भारत र चीनबाट मेट्रो रेल ल्याइन्छ : प्रधानमन्त्री ओली

 भदौ ९, २०७५ शनिबार १८:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत प्राप्त कम्युनिष्ट नेतृत्वको अहिलेको सरकारले तीव्रत्तर आर्थिक र सामाजिक विकास गर्ने लक्ष्य हासिल गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।

भक्तपुरको खरिपाटीमा शनिबार मदन भण्डारी एसियाली विद्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सक्रिय रुपमा लागि परेको बताउनुभएको हो ।

उहाँले समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको वर्तमान सरकारमा सहज बहुमत रहेका कारण यो सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य चुनौतीपूर्ण रहेको भएता पनि नेपाल आफैमा स्रोत र साधनले सम्पन्न भएकाले यसको समुचित प्रयोग गरिने बताउनुभयो ।

दुृई ठूला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरी भारत र चीनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने बताउँदै उहाँले नेपालमा अब द्धन्द्ध व्यवस्थापन भइसकेकोले विकास र समृद्धिलाई पूर्णता दिने बताउनुभयो । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धि र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएको चर्चा गर्दै आएका चुनौतीको सामना गर्दै आफ्नो जिम्मेवारीलाई पूरा गर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले मदन भण्डारी एसियाली विश्वविद्यालय स्थापना गर्न यो सरकारले पहल गर्नुपर्ने बताउनुभयो । नेता वामदेव गौतमले देशमा धेरै अवसरहरु आएकाले यो अवसरको सरकारको सदुपयोग गर्ने बताउनुभयो । शनिबारदेखि आउँदो २१ दिनसम्म आवासीय रुपमा संचालन हुने कक्षामा १४ भन्दा बढी देशका नागरिकहरुको सहभागिता रहेको छ । जसमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, थाइल्याण्ड, इष्टिमोर्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, मोरेसियो, फिलिसिन्स, दक्षिण अफ्रिका लगायतका देशका ५० जना नागरिक प्रशिक्षार्थीका रुपमा सहभागी भएका छन् ।

नेता माधवकुमार नेपाल संरक्षक रहेको विद्यालयको पहिलो पटक सुरु भएको कक्षामा पहिलो समूहमा नाम पुष्पलाल दिइएको छ भने यस प्रकारका कक्षाहरु आगामी दिनमा पनि संचालन हुनेछन् । अन्तर्राष्ट्रिय स्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमकाबारेमा पढाइने छ । पढाईसंगै सामाजिक एवं व्यावहारिक कामहरु कसरी गर्ने भन्नेबारेमा प्रयोगात्मक कक्षा समेत संचालन हुनेछ । 

२१ दिनको प्रशिक्षणमा नेपालबाट नेताहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ पश्रित, वामदेव गौतम, विष्णु पौडेल, अमेरिकाका क्रिसो क्रुसो, भारतबाट डा. विजयप्रसाद लगायत विभिन्न देशका कम्युनिजमका विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रमका संयोजक प्रमेश पोखरेलले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया