नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले पुँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताउनुभएको छ ।
कास्कीको लेखनाथ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको लेखनाथ महोत्सवको बिहीवार उद्घाटन गर्दै अर्थमन्त्री शर्माले फागुन २४ गतेसम्म १९ दशमलव १५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको भन्दै सबै विकासे मन्त्रालयलाई खर्च बढाउन दबाब दिएको जानकारी दिनुभयो ।
‘पुँजीगत खर्च लक्ष्यअनुसार हुन नसकेकोमा प्रधानमन्त्रीज्यू र म पनि चिन्तामा छौँ’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले पनि विकासे मन्त्रालयसँग छलफल थाल्नुभएको छ । मैले त बुधवार नै छलफल गरेर बजेटको लक्ष्य र कार्यक्रमअनुसार खर्च बढाउन दबाब दिएको छु । फेरि पनि विभिन्न माध्यमबाट ताकेता गरिरहनेछु ।’
उहाँले विकास खर्च लक्ष्यअनुसार हुन नसक्दा तरलतामा असर देखिएको बताउनुभयो । ‘अहिलेको तरलता समाधान गर्न ३० अर्ब रुपैयाँ बजारमा आउनुपर्ने देखिन्छ । केही दिनअघि ११ अर्ब रुपैयाँ त आएको छ तर यो समस्या समाधान गर्नका लागि पर्याप्त छैन’ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवासँग समन्वय गरी अर्थतन्त्रमा देखिएका समस्या हल गर्न निरन्तर संवाद अघि बढाएको पनि उहाँले बताउनुभयो ।
पुँजीगत खर्च गर्ने परम्परागत शैलीका कारण लक्ष्यअनुसार उपलब्धि हासिल नभएको उहाँले बताउनुभयो । गएकाे वर्ष पनि पुँजीगत खर्चमा उल्लेख्य प्रगति नभएको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘गएकाे वर्षको माघ मसान्तसम्म १७ दशमलव ८६ प्रतिशत पुँजीगत खर्च भएको थियो । यो वर्ष २५ भदौमा प्रतिस्थापन विद्येयक ल्याइ बजेट कार्यान्वयन नै ढिला हुँदा पनि गएकाे वर्षको तुलनामा एक प्रतिशत मात्रै कम अर्थात १६ दशमलव ०८ प्रतिशत पुँजीगत खर्च भएको छ’ उहाँले भन्नुभयो ।
केही आयोजनाको काम सम्पन्न भए पनि भुक्तानी गर्न बाँकी रहेकाले पुँजीगत खर्च लक्ष्यअनुसार नदेखिएको उहाँले बताउनुभयो । आर्थिक वर्षको अन्त्यसम्ममा ९० प्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएको र त्यसमा आफू आशावादी रहेको उहाँले बताउनुभयो ।
अर्थमन्त्री शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशाजनक अवस्थामा नरहेका बताउनुभएको छ । विभिन्न क्षेत्रका तथ्याङ्क बताउँदै उहाँले अर्थतन्त्र सरकारको नियन्त्रणमै रहेको र चाँडै समस्या समाधान हुने बताउनुभयो ।
‘गएकाे आर्थिक वर्ष ०७७–७८ को पहिलो ६ महिनामा मूल्यवृद्धिको दर ३ दशमलव ५६ प्रतिशत बिन्दुमा थियो । चालु आवको सुरुबाटै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, खाने तेल, प्लास्टिक, स्टिल तथा स्टिलजन्य वस्तुलगायको निरन्तर मूल्य वृद्धि हुँदा नेपालमा असर देखिएको छ । यद्यपि, चालु आवको मध्यावधि समीक्षा गर्दा मूल्यवृद्धि दर ५ दशमलव ०३ प्रतिशतमा रही बाञ्छित सीमा भित्रै रहेको छ’ उहाँले भन्नुभयो ।
गएकाे वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य शतप्रतिशत बढेको, खाने तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमै ७० प्रतिशतसम्म बढेको जानकारी उद्योगीले नै दिएको, प्लास्टिक, स्टिल र स्टिलजन्य वस्तुको अन्तर्राष्ट्रिय मूल्य पनि ५० देखि ६० प्रतिशत बढेको तथ्याङ्क देखाउँदै उहाँले भन्नुभयो, ‘यसरी अन्तर्राष्ट्रिय भाउ बढ्दा हामीले भुक्तानी गर्ने रकम बढ्न गइ शोधानान्तरमा चाप परेको हो । यद्यपि, हामीले आयातमा कडाइ गर्ने नीति लिएर शोधानान्तर घाटाको अहिलेको स्थितिलाई न्यूनीकरण गर्ने प्रयास गरिरहेका छौँ।’
चालु आर्थिक वर्षमा निर्यात व्यापारमा ठूलो सुधार ल्याएको उहाँले बताउनुभयो । ‘निर्यातमा निक्कै ठूलो सुधार भएको छ । विगतमा एक खर्बको निर्यात गर्न एक आर्थिक वर्ष कुर्नुपर्ने अवस्था थियो । अहिले त्यसलाई अन्त्य गरिएको छ’ उहाँले भन्नुभयो, ‘यसपालि ६ महिनामै निर्यातमा ९५ दशमलव ५ प्रतिशत सुधार भइ निर्यात एक खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । माघ मसान्तसम्म निर्यात झन् सुधार भइ एक खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।’
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा गएकाे वर्ष माघ मसान्तसम्म ८ प्रतिशत रहेकोमा चालु आवको यही अवधिमा निर्यातको हिस्सा बढाएर १० दशमलव २९ प्रतिशत पुर्याइएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढाउँदै लगिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।