रामेछाप : जुनारको जुस बनाउने उद्योग खुलेपछि महिलालाई गाउँमै रोजगारी

 माघ ११, २०७८ मंगलबार १३:३२:१० | दीपक भट्ट
unn.prixa.net

रामेछाप - गाउँमा जुनारको जुस बनाउने उद्योग खुलेसँगै रोजगारी पाएपछि रामेछाप नगरपालिका–७ सुकाजोरका महिलाहरु खुसी भएका छन् । 

उद्योग सञ्चालनमा आएपछि गाउँका महिलाहरुले आफ्नो घरको काम सकेर फुर्सदको समयमा जुनारको दाना तास्ने काम गर्छन् । उनीहरुले जुनारको दाना तास्ने कामबाट प्रतिव्यक्ति मासिक २० देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको रामेछाप नगरपालिका–७ सुकाजोरकी सावित्रा कार्कीले जानकारी दिनुभयाे । 

उहाँले भन्नुभयाे– 'हामी महिलाहरु घरको चुलोचौको गरेर बसेका थियौँ। आम्दानीको श्रोत नहुँदा सधै घरखर्च घरका मुलीसँग माग्नुपर्ने बाध्यता थियो । अहिले गाउँमै जुनारको जुस उद्योग खुुलेपछि छोटो समय भए पनि काम पाएका छौँ ।'

बिहान र बेलुकाको घरको सबै काम सकेर बाँकी फुर्सदको समयमा जुनारको बोक्रा तास्ने कामबाट मासिक ३० हजार रुपैयाँसम्म कमाउन पाउँदा आफूहरु ज्यादै खुसी भएको कार्कीले बताउनु भयाे । 

यतिखेर सुकाजोरका १ सयजना महिलाहरुले यस उद्योगमा रोजगारी पाएका छन् । कलेज पढ्ने छात्राहरुले पनि बिहान कलेज पढेर फर्केपछि दिउँसोको फुर्सदको समयमा जुनार उद्योगमा नै काम गर्दै आएका छन् । पकेट खर्च र कजेलको शुल्क बुझाउन समेत आफ्नै कमाइले पुग्दै आएको रामेछाप नगरपालिका–७ सुकाजोरकी रेजीना कार्कीले बताउनु भयाे । 

उहाँले भन्नुभयाे–'पहिला गाउँमा केही गरौँ भन्दा पनि काम गर्ने अवसर पाएका थिएनाैँ । अहिले जुस उद्योग सञ्चालनमा आएको छ । जुस बनाउनको लागि जुनारको दाना छिल्ने काम केही महिना भए पनि पाएका छौँ। बिहानको समय कलेज पढेर फर्कने र दिउँसोको खाली समयमा उद्योगमा आएर काम गरेर आफूलाई पुग्ने पैसा आफैँ कमाइ गर्दा धेरै खुुशी छौँ।' अहिले घरका अभिभावकसँग खर्च माग्नु पर्ने अवस्थाको अन्त्य भएको कार्की बताउनुहुन्छ ।  

जिल्लामा जुनार भण्डार गर्ने चिस्यान केन्द्र नहुुँदा जुनार पाक्ने सिजनमा मंसिरदेखि माघसम्म तीन महिना मात्रै गाउँका महिलाहरुले रोजगारी पाउने गरेका छन् । जुनाार पाकेपछि पछिसम्म राख्ने स्टोर नहुँदा जुनार कुहिने डरले एकै पटक जुनार पेलेर जुस राख्ने गरिएको मन्थली डिलक्स एग्रो फरेष्टी प्रा.लि.का प्रोपाइटर लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे -'जिल्लामा चिस्यान केन्द्र निर्माणकाे क्रममा छ, कहिले सम्पन्न हुन्छ थाहा छैन। चिस्यान केन्द्र नहुँदा जुनार पाकेको सिजनमा एकैपटक बोटबाट टिप्नुपर्ने र तत्काल नै पेली हाल्नुपर्ने अवस्था छ । जुनार धेरै समय राख्दा कुहिने डरले चाँडै पेल्नुपर्ने समस्या छ ।' चिस्यान केन्द्र भएपछि यो समस्याबाट मुक्ति मिल्ने र रोजगारी पनि बाह्रै महिना दिन सकिने श्रेष्ठ बताउनुहुन्छ ।

जुनार पाक्ने सिजनमा जुनारको जुस बनाएर राख्ने र यसबाट जुस बनाउने गरिन्छ । जुस प्लास्टिकको बोतलमा राखेर बाह्रै महिना बजारमा बिक्रीको लागि लैजाने गरिन्छ । जुनारको जुस कोसेलीको रुपमा लैजाने र बाहिरी जिल्लाबाट भ्रमण आएका पाहुनालाई जिल्लाको पहिचानको रुपमा जुस बिक्री गरिँदै आएको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया