६ हजार रुपैयाँ ऋणको ब्याज : चार वर्षदेखि यौन शोषण !

 चैत १५, २०७७ आइतबार १७:३१:३७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले ६ हजार रुपैयाँ ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ ।

पत्रकारसँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन् । आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडितको भनाइ छ । 'ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो', पीडित महिलाले भनिन्, 'आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ ।'

घरायसी कामसँगै तीन/चार दिनको अन्तरमा उनीमाथि जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ । महिलाले भनिन्, 'ऋणको ब्याज स्वरूप दिनभरि काम गर्नुपर्ने । कामको थकानसँगै उसलाई यौन चाहना भए जुनसुकै बेला पनि आफू तयार हुनुपर्ने बाध्यता थियो ।'

आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको पीडित महिलाको भनाइ छ । गाउँघरमा जो कोहीलाई धम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ तर पीडक राईले भने आफूले त्यस्तो कुनै पनि नगरेको बताएका छन् ।

यौन प्यास मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि अन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ । 'सुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो', महिलाले सुनाइन्, 'केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहेँ ।'

श्रम शोषण गरिरहेका पीडक राईले २०७५ सालदेखि भने निरन्तर यौन शोषणसमेत गर्ने गरेको पीडित महिलाले बताइन् । पीडित महिलाकी ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौन प्यास मेटाउने गरेको महिलाको गुनासो छ । रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्की दिने गरेको उनले बताइन्।

खड्गबहादुरको व्यवहारको विषयमा पीडितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उनलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन्छ । तर आफूहरूसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ ।

खड्गबहादुर र पीडित महिलाबीचको सम्बन्धका बारेमा पीडकको घरपरिवारलाई जानकारी भएपछि छोराहरूसमेतले गएकाे माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने धम्की दिएको आरोप छ । घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाइ छ ।

महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता

सामान्य विवाद हुँदा समेत छिमेकी सबैलाई धम्की दिने खड्गबहादुरदेखि गाउँले सबै डराउने गरेको उनीहरूको भनाइ छ । आफूहरू पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडित महिलाले बताइन् ।

जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गएकाे फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ । प्रहरीले आवश्यक अनुसन्धानका लागि त्यही दिन खड्गबहादुरलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक (इन्स्पेक्टर) महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकाेमा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई एक लाख २० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ । पीडित पक्षले भने आफूहरूलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन् । पीडक पक्षको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएपछि न्याय नपाउने आशङ्का आफूहरूमा रहेको पीडित महिलाको भनाइ छ ।

अब झनै ज्यान जोखिममा परेकाले गाउँ फर्कन नसक्ने पीडित परिवारको गुनासो छ । पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उनको भनाइ छ । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया