गफ हाँकेर समृद्धि आउँदैन : डा. भट्टराई

 पुष २५, २०७८ आइतबार १६:३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण देशमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताउनुभएको छ । 

अध्यक्ष भट्टराईले देशमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरूको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो । 

राष्ट्रिय व्यापार सङ्घले आज आइतवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरूमा आएको परिवर्तनलाई आत्मासात् गरेर राजनीतिक नेतृत्व अघि बढे देशमा छिटो भन्दा छिटो विकास र समृद्धि हुने तर्क गर्नुभयो ।

अध्यक्ष भट्टराईले 'ब्युराेक्रेसी' अर्थात् कर्मचारीतन्त्रमा देशलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढ्न पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताउनुभयो  । उहाँले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरूले पनि देशलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो । 

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘मलाई मेरो समकक्षी साथीहरूप्रति बडो दिक्क लाग्छ । परिस्थिति फेरिइसक्यो । एजेन्डा फेरिइसके । छिमेक फेरिइसक्यो । तर यति बेलाको हाम्रो मुख्य कार्यभार भनेको चाहिँ छिटो भन्दा छिटो विकास र समृद्धि नै ल्याउने हो । तर यसमा हुँदाहुँदै थेगो त सबैले थाल्नु भो, समृद्धि–समृद्धि । तर त्यो समृद्धि हो के ? आउँछ कसरी ? भनेर मात्रै आउँछ कि ? त्यसपछि त्यसका खास नियमहरू बुझ्नुपर्छ ? अर्थतन्त्रका विभिन्न क्षेत्रको सन्तुलन मिलाउनुपर्छ भन्ने कुरा मुख्य नेतृत्वले नबुझेपछि के हुन्छ ? ब्युराेक्रेसीमा क्षमतावान् मानिसहरू हुनुहुन्छ । तर राजनीतिक नेतृत्वले चाहिँ मैले सबै क्षेत्रमा जानेको छु भन्ने अनि बिगार्ने होइन । कसले जानेको छ, त्यो बुझ्ने र जानेको मान्छेलाई त्यो परिणाम ल्याउनुस् भन्ने हो । देशमा विकास र समृद्धि ल्याउने हो भने गफ हाँकेर होइन, गुड्डी हाँकेर होइन । विज्ञहरूसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सक्ने हो भने देश समृद्ध बन्न सक्छ । त्यसैले मुख्य कुरा भनेको राजनीतिक नेतृत्वको दृष्टिदोषले समस्या भइराखेको छ ।’

अध्यक्ष भट्टराईले देशबाट गरिबी निवारण नभइ व्यापार व्यवसाय फस्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरूले ध्यान दिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया