'सडकका बाजे' ! : लोकनाथ भट्टराई

 कात्तिक १७, २०७८ बुधबार १४:२४:१२ | वैद्यनाथ पाैडेल
unn.prixa.net

उहाँले सडक विभागमा काम गर्न थालेको झन्डै अढाइ दशक भयो । सडक विभागको सुन्तला रङ्गको मैलो ज्याकेट तथा सुन्तला रङ्गकै ह्याटमा उहाँलाई अनामनगरको सडकमा भेटिन्छ । 

प्रायः साबेल काँधमा राखेको वा सडकका धुलो र फोहर हटाउँदै गरेको देखिने उहाँलाई त्यस दिन भने रित्तै हात देखियो । रित्तै पनि होइन उहाँको हातमा लट्ठी थियो । उहाँ लट्ठी टेकेर घर जाँदै हुनुहुन्थ्यो । 

उहाँ हिँडैर घर जानु हुँदोरहेछ भने बाहिर चिया तथा अरू केही पनि खानु हुन्न । खाजासमेत घरबाटै बोकेर आउनुहुन्छ ।

गौशाला, चावहिल, महाराजगञ्ज हुँदै जय नेपाल तथा माइतीघर अनि सहरका भित्री भाग साथै त्रिपुरेश्वर, थापाथली, बबरमहल, अनामनगर आसपास उहाँलाई देखिन्छ । 

कारण यी ठाउँ भनेको उहाँको कार्य क्षेत्र हो । यस क्षेत्रमा उहाँलगायत अरू दुई जना पनि हुनुहुन्छ काम गर्ने । 

उमेर उहाँलाई थाहा छैन । ‘पढ्न, लेख्न जानेको भए यो साबेल समातेर किन हिँडिन्थ्यो र !’ उहाँ भन्नुहुन्छ ।

उहाँले जन्मेको साल भने भन्नुभयो । ०० साल अर्थात् २००० साल । त्यस हिसाबले उहाँको उमेर ७८ वर्ष । तर, आफू भदौ ७ गतेदेखि ७८ पूरा भएर ७९ लागेको उहाँ बताउनुहुन्छ । 

उहाँको खास घर भने सिन्धुपाल्चोक । तर, अहिले भने उहाँ कपनमा बसिरहनुभएको छ । ‘सानो छाप्रो छ, आफ्नै जग्गामा’ उहाँले गर्वका साथ भन्नुभयो । यो जग्गा उहाँले आजभन्दा १६ वर्ष अगाडि किन्नुभएको हो । दुई लाख रुपैयाँ हालेर । 

अनि यो दुई लाख भने उहाँले जागिरबाटै कमाउनुभएको, त्यो पनि यही सडक विभागको जागिरबाट !

त्यसभन्दा अगाडि भने उहाँ ठेकेदारको काम गर्नुहुन्थ्यो । बालुवा बोक्ने, इँटा बोक्ने आदि । ‘अघिल्ला मङ्सिर आएदेखि एक वर्ष कटेर अर्को मङ्सिरसम्म काम गरियो । ठ्याक्कै दुई वर्ष’, उहाँ भन्नुहुन्छ । 

काम भने महाराजगञ्जमा थियो । ‘के होटल भन्छन नि !’ उहाँलाई नाम थाहा भएन । ‘होटल राणाको हो । प्रहरी तालिम केन्द्र पछाडि’, उहाँ भन्नुहुन्छ । 

‘मान्छे चाहिए लिएर आइज भन्ने । तर, पछि त्यो राणाले मेरो १८ सय रुपैयाँ खाइदियो । ‘काजीबाउ भन्ने राणा, काठमाण्डौ होटल भन्ने कहलाएको’, उहाँले दुःखेसो प्रकट गर्नुभयो । 

राणाले पैसा नदिएपछि उहाँले काम छोड्नुभयो । अनि काम खोज्दा खोज्दै कपनकै उहाँको आफन्तले आफ्नै घरमा भात खुवाएर गोपी कृष्ण हलदेखि उहाँले सडक विभागको काम पैट्याउनुभएको हो । 

त्यसयता निरन्तर २५ वर्ष उहाँ सडक विभागमा नै हुनुहुन्छ । ठ्याक्कै भन्नुपर्दा २०५३ साल साउन ९ गतेदेखि । 

उहाँ २०४८ सालको तीन दिन बाँकी छँदा काठमाण्डौमा बसाइ सर्ने गरी आउनुभएको हो । चार महिना बानियाँटारमा डेरा गरेर बस्नुभयो । त्यो चार महिनामा उहाँ तीन ठाउँमा डेरा सर्नुभयो । 

काठमाण्डौ आएपछि उदयपुरको ठेकेदारसँग काम गर्नुभयो । काम थियो राणाको कम्पाउन्ड लगाउने । उहाँको काम भने मसला बनाउने अनि इँटा तथा सिमेन्ट बोक्ने । 

उहाँले खेत रोप्नलाई समेत कपनबाट खेताला लिएर जानुभयो । ठेकेदारले पैसा दिउँला–दिउँला भनी रह्यो, साउने सङ्क्रान्ति मानेर आऊ भनेर पठायो । 

‘तर, सङ्क्रान्ति मानेर भोलिपल्ट डाकेको दिनमा जाँदा अब काम पनि छैन, पैसा पनि छैन भनेर ठेकेदारले १८ सय पैसा दिएन’, उहाँले दुःखेसो प्रकट गर्नुभयो, ‘त्यस बेलाको १८ सय भनेको कम हो र !’ 

त्यसको नाै दिनपछि उहाँले सडक विभागमा काम थाल्नुभएको हो । काम गोपीकृष्ण हलदेखि सुरु गरे पनि उहाँको जागिर भने सानो गौचरणको अफिसबाट पक्का भएको हो । 

उहाँको तलब त्यस बेला १६ हजार ५० रुपैयाँ थियो । पछि बढेर १९ हजार रुपैयाँ भयो । अहिले साउनदेखि भने उहाँको तलब २१ हजार रुपैयाँ पुगेको छ । 

२५ वर्ष काम गर्दा पनि स्थायी भने भएको छैन । पहिले ज्यालादारी । अहिले भने करारमा । 

दुई पटक तीनकुनेदेखि बबरमहलसम्म आएर आन्दोलन गरेपछि उहाँहरूले शनिवार बिदा पाउन थाल्नुभएको हो । अरू सुविधा केही छैन । माग्न त उहाँहरूले औषधि, बीमा लगायतका सुविधा पनि माग्नुभएको थियो । हुन्छ–हुन्छ भने पनि त्यो चाहिँ दिइएन । 

तर, दशैँमा भने एक महिनाको दशैँ खर्च दिने गरिएको छ । ‘त्यो पनि ठूलै हो’, भट्टराई भन्नुहुन्छ । 

आफूले बाथरुम बनाउन सडक विभागको अलकत्राको ड्रम माग्दा पनि नदिएको उहाँ बताउनुहुन्छ । ‘सबैलाई काम मात्र प्यारो हो । काम र धन भएमात्र सबैको प्यारो नत्र काम छैन,’ उहाँको गुनासो थियो ।

उहाँको ड्युटी बिहान १० देखि बेलुकी ५ बजेसम्म हो । दिनका दिन सुपरभाइजरले उहाँ लगायत अन्य साथीको निगरानी गर्ने गर्छन् । 

भोलिपल्टको ड्युटी कहाँ हो भनेर उहाँ पहिला गौशाला जानुहुन्छ । त्यहाँ कि सुपरभाइजर आउँछ वा फोन गर्छ । नआए उहाँ आफैँले फोन गर्नुहुन्छ । अनि त्यस दिनको ड्युटी कहाँ हो भन्ने थाहा हुन्छ । 

काम गर्ने सामान भने गौशालामा पनि छ । अनि यता जय नेपालतिर पनि छ । काम जहाँ पर्‍याे त्यतै जानुपर्छ । तर, सडक विभागको ड्रेस भने अनिवार्य लगाउनुपर्छ । 

उहाँको घरमा श्रीमती, छोरा, बुहारी, नाति, नातिना छन् । श्रीमती कसै–कसैले भोज भतेरमा भात पकाउन बोलाए जानुहुन्छ । छोरा भने गाउँपालिकामा सुपरभाइजरका रूपमा काम गर्नुहुन्छ । 

गाउँपालिकाले गर्ने निर्माण कार्यमा उहाँले पालिकाको तर्फबाट रेखदेखको काम गर्नुहुन्छ । 

उहाँको एक छोरी तथा तीन छोरा । तर, जेठो छोरो भने २६ वर्षको उमेरमा बिते । तिनलाई उपचार गर्दा उहाँको कपनको तीन आना दुई पैसा जग्गा सकियो । 

छोराको रोग के हो भनेर पत्ता लागेन । खास दाहिने फिलाबाट झस्को पसेको हो रोग भने । तर, त्यतिकै उहाँ हिँड्न सक्नुभएन । 

र, चाबहिलको हेल्पिङ ह्यान्डसदेखि अत्तरखेल अनि पाटन लगनखेलदेखि टिचिङ हुँदै काठमाण्डौ मेडिकल कलेज (केएमसी) सिनामङ्गलमा राख्नुभयो । केएमसीमा राखेपछि दुई पटक एमआरआई गर्न भनियो ।उहाँको ३६ हजार रुपैयाँ सकियो एमआरआईमा । 

उहाँको मासिक घर खर्च सरदर १५/१६ हजार रुपैयाँ हुन्छ । ‘जे होस् कमाइले खर्च पुगेको छ । अरूसँग हात थाप्नु परेको छैन’, 'सडकका बाजे' अर्थात् लाेकनाथ भट्टराई भन्नुहुन्छ ।

जस्तै कर्म विचारी भो या यसमा जान्दैन संसारको 
नाकै टुप्पोमा डुलेर या रहुन् ना यहाँ यमजीको 
माता फेरि पिता समेत मरी गए आफू समेत मर्नुछ 
संसारैको रित भुलेर व्यर्थै जनम हर्नुछ  ।

मेरै हो भनि लौ अकर्थ अहिले यो चित्त भुल्दो भयो 
जसै प्राण छुटीन दिमाख भर भो तेरो न मेरो भयो 
यस्तो सम्झी विचार गर्नु भवमा कस्तै हवस ता पनि 
छोडी जानु अवश्य पर्छ बुझि लेउ तेरो न मेरो भनि  ।

यो श्लोकसँगै उहाँले आफ्नो कुराको बिट मार्नुभयो ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया