नेकपाकै नेता भन्छन् : बहुराष्ट्रिय सैन्य अभ्यास गर्ने भनेर सरकारले गल्ती गर्‍यो

 भदौ १९, २०७५ मंगलबार १४:१३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व गृहमन्त्री भीमबहादुर रावलले बिमस्टेक बैठकमा बहुराष्ट्रिय सैनिक अभ्यास गर्ने भनेर गरेको निर्णय सच्याउन सरकारसँग माग गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता रावलले संविधानको मर्मविपरीत र राष्ट्रियताको हितविपरीत बहुराष्ट्रिय संयुक्त सैन्य अभ्यास गर्ने भनेर गरिएको  सहमतिमा सरकारले गल्ती गरेको दावी गर्नुभएको हो । 

साक्षात्कारमा उहाँले भन्नुभयो,‘बिमस्टेक बैठक सम्पन्न गरेकोमा प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, सम्बन्धित मन्त्रालय सबैलाई हार्दिक धन्यवाद छ, तर केही निर्णयहरु गलत गरिएका छन्, त्यसैले मैले यसको बारेमा बोल्न बाध्य भएको हूँ । संविधानको हित विपरीत र पार्टीको नीति विपरीत कुनै संवाद, छलफल र बहस नगरिकन राष्ट्रियताको हितविपरित यसरी सरकारले निर्णय गर्नुले सरकारात्मक सन्देश दिँदैन ।’

रावलले भन्नुभयो, ‘१८१५ सालमा नेपाल र अंग्रेजबीचको मलाया युद्धमा तीन हजार नेपाली वीर गोरखालीहरुलाई युद्धबन्दी बनाइयो र बन्दी बनाइएका नेपालीहरुलाई अंग्रेजले गोरखा भर्ती केन्द्रको रुपमा विकास गर्यो, जुन कुरा नेपाली पराजयको संकेतका रुपमा स्थापना गरेको गोरखा भर्ती सन्धिको विरोधमा मैले आधा शताब्दी खर्च गरिसकेको छु ।’

उहाँले भन्नुभयो, ‘नोभेम्बर ९ मा १९४७ राणा, बेलायत सरकार र भारतबीच भएको सहमतिले हाम्रो राष्ट्रियतामाथि प्रश्न खडा गरिरहेको छ, देश र जनताको हित विपरीत भए गरिएका कुनै पनि सम्झौताको विरोधमा बोल्न मलाई कतै कसैले रोक्न सक्दैन ।’

उहाँले अघि थप्नुभयो,‘म एक जना पार्टीको सिपाही हुनुपूर्व देशको नागरिक हूँ, पार्टीको भन्दा देशको बारेमा चिन्ता गर्नुपर्छ भन्ने मानिस हूँ, सविधानको हित विपरीत र नेपाली पराजयको प्रतिकको रुपमा स्थापना गरिएको गोरखा भर्ती सन्धिको विरोध गर्नु मेरो कर्तव्य हो, यस विषयमा मलाई कसैले किन बोलिस् भन्ने कसैलाई अधिकार पनि रहँदैन, म राष्ट्रियताका पक्षमा बोल्नलाई रिपोर्टर्स क्लब नेपाल, खुल्लामञ्च, आमसभा जहाँ पनि बोल्न सक्छु, यसै साक्षात्कारको माध्यम मार्फत सम्पूर्णमा सरकारले गरेका गलत कार्यमा आलोचना र राम्रा काममा साथ दिन आग्रह गर्दछु ।’

त्यस्तै नेपाली कांग्रेसले पनि बिमस्टेक राष्ट्रहरुले गर्ने भनिएको सैन्य अभ्यासबारे सरकारसँग जवाफ माग्ने भएको छ । 

कांग्रेस नेता मिनेन्द्र रिजाले सैन्य अभ्यास गर्ने विषय गम्भीर भएकाले किन गर्न लागियो भन्ने कारण माग गरिने बताउनु भएको हो । 

साक्षात्कार कार्यक्रममा नेता रिजालले सैन्य अभ्यासबारे संसदमा प्रधानमन्त्रीसँग जवाफ मागिने र त्यसपछि बल्ल धारणा बनाउने बताउनुभयो । 

भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा विमस्टेक राष्ट्रहरुले सैन्य अभ्यास गर्दैछन् । सैन्य अभ्यास कार्यक्रमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, म्यान्मार र थाइल्याण्डका ३०–३० सैन्य अधिकारीले सहभागिता जनाउनेछन् ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया