिन् । उनीहरुकी जेठी छोरीको जन्म जर्मनीमै भएको थियो । माइकल चन्द आफैंमा एक कुशल सञ्चारकर्मी हुन् । उनले कला, संगीत, साहित्य, चलचित्रलगायतका सबै किसिमका ज्ञान हासिल गरेका थिए । 

माइकलले झण्डै ३३ वर्ष रेडियो नेपालको अंग्रेजी समाचार बाचक हुँदै सम्पादकका रुपमा कार्य सम्पादन गरेका थिए । उनले गोएथे (गटे) नामक संस्थामा झण्डै ३२ वर्ष जर्मनी भाषा अध्यापन गराएका थिए ।

यही क्षेत्रमा भएका कारण पनि माइकलले भुवनको काममा शत प्रतिशत साथ दिए । माइकलले दिएको साथ र सहयोगकै कारण भुवनले आफ्नो अभिनय यात्रालाई निरन्तरता दिइन् । भुवन सिनेमाको कामका निम्ति प्राय घर बाहिर जानुपर्थ्यो । काखमा रहेकी छोरीको स्याहार सुसारमा आफैं लागेर भए पनि उनलाई अभिनयका लागि पठाउने गर्थे माइकल चन्दले ।

उनकै साथ र सहयोगका कारण भुवन अहिलेसम्म पनि अभिनय क्षेत्रमा उत्तिकै सकृय भएर लागिपरेकी छिन् । भुवन र माइकलका ३ छोरीहरु छन् । भुवन आफू अभिनय क्षेत्रमा सकृय भएपनि छोरीहरुलाई भने पढाउन चाहन्थिन् । फलस्वरुप तीनै जना छोरीहरुलाई आफ्नी आमाको कार्य क्षेत्रले आकर्षित गर्न सकेन । 
उनीहरुले आफ्नी आमाले अभिनय गरेको चलचित्रसमेत हरेका छैनन् ।

तीनैजना छोरीहरु बाबाको पेशाप्रति भने आकर्षित थिए । सञ्चार क्षेत्रमा झुकाव भएकै कारण ठूली छारीले रेडियो नेपालमा ४ वर्षसम्म अंगे्रजी भाषामा समाचार बाचन गरेकी थिइन् । अहिले उनीहरुका तीनैजना छोरीहरु अमेरिकामा छन् ।

कान्छी छोरीको विवाह भइसकेको छ तर जेठी र माइली भने अविवाहित नै छन् । भुवन र माइकलको विवाह भएको करिब ४ दशक नाघिसकेको छ । भुवनको अनुभव भन्छ, ‘उहाँ (माइकल) सँग बिताएको ४ दशक कहिले पनि पट्यार लाग्दो भएन । सधैं माया साटासाट भयो । मेरा प्रत्येक कदमहरुमा उहाँले साथ दिनुभएको छ ।’

माइकल चन्दलाइ श्रीमानका रुपमा पाएकोमा भुवन आफूलाई भाग्यमानी महसुस गर्छिन् । त्यसो त, माइकल पनि नेपालकै पहिलो नायिकालाई आफ्नी पत्नीका रुपमा पाउँदा अत्यन्त हर्षित छन् । अहिले पनि माइकल भुवनको सोझोपनको प्रशंसा गर्ने गर्छन ।

माइकल चन्द खाना बनाउने कार्यमा समेत निकै जाँगर चलाउने गर्छन् । कार्यालय बिदाका समयमा  घरमै विभिन्न परिकार बनाएर खाने गर्छन् । उनी भन्छन, ‘बाहिरी खानाभन्दा आफैले घरमा बनाएर खाएको खाना स्वादिष्ट लाग्छ ।’

धेरै कलाकर्मीहरु आफूलाई कलाकारिता क्षेत्रमा स्थापित गराउँछन् र अवसर पाउनासाथ कलाकारिता क्षेत्रसँगै नेपाललाई नै माया मारेर विदेश पलायन हुने गर्छन् । तर भुवन र माइकलको जोडी भने आफ्नै देशमा बसेर जीवन निर्वाह गर्न चाहन्छ । आफ्नै देशमा बस्नका निम्ति माइकलले जर्मनीको स्थायी जागिर त्याग गरेर नेपाल आएका हुन् । 

उनीहरु छोरीहरुसँग भेटघाटका निम्ति अमेरिका जाने आउने गरिरहन्छन् तर स्थायी बसोबासकै लागि भने आफूहरु नेपाल छाडेर जाने पक्षमा नरहेको बताउँछन् । माइकल भन्छन्, ‘हामीलाई नेपालले गाँस, बास, कपास ,सुखसयल सबै दिएको छ, अब के का निम्ति देश छाडेर बहिर जाने ?’

नेपाली कलाकारिता क्षेत्रको विकासका निम्ति भुवन र माइकल जस्तो सोच राख्ने पात्रको खाँचो छ । हामी सबैले उनीहरुको जीवनशैलीबाट केही सिक्ने कि ?

-उज्यालाे अनलाइन र गफगाफ डटकमकाे सहकार्य 

 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया