नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – नेपालको आर्थिक अवस्था पछिल्लो पाँच महिनायता अझ बिग्रिँदै गएको तथ्याङ्क बाहिरिएको छ ।
गत बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणले देशको अर्थतन्त्र बिग्रिँदै गएको तथ्य बाहिर ल्याएको हो । राष्ट्र बैंकको सार्वजनिक तथ्याङ्क अनुसार अर्थतन्त्रको बाह्य क्षेत्रहरु बिग्रिँदै गएको देखिएको हो ।
देशको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिती पौने २ खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।
चालू आर्थिक वर्षको ४ महिनाको अवधिमा १५० अर्ब शोधनान्तर घाटा रहेको थियो । तर, पछिल्लो एक महिनाको अन्तरमा मात्रै ४५ अर्ब रुपैयाँले शोधनान्तर घाटा बढेको हो । ५ महिनाको अवधिमा ४५ अर्बले शोधनान्तर घाटा बढेर शोधनान्तर स्थिति १ सय ९५ अर्ब घाटामा गएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षमा लगातार रुपमा शोधनान्तर घाटामा गइरहेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको त्यस अवधिमा शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको त्यस अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको छ ।
चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा चालु खाता ३ खर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको त्यस अवधिमा चालु खाता २३ अर्बले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको त्यस अवधिमा १९ करोड ६६ लाखले घाटामा रहेको चालु खाता चालु आवको ५ महिनामा २ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको छ ।
मंसिरसम्ममा पुँजीगत ट्रान्सफर २.४ प्रतिशतले घटेर ४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ । त्यस्तै, पछिल्लो समय नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी ५७ प्रतिशतले वृद्धि भएको छ । ५७ प्रतिशतले वृद्धि भएर ७ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको त्यस अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब ७५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५० करोड रहेको थियो ।
त्यस्तै, विदेशी मुद्राको सञ्चिति पनि चालु आर्थिक वर्षमा निरन्तर रुपमा घटिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार मंसिरसम्म सञ्चिती १२ खर्ब १४ अर्ब ३ करोडमा झरेको छ ।
अघिल्लो महिनाभन्दा सञ्चिती ३० अर्ब ८२ करोड रुपैयाँले घटेको छ । चालु आर्थिक वर्षमा मात्र सञ्चिति १ खर्ब ८५ अर्ब रुपैयाँले घटेको तथ्याङ्कले देखाएको छ। नेपालमा विदेशी मुद्रा सञ्चिती कुनै समय बढेर १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । त्यस हिसाबले अहिलेसम्म २ खर्ब ९२ अर्ब रुपैयाँले घटिसकेको छ । कोरोना महामारीको समयमा समेत नेपालमा विदेशी मुद्राको सञ्चिती ११ खर्ब ५५ अर्ब ९० करोड रुपैयाँ थियो ।
त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा वैैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिटेन्स ६.८ प्रतिशतले घटेको छ । गत कात्तिक महिनाको तुलनामा मंसिरमा बढेपनि गत वर्षको त्यस अवधिको भन्दा घटेको छ । गत कात्तिक महिनामा ७३ अर्ब १० करोड भित्रिएको रेमिटेन्स मंसिरमा ७६ अर्ब १६ करोड भित्रिएको छ । यद्यपि गत वर्षकोे मंसिरमा ७९ अर्ब ९ करोड रुपैयाँ भित्रिएको थियो ।
यसरी चालु आर्थिक वर्षको ५ महिनामा ३ खर्ब ८८ अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको मासिक तथ्याँक अनुसार मंसिरसम्ममा ३ खर्ब ८८ अर्ब ५८ करोड रेमिट्यान्स भित्रिएको हो ।
रेमिट्यान्स गत साउनयता लगातार घटिरहेको छ । रेमिट्यान्स गत साउनमा १८ दशमलव १, भदौमा ६ दशमलव ३, असोजमा ७ दशमलव ६, कात्तिकमा ७ दशमलव ५ र मंसिरमा ६ दशमलव ८ प्रतिशत घटेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशतले कमी आई २ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशत बढेको थियो ।
तर, यता चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा नेपाली वस्तुको निर्यातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्यांक अनुसार निर्यात १०५ दशमलव ६ प्रतिशतले बढेर १०२ अर्ब ९२ करोडले निर्यातमा वृद्धि भएको हो ।
अघिल्लो वर्षको त्यस अवधिमा यस्तो निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । तथ्यांक अनुसार भारतमा १३८ तथा अन्य मुलुकतर्फ हुने निर्यात २८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । अन्य गन्तव्यको निर्यातमा वृद्धि हुँदा चीनतर्फको निर्यातमा १ दशमलव ४ प्रतिशतले कमी आएको छ ।
त्यस्तै, आर्थिक वर्षको पाँच महिनामा कूल वस्तु आयात ५९ दशमलव ५ प्रतिशतले वृद्धि भइ ८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको त्यस अवधिमा यस्तो आयात ९ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने देशको आधारमा भारत, चीन तथा अन्य देशबाट भएको आयात क्रमशः ४४ दशमलव ६ प्रतिशत, ५७ दशमलव ८ प्रतिशत र १११ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।
चालु आवको पाँच महिनामा कूल वस्तु व्यापार घाटा ५४ दशमलव ७ प्रतिशतले वृद्धि भइ ७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको त्यस अवधिमा यस्तो घाटा १० दशमलव ९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात÷आयात अनुपात १२ दशमलव ३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको त्यस अवधिमा यस्तो अनुपात ९ दशमलव ५ प्रतिशत रहेको थियो ।
यता, चालु आर्थिक वर्षको पाँच महिनासम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १ दशमलव ७ प्रतिशतले र निजी क्षेत्रमाथिको दाबी (कर्जा प्रवाह) ११ दशमलव १ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमाथिको दाबी वृद्धिदर ३० दशमलव १ प्रतिशत छ ।
त्यस्तै, चालु वर्षको मंसिर महिनामा नेपालको मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) ७ दशमलव ११ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको त्यस महिनाको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७७ को मंसिरमा नेपालको मूल्य बृद्धिदर २ दशमलव ९३ प्रतिशत रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।