पोखरा महानगरमा नयाँ मतदाता निर्णायक

 चैत २४, २०७८ बिहीबार ९:४६:१९ | सागर राज तिमिल्सिना
unn.prixa.net

फाइल तस्बिर

कास्की - २०७४ को स्थानीय तहको चुनावमा भन्दा अब हुन लागेको चुनावमा कास्कीमा ५७ हजार २२ जना मतदाता थपिएका छन् । त्यसमध्ये पोखरा महानगरपालिकामा मात्रै ३९ हजार ६ सय ४५ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा पोखरा महानगरमा करिब १४ हजार मतान्तरसहित एमालेले मेयर, उपमेयर र २२ वटा वडा तथा बाँकी ११ वडामा नेपाली कांग्रेसले जितेको थियो । 

पोखरा महानगरपालिकामा २०७४ को स्थानीय तहकाे चुनावमा १ लाख ६८ हजार ६७ जना मतदाता थिए भने अहिले २ लाख ७ हजार ७ सय १२ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृत रुद्र न्यौपानेले जानकारी दिनुभयो । पोखरामा थपिएका नयाँ मतदाता अहिलेको चुनावको निर्णायक हुने देखिएको छ ।

आफ्नो पक्षमा नतिजा ल्याउनको लागि नयाँ थपिएका मतदाता आफ्ना पक्षमा पार्न दलहरु लागेका छन् भने नेताहरु आफ्नो पक्षमा टिकट हात पार्ने दौडधुपमा लागेका छन् । सत्ता गठबन्धनले देशभरका ६ वटा महानगरपालिकामा केन्द्रबाटै टुङ्गो लगाउने तय भएको छ ।

सत्ता गठबन्धनबाट पोखरा महानगरपालिकामा कुन पार्टीको उम्मेदवार हुन्छ भन्ने यकिन छैन । चुनावमा गठबन्धन नगरे जित्न गाह्रो हुनेमा गठबन्धनका कांग्रेस, माओवादी, एकीकृत समाजवादी एकमत छन् । कसले टिकट पाउने हो भन्ने सत्ता गठबन्धनभित्रै रस्साकस्सी छ । 

एमालेकाे भने गठबन्धन मिलेर आए पनि पोखरा महानगरमा जित सुनिश्चित रहेको दाबी छ । अघिल्लो स्थानीय चुनावमा मेयरमा एमालेका मानबहादुर जीसी ६० हजार १ सय १८ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँले नेपाली कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७ सय २ मतान्तरले पराजित गर्नुभएको थियो । कुँवरले ४६ हजार ४ सय १६ मत ल्याउनुभएको थियो ।

मेयरमा कांग्रेस र माओवादी गठबन्धन थियो । उपमयेरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित हुनुभएको थियो । उहाँले ५६ हजार ४ सय ४८ र कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याउनुभएको थियो ।

अघिल्लो स्थानीय चुनावमा धेरै मतान्तरले एमालेले जितेका कारण आफूहरुको जित निश्चित रहेको नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो । पोखरामा महानगरपालिकामा जनप्रतिनिधिले राम्रो काम गरेका कारण पनि फेरि एमालेले जित्ने उहाँको दाबी छ । 

कांग्रेस कास्की अध्यक्ष किशोरदत्त बरालले गठबन्ध गरेर जाँदा पोखराको मेयरमा सजिलै जित हासिल गर्ने सकिने बताउनुभयो । गठबन्धनबाट साझा घोषणापत्र लिएर मतदाता माझ जाने उहाँको भनाइ छ । 

दलहरुका आआफ्ना दाबी भए पनि अहिले थपिएका मतदाता पोखराको नेतृत्व चुन्न निर्णायक हुन सक्ने देखिएको छ । अघिल्लो चुनावमा साना दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको मत पनि निर्णायक हुनसक्ने छ । मेयरमा एमाले र कांग्रेससहित साना दल र स्वतन्त्र गरेर १६ जना उम्मेदवार थिए । अघिल्लो स्थानीय तह चुनावमा एमाले र कांग्रेस बाहेकका उम्मेदवारले ६ हजार ७ सय ९ मत ल्याएका थिए। 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया