इटहरी र धरानका युवतीलाई प्रदीपले बाँडे गुलाबको फूल

 भदौ १८, २०७५ सोमबार १३:७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

धरान – करिब तीन घण्टा अघिदेखि इटहरीको आई सिनेमा हल अगाडि एक युवती नायक प्रदीप खड्कालाई कुरेर बसेकी थिइन् । प्रदीपको इन्स्टाग्रामबाट इटहरीमा दिउँसो १ बजे कन्सर्टका लागि आउँदैछौं भन्ने जानकारी पाएर विराटनगरबाट दिउँसो ११ बजे नै आएकी अस्मिता नाम गरेकी एक युवतीले प्रदीपलाई हेर्न कै लागि तीन घण्टा कुरिन् ।

दुई बजे कन्सर्ट सुरु भएपछि प्रदीपले पनि स्टेजबाटै धेरै युवतीलाई गुलाबको फूल बाँडे । जसमध्ये अस्मिताले पनि गुलाबको फूल पाइन् ।

चलचित्र ‘रोज’ टिम यतिखेर मोफसलको प्रमोशनल टुरमा छ । नायक प्रदीप खड्का, नायिका मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दास, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिमले आइतबार इटहरी र धरानको कन्सर्ट सम्पन्न गरे । 

इटहरी पछि साँझ ५ बजे धरानको भानुचोकमा कन्सर्ट सम्पन्न भएको थियो । नायक प्रदीपकै लागि भेट्न आएका युवा युवतीहरुलाई प्रदीपले स्टेजबाटै थुप्रै गुलाबको फूल, चलचित्रको नाम लेखिएको टिसर्ट बाँडेका थिए ।

प्रदीपले लगातार केही दिनदेखि देशका विभिन्न ठाउँमा गरिएको कन्सर्ट भन्दा इटहरी र धरानमा अझ धेरै दर्शकको साथ मिलेको बताए । ‘म यो भन्दा अघिका चलचित्रका लागि पनि यसैगरी कन्सर्टका लागि आएको थिए, त्यतिखेर पनि दर्शकले निकै ठूलो साथ दिनुभएको थियो, अहिले पनि त्योभन्दा ठूलो साथ पाएँ’ प्रदीपले भने । 

चलचित्रकी नायिका मिरुना र परमिताले पनि चलचित्रको विषयमा जानकारी गराएका थिए । धरान पुग्दा नायिका मिरुनालाई उनका फ्यानले विशेष स्वागत गरे । मिरुनाको गृहजिल्ला भएकाले पनि उनका फ्यानले ‘वि लभ मिरुना’लेखेको पोष्टर लिएर उनलाई भेट्न आएका थिए । 

गायक प्रताप दास र प्रज्ञा श्रेष्ठले चलचित्र ‘रोज’को ‘फूल हैन’बोलको गीत गाउँदा दर्शक मज्जैले नाचेका थिए । यस्तै हाँस्य कलाकार दिनेश काफ्ले र सन्ध्या थापाले कार्यक्रम सञ्चालन गरेका थिए । दिनेशका कमेडी सम्वादले दर्शकले थप मनोरञ्जन लिइरहेका थिए ।

उद्धव पौडेलको प्रस्तुतीमा निरक पौडेलले निर्देशन गरेको यो चलचित्र यही भदौको २२ गतेबाट प्रदर्शनमा आउँदैछ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया