‘हाेस्टेलकाे बहानामा बढी पैसा लिने नाेबेल मेडिकल कलेजमाथि कारबाही हुन्छ’

 फागुन २३, २०७८ सोमबार १५:०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले विराटनगरमा रहेकाे नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताउनुभएको छ । आज सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले नोबेल मेडिकल कलेजले विद्यार्थीहरूमाथि होस्टेलको बहानामा बढी पैसा लिएको सत्य भएको र पटक–पटक ध्यानाकर्षण गराए पनि कलेजले अटेरी गरेको भन्दै अबको विकल्प कारबाही भएको बताउनुभएको हो ।

उपाध्यक्ष गिरीले  छात्रावास उचित भए पनि छात्रावासमा बस्न मात्रै विद्यार्थी भर्ना नभएको उल्लेख गर्नुभयाे । उहाँले छात्रावासमा नबसेकै कारण विद्यार्थीहरूलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने बताउनुभयो । उपाध्यक्ष गिरीले कलेजलाई आयोगको तर्फबाट बारम्बार ध्यानाकर्षण गरे पनि कलेजले अपहेलना गरिरहेको भन्दै अबको विकल्प भनेको सिट नदिने वा सम्बन्धनको खारेजी भएको बताउनुभयो । उहाँले कलेजलाई कारबाहीका लागि आयोगमा छलफल गर्ने पनि बताउनुभयो ।

उपाध्यक्ष गिरीले भन्नुभयो, ‘नाेबेलले होस्टेल अनिवार्य गरेर बढी पैसा लिने काम भइरहेको छ, अनिवार्य गरेर जबरजस्ती पैसा असुल्न पाइँदैन । छात्रावास हुनु राम्रो कुरा हो तर छात्रावासमा बस्नका लागि विद्यार्थी कलेजमा भर्ना भएको होइन । कलेजमा पढ्नका लागि हो । छात्रावासमा नबसेको कारणले विद्यार्थीलाई पठनपाठनबाट वञ्चित गर्न पाइँदैन । अब हामीसँग बाँकी भएका कुराहरू भनेको त्यो कलेजलाई कारबाही गर्ने हो । सिट सङ्ख्या घटाउने, वा नदिने, अथवा सम्बन्धन खारेज गर्ने । यी कुरा गर्नका लागि हामी आयोगमा कुरा उठाउँछौँ ।’

त्यस्तै आयोगका सदस्य सचिव डा. भोजराज काफ्लेले अहिलेको विद्यार्थीकाे विषय भनेको रकमको नभइ जीवनरक्षा, एकेडेमिक कुरा र छात्रावासको मात्र भएको बताउनुभयो । उहाँले कलेजले छात्रावास अब अनिवार्य नगर्ने भनिसके पनि अटेर गरिरहेको बताउनुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले कलेजले पैसा बढी लिएको वा घटी लिएको भन्ने अधिकार सदस्य सचिवलाई नरहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले नियमभन्दा बाहिर गएर कलेजले विद्यार्थीहरूसँग पैसा असुलिरहेको भन्दै सदस्य सचिव काफ्लेलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले आयोगको सदस्य सचिवले अहिलेसम्म विद्यार्थीहरू अनशनमा आइसक्दा समेत उनीहरूको पीडा बुझ्न नसकेको आरोप लगाउनुभयो ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाँले विद्यार्थीहरूले त्यही कलेजमा पढ्न नसक्ने भन्दै उनीहरूका लागि सुरक्षित गन्तव्य खोज्नुपर्ने बताउनुभयो । उहाँले यदि त्यही कलेजमा पढाउने हो भने पनि ग्रान्डेट सम्झौता गरेर मात्रै विद्यार्थीहरूलाई राख्नुपर्ने बताउनुभयो । सांसद मियाँले अरू कलेजले पाठ सिक्ने गरेर नोबेल मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद हितबहदुर तामाङले विद्यार्थीहरूबाट धेरै पैसा असुलेको कुरा प्रष्ट भएको भन्दै कलेजलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । सांसद तामाङले कानुन र ऐन मिचेर जाने कलेजलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना बिशंखेले विद्यार्थीहरू नोबेल मेडिकल कलेजमा पढ्न नसक्ने भनेर हरेस खाइसकेको भन्दै अर्को ठाउँ सुरक्षित गर्नुपर्ने बताउनुभयो । सांसद बिशंखेले विद्यार्थीहरूको अभिभावक आयोग, मन्त्रालय र सरकार भएको भन्दै यसबारेमा ध्यान दिनुपर्ने बताउनुभयो ।

नोबेल मेडिकल कलेजको एमबीबीएस प्रथम वर्षका १० जना विद्यार्थीले कलेजमा सुरक्षा चुनाैती रहेको भन्दै काठमाण्डाैकाे माइतीघरमा रिले अनशन बसिरहेका छन् । उनीहरूले कलेज स्थानान्तरणको माग सम्बोधन नभएका कारण गएकाे पुस पहिलो हप्तादेखि एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको र स्थानान्तरण नहुँदा आफ्नो पढाइ बिग्रिएको गुनासो गरेका छन् । 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया