कम्युनिस्ट र कांग्रेसको विकल्प राप्रपा मात्रै हाे : अध्यक्ष लिङ्देन

 फागुन १८, २०७८ बुधबार १७:१५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभएकाे छ । आज बुधवार पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्ष लिङ्देनले देशलाई कम्युनिस्ट र कांग्रेसको विकल्प आवश्यक भएको भन्दै त्याे राप्रपा मात्रै भएको दाबी गर्नुभयो । उहाँले राप्रपालाई आउँदा दिनमा निर्णायक र अग्रणी शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीहरू र नेपाली कांग्रेसले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरतासहितको परिवर्तन नै हो । कम्युनिस्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ र त्यसको नेतृत्व राप्रपाले मात्रै गर्न सक्छ । यो वास्तविकता हो । राप्रपाबाहेक कम्युनिस्ट र कांग्रेसको विकल्प तत्काल अरू कुनै पार्टी बन्छ अथवा बन्न सक्ने सम्भावना छैन ।’

यस्तै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरूले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढी बनाएका कारण वैदेशिक सम्बन्ध खलबलिन पुगेको बताउनुभएको छ । प्रमुख राजनीतिक दलहरूकै कारण नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थलको रूपमा परिणत भएको उहाँले बताउनुभयो । उहाँले दलहरूको सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर सङ्कटतर्फ गइरहेकाे उल्लेख गर्नुभयाे । 

अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘अहिले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण देश गम्भीर सङ्कटतर्फ उन्मुख छ । वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिँढीको रूपमा प्रयोग गर्ने आलोकाँचो व्यवहारका कारण हाम्रो वैदेशिक सम्बन्ध पूर्ण रूपमा खलबलिन पुगेको छ । र नेपाल शक्ति राष्ट्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थलमा परिणत भएको छ ।’

उहाँले राज्यका प्रमुख तीन अङ्गका बीचमा हुनुपर्ने शक्ति नियन्त्रण र सन्तुलतको व्यवस्था ध्वस्त भएको उल्लेख गर्दै जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताउनुभयाे ।  

राप्रपाको केन्द्रीय कार्य समिति बैठक आज बुधवारदेखि सुरु भएको छ । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवम् सचिवालय प्रमुख हेमजंग गुरुङले प्रस्तुत गर्नुभएको सचिवालयसम्बन्धी प्रतिवेदन र महामन्त्री एवम् स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले प्रस्तुत गर्नुभएको आसन्न स्थानीय तहको चुनावसम्बन्धी प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठक भाेलि पनि बस्ने उहाँले बताउनुभयो ।

आजकाे बैठकले यसअघि केन्द्रीय पदाधिकारीको बैठकले गरेका सबै निर्णयहरूलाई अनुमोदन पनि गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया