इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
कोरोना भाइरसविरुद्ध प्रभावकारी मानिएको कोभिसिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका झण्डै साढे १४ लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउने गरी प्रक्रिया थालिएको छ । सकेसम्म त उनीहरुलाई दोस्रो डोज पनि कोभिसिल्ड नै लगाउने भनिएको हो । तर त्यो सम्भव हुने अवस्था देखिएन ।
भारतले कोभिसिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल नेपाल आउने सम्भावना नभएकाले त्यसको विकल्पमा एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रुपमा लगाउन लागिएको हो । कोभिसिल्ड खोप नपाउने पक्का जस्तै भएपछि कोभ्याक्सले सरकारलाई कोभिसिल्डको विकल्प रोज्न आग्रह गरेको थियो । सरकारले कोभ्याक्सलाई एस्ट्राजेनेका वा जोनसन एण्ड जोनसनको खोप उपलब्ध गराइदिन सिफारिस गर्ने भएको छ ।
एस्ट्राजेनेकाको खोप ६५ वर्षमाथिका पहिलो डोज लगाएकालाई दोस्रो डोजको रुपमा लगाइने र जोनसन एण्ड जोनसनको खोप एक डोज मात्रै लगाए पनि हुने भएकाले कुनै पनि खोप नलगाएकालाई दिने तयारी छ । कोभिसिल्ड र एस्ट्राजेनेकाको खोप उस्तैउस्तै प्रक्रियाअनुसार बनेकाले पहिलो डोज कोभिसिल्ड लगाएकाले पनि दोस्रो डोज एस्ट्राजेनेकाको खोप लगाउँदा फरक पर्दैन । सरकारले गएको फागुन तेस्रो हप्ता ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिएको थियो ।
कोभिसिल्ड खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । पहिलो डोज खोप लगाउन पाएपछि खुसी भएका वृद्धवृद्धा अहिले दोस्रो डोजको पर्खाइमा छन् । विश्व स्वास्थ्य सङ्गठनले कोभिसिल्ड खोप ८ देखि १२ हप्तासम्मको अन्तरमा लगाए प्रभावकारी हुने भनेको थियो । त्यो अनुसार फागुन २३ देखिको खोप अभियानमा सहभागीले जेठ तेस्रो हप्तासम्म दोस्रो डोज लिइसक्नुपर्ने हुन्छ ।
त्यही समयमा दोस्रो डोज खोप नलगाएर एक/दुई हप्ता ढिला भएमा पनि खासै फरक पर्दैन । उनीहरु दोस्रो डोजको खोप आउने प्रतिक्षामा छन् । सरकारले कोभ्याक्स सुविधामार्फत् नेपालले पाउने खोप छिटोभन्दा छिटो उपलब्ध गराइदिन आग्रह गरेको छ ।
नेपालले खरिद गरेको भनिएको १० लाख मात्रा कोभिसिल्ड खोप भारतबाट आउने सम्भावना कम भएपछि विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित एस्ट्राजेनेकाको खोप माग गर्ने तयारी थालिएको हो। कोभिसिल्ड खोप उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्युटले सरकारको स्वीकृति नलिइकन बाहिर खोप निर्यात गर्न नसक्ने जनाएको छ ।
सेरम इन्स्टिच्युटले खोप निर्यात गर्न नसकेकाले कोभ्यासले यसको विकल्प छान्न नेपाललाई आग्रह गरेको थियो । एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र फाइजर कम्पनीमध्येबाट विकल्प खोज्न आग्रह गरेकाले फाइजर कम्पनीको खोप नेपालका लागि उपयुक्त नहुने देखिएकाले राष्ट्रिय खोप सल्लाहकार समितिको छलफलपछि अरु दुई कम्पनीको छनोट गरिएको हो ।
अमेरिका, बेलायत, युरोप र कोरिया जुनसुकै देशमा उत्पादन भएको एस्ट्राजेनेका र जोनसोन एण्ड जोनसनको खोप छनोट गरिएको हो । पहिलो डोज खोप लगाएका झण्डै साढे १४ लाख जनालाई दोस्रो डोज लगाउनका लागि एस्ट्राजेनेकाको खोप अनिवार्य चाहिन्छ । जोनसन एण्ड जोनसनको खोप नयाँलाई लगाउनका लागि प्रयोग गर्ने योजना बनाइएको छ ।
विश्वभरी खोपको माग धेरै छ । एउटा मात्रै कम्पनी विकल्पको रुपमा छान्दा उपलब्ध हुन सक्दैन कि भनेर दुई वटा कम्पनी छनोट गरिएको हो । जोनसन एण्ड जोनसोन कम्पनीको खोप विभिन्न देशमा निर्यात भइरहेकाले उपलब्ध हुने सम्भावना धेरै भएकाले यो खोप पनि रोजिएको हो ।
दुईदेखि आठ डिग्री सेल्सियस तापक्रममा राखिने भएकाले नेपालमा भण्डार गर्न सजिलो छ । हाम्रो क्षमताले भ्याउँछ । अरु खोप जुन सिस्टमा राखिएको छ त्यही सिस्टमा थपक्क लगेर राख्ने हो । अरु थप व्यवस्था केही गर्नु पर्दैन। यी खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई फेरि तालिम दिनु पर्दैन । पहिला दिएको तालिमले नै काम गर्छ । एस्ट्राजेनेकाको खोप धेरै महँगाे पनि छैन । तुलनात्मक रुपमा सस्तो छ । एक डोजको दुईदेखि १० डलरसम्म पर्छ ।
जोनसन एण्ड जोनसन पनि तीनदेखि १०, ११ डलरमा पाइन्छ । यो एक डोज लगाए मात्र हुने भएकाले सजिलो पनि हुन्छ । समय र खर्च बच्ने भएकाले फाइदा हुन्छ । यस्तै चीनबाट ल्याउन लागिएको भेरोसिल खोपबारे आधिकारिक जानकारी भइसकेको छैन । आधिकारिक जानकारी आइसकेपछि कहिले आउने, कसरी ल्याउने र कुन उमेर समूहकालाई लगाउने भन्नेबारे निर्णय हुन्छ ।
चीनबाट ल्याउने भनिएको १० लाख डोज खोप आइसकेपछि पाँच लाख जनालाई दुई डोज लगाउन पुग्छ । ५५ वर्ष उमे भन्दा माथिको समूह ठूलो भएकाले पाँच लाख डोज खोपले नपुग्न सक्छ । त्यही भएकाले सम्भवत ६० वर्षभन्दा माथिकालाई लगाइन्छ होला । चीनबाट जुन महिनाको सुरुमै आउने भन्ने छ । यसको अर्थ छिट्टै नै आउँछ होला ।
(स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. तारानाथ पोखरेल स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक हुनुहुन्छ ।