‘भिजिट भिसामा विदेश पुर्‍याएर अलपत्र बनाउने दलालहरूलाई पानीमुनि गए पनि छाेड्दैनाैँ’

 माघ १३, २०७८ बिहीबार १८:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्‍याइ नेपाली नागरिकलाई अलपत्र बनाउने वैदेशिक रोजगार व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने बताउनु भएको छ ।

आज  बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले आकर्षक रोजगारीको प्रलोभन देखाइ विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरूको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सीआईबीका प्रहरी नायब उपरीक्षक सम्मिलित मार्शल टिम गठन गरेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरूलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरूलाई खोजी–खोजी कारबाही गर्ने बताउनु भयो । उहाँले विदेश जाने नेपालीहरूले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताउनु भयो । उहाँले आउँदो आइतवारदेखि मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुने गरी गुनासो सेन्टर स्थापना हुने बताउनु भयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामीले दलालहरूलाई, ठगहरूलाई तह लगाउने गरी मार्शल टिम गठन गरेका छौँ । म के चेतावनी दिन चाहन्छु भने अब पानीमुनि गए पनि अपराध गर्नेहरूलाई छोडिँदैन । कि आत्मसमर्पण गरेर आफूले गरेका गल्ती स्वीकार गरी झुक्याएर, ठगेर लगिएका नेपालीलाई छिटो भन्दा छिटो नेपाल पठाउँछु भन्नुपर्छ । मान्छेबाट गल्ती हुन सक्छ तर यो गल्ती स्वीकार गर्न सकिने गल्ती छैन । यूएईमा बसेर नेपाली सोझा मानिसलाई दुःख दिने काम गर्नेहरूलाई यो सरकारले छोड्ने छैन ।’

त्यस्तै पीडितहरूले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसे पनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन् । आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गए पनि दलालहरूले कुनै रोजगारी नदिएको उनीहरूले गुनासो गरेका छन् । पीडितहरूले भिजिट भिसामा जानु आफ्नो गल्ती भए पनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए ।

पीडितहरूले त्यहाँ रहेको दूतावासले कुनै पनि सहयोग नगरेको गुनासो गरेका छन् । आर्थिक स्राेत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरूले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको उनीहरूले गुनासो गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरी लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौता विपरीत हो । लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केही दिनयता तातेको छ । हजारौँ नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै वैदेशिक रोजगार व्यवसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि उनीहरूले मान्छे फिर्ता ल्याउन पनि थालेका छन् । 

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • Gauri lal bohara

    Jan. 28, 2022, 11:50 a.m.

    दलालहरुलाई कारवाही हुनुपर्छ /

  •  0 Reply
  • लोकराज गिरि

    Jan. 28, 2022, 9:41 a.m.

    म लगायत हामी 6/7 जना पीडितमा छौ । कता हो के हो हामी लाई थाहा छैन के गर्ने मलाई सम्पर्क गर्ने बाताबरण बनाउइ दिन पर्यो । म सबै अगाडि ल्याउन पर्ने छ । मान्छेलाई। सम्पर्क नम्वर दिनुबेको भए सजिलो हुनेथियो /

  •  0 Reply
  • J. S. Karki

    Jan. 28, 2022, 6:26 a.m.

    खै, जो मन्त्री भए पनि यस्तै भन्छन् तर पनि जनता झन बढी ठगिएका छन।

  •  0 Reply
  • Ghanshyam oli

    Jan. 27, 2022, 6:36 p.m.

    धेरैले मीठो सपना देखेर eps पास गरि लामो समयसम्म अब त लैजाला कि भन्दै बसेका तर हाल सम्म पनि कोरिया जान नपाएका नेपाली युवाहरु अब के आशैआशमा बस्न पर्ने हो कि अब खाडितिर जान पर्ने हो ??? दुई तीन पटक म्याद थप्दै राख्दै गरेर के तमासा गरेको हो ???

  •  0 Reply

तपाईको प्रतिक्रिया