राजस्व देशकाे रगत–पसिना हाे, याे बगेर गएकाे टुलुटुलु हेरेर बस्न सकिँदैन : मन्त्री शर्मा

 माघ १८, २०७८ मंगलबार २०:३५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राजस्व देशकाे रगत–पसिना रहेको भन्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको छ । आज मङ्गलवार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्नुहुँदै उहाँले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताउनुभएको हो ।

अर्थमन्त्री शर्माले राजस्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिनुभयो । ‘राजस्व भनेको राष्ट्रको रगत पसिना हो । यो बगेर गइरहेको छ’, उहाँले भन्नुभयो, ‘यो हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । त्यस कारण त्यसको नियन्त्रणको कार्य आजैदेखि सुरु गर्नुपर्छ ।’ यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने पनि बताउनुभयो ।

राजस्व चुहावट नियन्त्रण गर्न 'अपरेशन'आवश्यक रहेको भन्नुहुँदै अर्थमन्त्री शर्माले यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । साथै याे अपरेशनका लागि विशेष टोली वा 'टास्क फोर्स' बनाइने पनि उहाँले बताउनुभयो । यस सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उहाँको भनाइ छ । यद्यपि अहिले संसदबाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्रीस्तरीय तथा मन्त्रिपरिषदबाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने बताउनुभयो ।

मन्त्री शर्माले कतिपय राजस्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको औँल्याउनुभयो । त्यसैले सचेतनामूलक सन्देश फैलाउन पनि आवश्यक रहेको उहाँले बताउनुभयो । यसरी सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भइ सम्पूर्ण निकाय, आम जनता लगायत सरोकारवाला सबै मिलेर राजस्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । 

त्यस्तै अर्थमन्त्री शर्माले नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजस्व चुहावटमा कमी ल्याउन सकिने बताउनुभयो ।

पछिल्लो समय डिजिटल प्रविधिमार्फत राजस्व चुहावटका घटना बढेका छन् । क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका 'अवैध' कार्य भइरहेका छन् । यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बिजक तथा अन्तःशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारविन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएका छन् । त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजस्व चुहावट बढी हुने गरेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया