मलेसियास्थित नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी प्रदान गर्न थालियो

 माघ २६, २०७८ बुधबार १६:२१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासबाट पनि विद्युतीय राहदानी प्रदान गर्न थालिएको छ । बुधबार एक कार्यक्रमकाबीच दूतावासले विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको सफल परीक्षण गर्दै विद्युतीय राहदानी जारी गर्न थालेको हो । 

दूतावासले राहदानी नवीकरण गर्न आएका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानीको सुरुवात गरेको हो ।

दूतावासबाट लाइभ इनरोलमेन्ट गरिएको राहदानी विभागबाट प्रिन्टसमेत गरेर सफलताका साथ परीक्षण गरिएको छ । दूतावासले पहिलो दिनमा नै ३३ जनाको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको जनाएको छ ।

दूतावासले सुरुवातको एक हप्ता सीमित व्यक्तिलाई मात्र अनलाइन बुकिङको आधारमा सेवा दिने र त्यसपछि नियमित रूपमा विद्युतीय राहदानी जारी गर्ने छ ।

दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट कार्यक्रममा भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल पनि सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै महानिर्देशक अर्यालले उपकरणहरू पुग्नासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएको भन्दै दूतावास र मलेसियामा कार्यरत सबै नेपालीलाई बधाई दिँदै अब मलेसियाबाट विद्युतीय राहदानी मात्र जारी हुने र एमआरपी राहदानी जारी नहुने कुरा जानकारी गराउनुभयो ।

मलेसियाका लागि कार्यवाहक राजदूत मोतीबहादुर श्रीसले सेवाग्राहीको चापलाई सहज रुपमा व्यवस्थापन हुने गरी सेवा प्रवाहको स्टेसनहरूको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दूतावासका अनुसार मलेसियामा २ लाखभन्दा धेरै नेपालीहरू रहेका छन् । 

विदेशमा रहेको नपाली नियोगहरूमा सबैभन्दा पहिला कतारमा रहेको नेपाली दूतावासले विद्युतीय राहदानी प्रदान गरेको थियो ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया