ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – काठमाण्डौमै मार्केटिङ म्यानेजरको जागिर गरिरहनुभएका अर्घाखाँचीका दीलकुमार थापालाई लाग्यो– यति कमाइले पुग्दैन, भविष्यका लागि अझै कमाउनुपर्छ । ३५/४० हजार रुपैयाँको जागिरले काठमाण्डौमा ज्यान पाल्दै बस्नु भनेको समय बर्वाद गर्नु बराबर हो भन्ने सोच उहाँमा आयो । त्यसपछि उहाँको दिमागमा यूरोपेली देश फनफनी घुम्न थाल्यो र यूराेप नै गएर कमाउने सपना बुन्न थाल्नुभयो ।
३० वर्षीय दीलकुमारले यूराेपेली देश गए राम्रो कमाइ हुन्छ भन्ने सुन्नुभएको थियो । आफू पनि त्यही देशमा जाने सोच बनाएपछि साथीभाइसँग यसबारे बुझ्न थाल्नुभयो । त्यसपछि उहाँको भेट भयो एजेण्ट मनोज श्रेष्ठसँग । सिन्धुपाल्चोकका मनोजले चाबहिलमा मोबाइल पसल चलाउँथे । दीलकुमारका एक जना गाउँले भाइ पनि मनोजमार्फत नै यूराेपेली देश पोर्चुगल गएका थिए । मनोजले दीलकुमारलाई पनि यूराेप पठाउने आश्वासन दिए । सुरुमा भिजिट भिसामा जाने र त्यहाँ पुगेपछि कामदार भिसा बनाउने भनेका थिए । महिनाको नेपाली दुई लाख रुपैयाँ कमाइ हुने राम्रो काम भएको भन्दै सुरुमै ८ लाख रुपैयाँ मागे । एजेण्टका चिल्ला कुरामा दीलकुमारले विश्वास गर्नुभयो । मागेजति रकम बुझाउनुभयो । जेठमा पैसा बुझाउनुभएका दीलकुमारको भिसा आयो असारमा । भिसा आयो भनेर मनोजले दीलकुमारलाई फेसबुकमा फोटो पठाएका थिए । त्यसपछि मनोजले फेरि टिकटको लागि र बाँकी प्रक्रिया गर्न भनेर थप ६ लाख रुपैयाँ मागे । पोर्चुगल जान पाइने भो भनेर खुसी हुनुभएका दीलकुमारले ऋण गरेरै भए पनि बाँकी ६ लाख रुपैयाँ बुझाउनुभयो । विदेश जाने पक्कापक्की भइसकेपछि दीलकुमार घर जानुभयो । परिवारसँग बिदाइ गरेर काठमाण्डौ फर्किनुभयो । गाउँमा पनि हल्ला छाइसकेको थियो, ‘दीले त यूराेप हिँड्यो ।’
काठमाण्डौ फर्केर दीलकुमारले मनोजलाई सम्पर्क गर्न खोज्नुभयो तर मनोजले भेट्न आलटाल गर्न थाले । कहिले फोन नउठाउने त कहिले काम भइरहेको छ भन्दै कुरा टार्र्न थाले । पसलमा जाँदा पनि भेटिँदैन थिए । त्यसपछि दीलकुमारलाई शंका लाग्यो । पछि मात्र थाहा भयो मनोजले फेसबुकमा पठाएको भिसाको फोटो त नक्कली रहेछ । दीलकुमार छाँगाबाट खसेझैँ हुनुभयो ।
‘जेठमै पैसा बुझाएको थिएँ, अहिले फिर्ता गर् भन्दा पनि मान्दैन, उल्टै केही समय पर्ख पठाउँछु भन्छ’, मनोज विरुद्ध उजुरी दर्ता गर्न वैदेशिक रोजगार विभाग पुग्नुभएका दीलकुमारले भन्नुभयो, ‘उसको सबै करतुत थाहा पाइसकेँ अझै पनि उसले पठाउँछु भनेर पैसा दिन आनाकानी गर्छ, त्यसैले उजुरी गर्न यहाँ आएको ।’
दीलकुमारले सबै पैसा ऋण खोजेरै बुझाउनुभएको थियो मनोजलाई । अहिले न विदेश जान पाउनुभयो न त आफूसँग एक पैसा नै बाँकी छ । ऋण दिनेहरुले माग्न थालिसके । दीलकुमारलाई अहिले आफू ठगीएको भन्दा बढी ब्याज तिर्ने कुराले पिरोल्छ ।
‘सबै पैसा मिटर ब्याजमा लिएको हो, महिनाकै ४० हजार रुपैयाँ ब्याज तिर्नुपर्छ, अब कसरी ब्याज र साउँ तिर्ने, मेरो त बेहाल बनायो’, दुवै हातले आफ्नो टाउको समाउँदै भन्नुभयो, ‘दिनको भोक र रातको निन्द्रा हराएको छ ।’
दीलकुमार जस्तै ललितपुरका २८ वर्षीय अमित डंगोल पनि यूराेपेली देश जान खोज्दा नराम्रोसँग फस्नुभयो । अमित चार वर्ष साउदी बसेर अघिल्लो वर्षको माघमा घर फर्किनुभएको थियो । साउदीमै हुँदा अमितले नेपाल फर्केर यूराेप जाने सोचिसक्नुभएको थियो । हुन त अमितले साउदीमा पनि नेपाली पचास हजार रुपैयाँ कमाउनुहुन्थ्यो तर यूराेप गएर अझै धेरै कमाउने सोच थियो । उहाँले कतै सुन्नुभएको थियो, ‘एक पटक यूराेप छिरिसकेपछि उतै सेटल हुन सकिन्छ ।’ त्यसैले यूराेप उहाँको सपना नै बनिसकेको थियो ।
नेपाल आएपछि पाँच/छ महिना त्यत्तिकै बिते । गएको भदौमा अमितले फेसबुकमा ‘यूराेपेली देशमा रोजगारी’ भन्ने विज्ञापन देख्नुभयो । त्यसैलाई पछ्याउँदै जाँदा उहाँको भेट भयो, रामेछापका सञ्जु तामाङसँग । कोटेश्वरमा अफिस छ भन्ने सञ्जुले अमितलाई अफिसमा कहिल्यै लिएनन् । होटलतिरै भेटघाट गर्न थाले । गफ गर्नमा सिपालु सञ्जु र सोझा अमित । सञ्जुका कुरामा अमितले विश्वास गर्नुभयो । अमितसँगै उहाँको दुई जना अरु साथी पनि पोल्याण्ड जान तयार भए । आफूले यूराेपेली देश पोल्याण्ड पठाएकाहरु भन्दै एजेण्ट सञ्जुले पोल्याण्डमा रहेका दुई जनासँग फोनमा कुरा गर्न पनि लगाए । उताबाट ‘पोल्याण्डमा एकदम राम्रो छ, कमाइ राम्रो हुन्छ । पछि बन्द हुने हल्ला छ, अहिले नै आइहाल’ भन्यो । अमितलाई विश्वास लाग्दै गयो । फोनमा कुरा गराएकाहरु सञ्जुकै मान्छे हुन् भन्ने थाहै भएन अमितलाई ।
सुरुमा यूराेप छिर्न गाह्रो हुन्छ छिरिसकेपछि एकदमै सजिलो हुन्छ भन्दै भिजिट भिसामा जाने कुरा गरेका थिए । भिसाको लागि एप्लाइ गर्न सात लाख रुपैयाँ चाहिन्छ र भिसा लागेपछि थप पाँच पाँच लाख रुपैयाँ बुझाउनुपर्छ भनेर तीनै जनाबाट सात सात लाख रुपैयाँ मागे । तीनैले बैंकबाट पैसा बुझाए । बढीमा दश दिनभित्र भिसा लाग्छ भनेर विश्वस्त पारे एजेण्टले । कोटेश्वरमा एक होटेलमा लिएर खाजा पनि खुवाए । ‘ड्रिङ्स पनि गर्ने हो’ भनेर पनि सोधे । सबैले नाइँ भने । त्यसपछि ‘भिसा लागेपछि एक दिन बस्नुपर्छ है’ भन्दै सञ्जु तीनै जनासँग छुटे । त्यो दिनदेखि सञ्जु फोन सम्पर्कबाट टाढिँदै गए । फोन उठाउन छाडे । एकपटक भने उनले आफैले फोन गरेर ‘दशैं लगत्तै पठाउँछु चिन्ता नगर’ भने । तर दशैँपछि पनि पठाएनन् । फेरि तिहारपछि पक्का भने । पठाउने भनेर यसरी समय लम्ब्याउँदै गए तर अहिलेसम्म पठाएनन् । अहिले त भेट्न पनि मान्दैनन् । पुसदेखि त सञ्जु फोन सम्पर्कबाटै हराए । त्यसपछि अमित आफ्ना दुई जना साथीसहित कागजात बोकेर उजुरीको लागि वैदेशिक रोजगार विभाग आउनुभयो । तर विभाग आएर पनि काम भएन । आफूसँग प्रमाण नहुँदा विभागले पनि उजुरी लिन नमानेको उहाँ बताउनुहुन्छ ।
‘त्यतिबेला यूराेप जाने भुत चढेको थियो, विश्वास गरिहालियो, यसरी फसिन्छ भन्ने सोचेकै थिएनौँ’, हातमा बोकेका उजुरीका कागजात झोलामा हाल्दै अमितले भन्नुभयो, ‘पैसा बुझाउँदा हामीले वैदेशिक रोजगार विभाग भनेर खुलाएका थिएनौँ, त्यसैले विभागले उजुरी लिन मानेन, महानगरीय प्रहरीमा जान भनेको छ, उतै जानुपर्यो ।’
यूराेपको रोजगारी यसरी ठगिने दीलकुमार र अमित त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समय यूराेपेली देशको रोजगारीको लोभमा परेर धेरै युवा ठगिने गरेका छन् ।
यूराेपेली देशमध्ये सबैभन्दा बढी रोमानियाबाट नेपाली श्रमिकको माग आउने गरेको छ । गएको वर्ष मात्रै रोमानियामा रोजगारीको लागि १९ सय १२ जनाले अन्तिम पटक श्रम स्वीकृति लिएका थिए । यस्तै क्रोएसियका लागि एक हजार ८७ र साइप्रसको लागि एक हजार १२ जनाले रोजगारीको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस्तै टर्कीको लागि ७ सय १० जना, पोल्याण्डको लागि ४ सय ५३ जना, बेलायतको लागि तीन सय १५ जना, पोर्चुगलको लागि ५७ जनाले रोजगारीको लागि श्रम स्वीकृति लिएका थिए । कोरोनाका कारण आर्थिक वर्ष २०७६/७७ भन्दा २०७७/७८ मा यूराेपेली देश जानेहरुको संख्या केही घटे पनि यूराेपेली देशको आकर्षण बढ्दै गएको बताउनुहुन्छ वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कृष्णप्रसाद भूसाल ।
‘पछिल्लो समय नेपालीहरुको कमाइ बढेको छ, यस्तै खाडीमा कमाएर यूराेप जान खोज्नेहरु पनि धेरै छन्’, उहाँ भन्नुहुन्छ, ‘आकर्षक जागिर, राम्रो सेवा सुविधा र कामको सम्मान हुने कारणले नै त्यहाँको रोजगारीमा जाने क्रम बढेको हो ।’
यूराेप जाने क्रम बढेसँगै ठगी पनि बढेको हुन सक्ने उहाँको भनाइ छ । विभागले वैधानिक रुपमा वैदेशिक रोजगारीमा जान खोज्नेहरुको मात्र तथ्यांक राख्ने भएकाले श्रम स्वीकृति बिनै अथवा भिजिटमा गएर ठगिनेहरुको तथ्यांक विभागसँग छैन । तर यूराेपेली देशमा जान खर्च बढी लाग्ने भएकाले ठगीको रकम पनि धेरै हुने गरेको निर्देशक भूसाल बताउनुहुन्छ । उहाँका अनुसार व्यक्ति आफै सचेत नबन्दा ठगिने क्रम बढेको हो ।
‘हामीले त सबै कुरा जानकारी गराइरहेका हुन्छौँ, हाम्रै वेबसाइट, फेसबुक पेज, सञ्चारमाध्ययमबाट चेतनामूलक कार्यक्रम प्रशारण गरिरहेका हुन्छौँ, तर बुझ्दा बुझ्दै पनि एजेण्टको प्रलोभनमा परेर ठगिन्छन्’, भूसालले भन्नुभयो, ‘कसैको हातमा पैसा दिनुपूर्व सयौँ पटक सोच्नुपर्छ, विदेश जान खोज्ने मान्छे थोरै पनि सचेत भयो भने यसरी ठगिदैनन् ।’
म्यानपावरमार्फत जाँदा ठगिएमा सम्बन्धित व्यत्तिलाई कारबाही गर्न सजिलो हुन्छ । यस्तै भिजिटम गएर कुनै देशमा काम गर्नु आफैमा गैर कानुनी कार्य हो । त्यसैले एजेण्टको भरमा नपरेर वैदेशिक रोजगार विभागबाट मान्यताप्राप्त म्यानपावरमार्फत मात्रै जान र रोजगारीको लागि श्रम स्वीकृति लिएरै जान भूसालको सुझाव छ ।
‘अवैधानिक तवरमा जानेहरुको डिटेल हामीसँग हुँदैन र कागजात अपुग हुँदा हामी ठग्ने मान्छेलाई समात्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘त्यसैले वैधानिक तवरले श्रम स्वीकृति लिएर मात्रै म्यानपावरमार्फत जानुपर्छ, पैसा बुझाउदा पनि वैदेशिक रोजगारीको लागि भनेर खुलाउनुपर्छ ।’
दीलकुमार र अमितजस्तै एजेण्टको भरमा पर्नेहरु कतिपय विदेश जानुभन्दा पहिल्यै ठगिन्छन् भने कतिपय विदेश पुगेपछि ठगिन्छन् । कोही त मानव तस्करको जालोमा परेर ज्यानै गुमाउने अवस्थासम्म पुग्छन् । कामको लागि यूराेपेली देशमा जाने नेपालीले भोग्ने गरेका समस्याबारे यूराेपमै रहेर यो विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका लेखक तथा पत्रकार ददी सापकोटाका अनुसार पछिल्लो समय यो प्रवृत्ति झनै बढ्दै गएको छ । छिमेकी देश भारतको नाका प्रयोग गरेर एजेण्टले एकदेशबाट अर्को देश हुँदै विदेश पठाउने र ठाउँठाउँमा पैसा मगाउन लगाएर लुट्ने गरेको उहाँ बताउनुहुन्छ ।
‘यूराेप जान मरिहत्ते गर्नेहरुलाई नै उनीहरुले निसाना बनाउँछन् र पैसा लुट्न सुरु गर्छन्’, उहाँ भन्नुहुन्छ, ‘एक देशको दलालको अर्को देशको दलालसँग सम्पर्क हुन्छ, उनीहरुले एक देशबाट अर्को देशमा लिएर राख्ने, त्यहाँबाट पनि पैसा मगाउन लगाउने फेरि अर्को दलाललाई जिम्मा लगाउने गर्छन्, जबसम्म त्यो श्रमिकले पैसा दिनसक्छ भन्ने लाग्छ तबसम्म पैसा मागिरहन्छन् ।’
यस्तै यूराेप र अफ्रिकाको सीमामा मेडिटेरिएन समुन्द्र पर्छ । जुन् ३५ किलोमिटर चौडा छ । तर नक्सामा एक इन्च पनि देखिँदैन । एजेण्टले कतिपय श्रमिकलाई नक्सामा त्यही समुन्द्र देखाएर यूराेप र अफ्रिका यति नजिक छ, पाँच मिनेट डुंगा चढेपछि यूराेप पुगिन्छ भनेर फकाउँछन् । एक पटक यूराेपको कुनै पनि देशमा छिरिसकेपछि अरु जुनसुकै देशमा प्रवेश गर्न पनि सजिलो हुन्छ भन्दै गलत बाटोमार्फत यूराेप ल्याउने गरेको सापकोटा बताउनुहुन्छ । तर पछिल्लो समय यूराेपमा आर्थिक मन्दी भएकाले यति खर्च गरेर त्यसैमाथि एजेण्टको हात समाएर यूराेप नआउन उहाँ सुझाव दिनुहुन्छ । उहाँका अनुसार अहिले फ्रान्समै १७ प्रतिशत बेरोजगारी छ । यस्तै गरि यूराेपका अरु विभिन्न देशमा पनि बेरोजगारी बढ्दो छ । जनसंख्या बढ्दो छ । कोरोनाका कारण झन् समस्या बढ्दो छ । १४/१५ लाख रुपैयाँ खर्चेर त्यो लगानी उठाउनका लागि यहाँ आउनु मुर्खता हुने उहाँको भनाइ छ ।
‘यूराेपमा अहिले रोजगारीको आकर्षण छैन, ४/५ प्रतिशतलाई राम्रो भए पनि ९५ प्रतिशतलाई समस्या नै हुने हो’, उहाँ भन्नुहुन्छ, ‘हुन त म पनि यतै छु त्यसैले कसैलाई यहाँ नआउनुस् भन्न मिल्दैन तर आउने सल्लाह पनि दिँदैन ।’
यूराेपको लोभले मानव तस्करको जालोमा परेका दुई जना दाजुभाइ राम लक्ष्मणको कथा पढ्नुहोस् :
नेपाल सरकारले मलेसिया तथा खाडी देशमा जान ‘फ्री भिसा फ्री टिकेट’को व्यवस्था गरेको छ । सेवा शुल्क वापत म्यानपावरले १० हजार रुपैयाँसम्म मात्र लिन पाउँछन् । तर यी देशमा तोकिएको शुल्कमै जानु असम्भव झैँ छ । म्यानपावरले कागजमा दश हजार रुपैयाँ खुलाउने गरे पनि श्रमिकबाट ५० हजार देखि लाखौँसम्म लिने गरेका छन् । यस्तै यूराेपेली देश पठाउनको लागि संस्थागत रुपमा श्रमिकबाट बढीमा ७० हजार रुपैयाँसम्म लिन पाउने व्यवस्था छ । तर म्यानपावरले भने ८ लाखदेखि १४/१५ लाख रुपैयाँसम्म लिने गरेका छन् । म्यानपावर व्यवसायीले सरकारले तोकेको रकमले हवाइ भाडा पनि नपुग्ने भन्दै त्यो रकममा विदेश पठाउन नसक्ने बताउँछन् । तर वैदेशिक रोजगार कार्यालय, काठमाण्डौका निर्देशक हरिराम नागिला भने सरकारले तोकेको भन्दा बढी रकममा पठाएको पाइए कारबाही हुने बताउनुहुन्छ ।
‘मलेसिया लगायत खाडी देशमा श्रमिक पठाउँदा म्यानपावरले न्यूनतम १० हजार रुपैयाँ मात्र लिन पाउँछन्, यस्तै युरापेली देशमा बढीमा ७० हजार रुपैयाँ तोकिएको छ’, नागिला भन्नुहुन्छ, ‘तोकिएको भन्दा बढी रकम लिनु अपराध हो, त्यस्तो लिएको पाइएमा कारबाही हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।