कुवेतमा ज्यान गएको १० वर्षपछि कम्पनीले दियाे कृष्णकाे परिवारलाई क्षतिपूर्ति

 वैशाख ७, २०७९ बुधबार १३:३८:५३
unn.prixa.net

कृष्णबहादुर गुरुङ

मानबहादुर कार्की/भाेजपुर

कुवेतमा श्रीमानको ज्यान गएको दश वर्षपछि भोजपुरकी कोपिला गुरुङले ३१ लाख रुपैयाँ क्षतिपूर्ति पाउनुभयो । योबीचको दश वर्षसम्म कोपिलाले के के मात्रै गर्नुपरेन, कहाँ कहाँ मात्रै जानुपरेन, के के मात्रै सुन्नु परेन !

भोजपुर नगरपालिका वडा नं २ हेलौछा । कोपिलाका श्रीमान कृष्णबहादुर गुरुङ सन् २००७ मा रोजगारीको लागि कुवेत जानुभयो । घरखर्च चलाउन र बालबच्चा पढाउने सबै जिम्मेवारीको झोला बोकेर परदेश लाग्नुभएको थियो । तर त्यहाँ गएको तीन वर्ष नबित्दै सन् २०१० को जुलाई २५ मा उहाँको निधन भयो । ग्यास प्लान्टमा काम गर्दागर्दै एकदिन दुर्घटनामा परेर कृष्णसहित ७ जना नेपालीको ज्यान गएको थियो । 

त्योबेला कोपिलाको परिवारमा निकै समस्या थियो । परिवारबाट छुट्टिएर बसेका थिए । साथमा हुर्किँदै गरेका तीन छोराछोरी । छोराछोरीले खाजा खानको लागि पाँच रुपैयाँ माग्दा पनि दिन सक्ने अवस्था थिएन । त्यसैमाथि कृष्ण कुवेत जाँदा सयकडा २ का दरले लिएको १ लाख ७० हजार रुपैयाँ ऋणको ब्याज बढ्दै थियो । ऋण माग्न साहुहरु घरमा आइरहन्थे । छोराछोरीको पढाइ खर्च देखि घरखर्च सबैको अभिभारा कृष्णकै काँधमा थियो । तर कृष्ण नै रहेनन् भन्ने सुनेपछि कोपिलाको मनमा पहिरो गयो । सपना चक्नाचुर भए । श्रीमानको माया र छोराछोरीको भविष्य सम्झेर एकसाथ विक्षिप्त हुनुभयो । 

काेपिला गुरुङ

शव लिन जाँदा साहुले वचन लाए

कृष्णको ज्यान गएको ४५ दिनपछि शव नेपाल आउने खबर पाएर कोपिला आफ्ना छोराछोरी लिएर श्रीमानको शव ल्याउन काठमाण्डौ जाने तयारी भयो । छोराछोरीलाई पनि साथमै लैजाने निर्णय गर्नुभयो । केटाकेटीका लुगा एउटा झोलामा तयार गर्दैगर्दा  ऋण दिएका साहु घरमै आइपुगे । क्रण नतिरी नजानु भने । बाटो छेके । ‘तिम्रा बुढा मरेकाले भाग्न लागेको हो ?’ भन्दै वचन पनि लगाए । साहुले लगाएको त्यो वचन अहिले पनि दुख्छ कोपिलाको मनमा । त्यत्तिकै काठमाण्डौ जान नदिएपछि कोपिलाले फर्केर आउने र ऋण तिर्नेछु भन्दै साहुले बोकेको एउटा कागजमा सहिछाप गर्नुभयो । बल्ल अनि काठमाण्डौको लागि घरबाट निस्किन पाउनुभयो ।

आफनो श्रीमानको माया र सम्झनाले आँखाहरु बलेसी बनेका थिए । साथै छोराछोरीको भविष्य सम्झिँदै, उहाँ भोजपुर र धनकुटाको सीमानामा पर्ने अरुण नदीको किनार लेगुवा पुग्नुभयो । त्यहाँबाट काठमाण्डौको लागि गाडी पर्खिरहँदा त्यहाँ रोकेर राखेको एउटा गाडीमा लेखेको थियो, ‘मायाले नै पुग्ने भए मुनालाई एक्लै छाडेर किन मदन ल्यासा जान्थे ?’ पछ्यौरीले रसाएका आँखा पुछ्दै कोपिलाले भन्नुभयो, ‘गाडीमा लेखिएको त्यो कुराले आज पनि मेरो मन झसँग हुन्छ ।’

त्यसपछि रङ फुस्स उडेको धुलोमैलो गाडीमा काठमाण्डौ जान कच्ची बाटोको यात्रा सुरु भयो । बसको झ्यालबाट एकोहोरो भएर गाडीले उडाएको धुलोसँग आफूलाई तुलना गर्दै उहाँ काठमाण्डौ पुग्नुभयो । विमानस्थलमा पुगेर आफ्नो श्रीमानको शव बुझ्नुभयो । बौद्ध पराम्परा अनुसार दाहसंस्कार गर्नुभयो । 

त्यहीबेला उहाँले वैदेशिक रोजगार बोर्डबाठ क्षतिपूर्तिस्वरुप त्यतिबेलाको प्रावधानअनुसार साढे तीन लाख रुपैयाँ पाउनुभयो । साथमा श्रीमान नै नभएपछि त्यो रुपैयाँले गर्ने के ? उहाँलाई न घर फर्किन मन थियो, न त काठमाण्डौ सहरमा नै बस्ने ठेगान थियो । गाउँ जाउँ भने त्यहाँका मान्छेले काट्ने कुरा, साहुका गिद्धे नजर । सहरमै बसौँ भने छोराछोरीको पढाइको चिन्ता । केही उपाय नलागेपछि उहाँ भारी मन लिएर घर फर्किनुभयो । बोर्डबाट पाउनुभएको पैसाले साहुको ऋण तिर्नुभयो । साहुको ऋण तिरेर पनि मनमा शान्ति कहाँ थियो र ? गाउँ समाजले काट्ने कुरा । छोराछोरीको अनुहारमा छाएको अँध्यारो र आफ्नै मनमा चलेको शिरेटोले उहाँलाई सताइरह्यो । 

कृष्ण र काेपिलाका छाेराछाेरी

क्षतिपूर्ति कुर्दाकुर्दै हङकङको यात्रा

कृष्ण कुवेतको अल फर्वानिया क्षेत्रमा सेक्युरिटी एण्ड टेक्निकल सर्भिस ग्रुप मार्फत काम गर्नुहुन्थ्यो । काम गर्ने क्रममै ज्यान गएपछि कम्पनीले क्षतिपूर्ति दिनसक्छ भन्ने कुरा वैदेशिक रोजगार बोर्डमा जाँदा कोपिलाले थाहा पाउनुभएको थियो । तर मान्छे नै नरहेपछि क्षतिपूर्तिको आशा मानेर के गर्नु । कोपिलालाई पनि यस्तै लागेको थियो । त्यसैले वैदेशिक रोजगार बोर्डबाट जति मिल्यो त्यति रकम बोकेर उहाँ घर फर्किनुभयो । तर पछि उहाँलाई छोराछोरीको भविष्यको चिन्ता बढ्दै गयो । खर्च नभएर छोराछोरीलाई कसरी राम्रो शिक्षा दिन सकिन्छ भन्दै चिन्तित हुन थाल्नुभयो । एकपटक प्रयास गरौँ भन्ने लाग्यो ।

त्यसपछि उहाँ वडा कार्यलयदेखि वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड र परराष्ट्र मन्त्रालयको चक्कर काट्न लाग्नुभयो । कोपिलाका अनुसार यहाँ (परराष्ट्र)बाट भनेपछि कुवेतमा रहेको नेपाली दूतावासले कृष्णले काम गरेको कम्पनीसँग क्षतिपूर्तिको लागि माग गर्यो तर कम्पनीले दिन नमानेपछि दूतावासमार्फत् कुवेतको अदालतमा मुद्दा दर्ता भयो । कुवेतको श्रम कानुनमा उल्लेख भएअनुसारको क्षतिपूर्ति पाउनुपर्छ भनेर मुद्दा दर्ता भएको थियो । चार वर्ष बित्दा पनि उताको अदालतबाट कुनै सुनुवाइ नभएपछि कोपिलाले कम्पनीबाट क्षतिपूर्ति पाउने आशा मार्नुभएको थियो । त्यसैले अब आफैँ विदेश गएर कमाउनुपर्छ भन्ने सोच्नुभयो । खर्च माइती पक्षले बेहोर्‍याे । छोराछोरीलाई दिदीको घर संखुवासभामा छोडेर दुई वर्ष पहिले उहाँ वैदेशिक रोजगारीको लागि हङकङ जानुभयो । अहिले पनि कोपिला हङकङमै हुनुहुन्छ ।

कागजात र सामीको साथले मिल्यो क्षतिपूर्ति

कोपिला हङकङ गएको केही महिनामै सुरक्षित आप्रवासन परियोजना सामीले क्षतिपूर्तिबापतको रकम आइसकेको जानकारी गरायो उहाँलाई । यो सुनेर हङकङमा रहनुभएकी कोपिलालाई अचम्म लाग्यो । साथै खुसी पनि हुनुभयो । 

कुवेतको अदालतले मुद्दा सुनुवाइ गर्दै दुई वर्ष पहिले नै कृष्णको परिवारलाई ३१ लाख ६३ हजार नेपाली रुपैयाँ क्षतिपूर्ति दिन कम्पनीलाई निर्देशन दिएको थियो । त्यतिबेलै कुवेतको दूतावासबाट परराष्ट्र मन्त्रालय हुँदै जिल्ला प्रशासन आइपुगेको रकम सम्बन्धित व्यक्ति नआउँदा रोकिएको थियो । कोपिला विदेश जानु र क्षतिपूर्तिको पैसा नेपाल आइपुग्नु एउटै समयमा भयो । कोपिलाले यसबारे जानकारी पाउनुभएन । उहाँले थाहा पाउनसम्म उहाँ हङकङ पुगिसक्नुभएको थियो । पछि सुरक्षित आप्रवासन परियोजना सामीको माध्यमबाट जनप्रतिनिधि हुँदै उहाँले यसबारे थाहा पाउनुभयो । त्यो पैसा उहाँकै नाममा आएकोले उहाँबाहेक अरुलाई दिन नमिल्ने भएपछि कोपिलाले हङकङबाटै त्यो पैसा आफ्नो छोराछोरीले पाउने गरि मञ्जुरीनामा गर्नुभयो । त्यसपछि भोजपुरकै राष्ट्रिय वाणिज्य बैंकमा  त्यो रकम तीन जना छोराछोरीकै नाममा मुद्धती खातामा जम्मा गरियो । यति राहत मिलेपछि आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन सकिने भयो भनेर कोपिला ढुक्क हुनुहुन्छ । 

‘श्रीमान नहुँदाको पीडा त कसरी व्यक्त गर्नु । तर पनि क्षतिपूर्तिबापत आएको पैसाले छोराछाेरीलाई गुणस्तरीय शिक्षा दिन पाउँदा खुसी नै छु भन्नुपर्छ’, उहाँले हङकङबाटै फोनमा भन्नुभयो, ‘आफूसँग श्रीमानका सबै कागजात भएकाले ढिलै भए पनि क्षतिपूर्ति पाइयो ।’

(मानबहादुर कार्की सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत आप्रवासी स्रोत केन्द्र, भाेजपुरमा मनाेसामाजिक परामर्शकर्ता हुनुहुन्छ ।)

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया