४ महिनामा गैरसरकारी संस्थामार्फत २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रियाे

 फागुन १६, २०७८ सोमबार १९:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरूमार्फत २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले याे जानकारी गराउनुभएको हो । 

आज सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले अघिल्लो आर्थिक वर्षमा झन्डै नाै अर्ब रुपैयाँमात्रै विदेशी सहयोग आएको स्मरण गराउनुभयो । मन्त्री रेग्मीले समाज कल्याण परिषद् र मन्त्रालयबीचमा काम गर्ने सबालमा दोहोरोपन देखिएको र त्यसलाई हटाउन आफूले एकद्वार प्रणाली लागू गरिएको दाबी गर्नुभयो । दातृ संस्थाहरूले देशका लागि केही दिँदैछन् भने हामीले झन्झटिला प्रक्रियालाई हटाउनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री रेग्मीले भन्नुभयो, ‘म आउनुभन्दा पहिला वैदेशिक सहयोग झन्डै नाै अर्ब रुपैयाँ भित्रिएको थियो । मैले कार्यभार सम्हालेको दिनदेखि चार महिनामा २९ अर्ब रुपैयाँ जति वैदेशिक सहयोग भित्रिएको अवस्था छ । अहिले म मन्त्री भएर आएपछि सकेसम्म धेरैभन्दा धेरै छिटो काम गरिरहका छौँ । तर दुई वटा निकायमा उस्तै–उस्तै डुब्लिकेशन भएको हुनाले अलि अप्ठ्याराे अवस्था छ । त्यस कारणले एकद्वार प्रणालीअनुसार काम हुनुपर्छ । हाम्रो देशमा आउने, हाम्रै गाउँघरमा जाने पैसा छ भने झन्झटिलो प्रक्रियालाई समाप्त गरेर छिटो छरितो बनाउनुपर्छ ।’

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद दीनानाथ शर्माले गैरसरकारी संस्थाहरूलाई पारदर्शी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । गैरसरकारी संस्थाहरूमा अपारदर्शिता बढ्दै गएको उल्लेख गर्दै उहाँले नियमन गर्नुपर्ने बताउनुभयो । सांंसद शर्माले नेपालमा गैरसरकारी संस्थामा बजेट कहाँबाट कसरी आउँछ केही ठेगान नै नभएको दाबीसमेत गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले अहिले समाज कल्याण परिषद्लाई भूमिकाविहीन बनाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले पछिल्लो चार महिनामा २९ अर्ब रुपैयाँ वैदेशिक सहयोग कसरी आयो भनेर मन्त्री रेग्मीलाई प्रश्न गर्नुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकारसँग गैरसरकारी संस्थाहरूको यकिन तथ्याङ्क नभएको बताउनुभयो । गृह मन्त्रालयले त्यसको तथ्याङ्क लिने काम गरे पनि नवीकरण नगरि खारेज हुने संस्थाहरूका कारण त्याे काम पनि सफल हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले एक पटक दर्ता गर्ने तर नवीकरण नगर्ने र फेरि अर्को नयाँ दर्ता हुने भएकाले अहिले कति यस्ता गैरसरकारी संस्थाहरू क्रियाशील भए/नभएको ठम्याउन कठिन रहेको स्मरण उल्लेख गर्नुभयाे । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया