सरकारले सुशासन र समृद्धिको नारामात्र दियाे, नागरिकलाई राहत दिने कुनै काम गरेको छैन : नेता सिंह

 असोज २, २०७५ मंगलबार १२:८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाएको छ ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले दसैं, तिहारजस्ता चाडपर्वको मुखैमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाउनु भएको हो । गएराति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको छ ।

नेता सिंहले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई मारमा पार्ने काम मात्रै गरिरहेको दावी गर्नु भयो । मंगलबार सर्वोच्च नेता गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसर पारेर काठमाडौंको शोभा भगवतीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीले सुशासन र समृद्धिको ठूला नारा दिए पनि नागरिकलाई राहत दिने कुनै पनि काम गर्न नसकेको दावी पनि गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली देश र जनताको नभई केही सीमित व्यक्तिहरुको ‘इन्ट्रेष्ट’ मा चलिरहेको आरोप पनि लगाउनु भयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका नेता सिंहले सरकारलाई कामै गर्न नसक्ने फिष्टेको रुपमा चित्रण गर्नुभयो । कम्युनिष्ट नेतृत्वको २ तिहाईको सरकारले कामै गर्न नजानेको नेता सिंहको दावी छ । नेता सिंहले काँग्रेसले सडकदेखि सदनसम्म जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गर्नुभयो । 

उहाँले सर्वाेच्च नेता गणेशमान सिंहले देखाएको बाटोबाटै काँग्रेस अघि बढिरहेको पनि बताउनु भयो । कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगाना, राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, नेता नवीन्द्रराज जोशीलगायतका काँग्रेस नेता, कार्यकर्ताहरुले त्यहाँस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नु भएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया