धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
लमजुङ – सेतो कोठे ‘हाफ’ कमिज । निलो पाइन्ट । खुट्टामा निलै चप्पल । हँसिलो चेहेरा । सारङ्गी भिरेका । ढल्किँदो उमेर । र पनि माया भावले भरिएको गीत सारङ्गीको धुनमा मिसाउँदै हुनुहुन्छ, लमजुङका सीताराम गन्धर्व ।
भोटेओडारकोे चिया पसलमा भेटिनुभएका गन्धर्वले ‘मयसित एकछिन भेट नहुँदा, सिरानीको खोल भिज्यो म रुँदा.......’ यही माया भावको शब्द सारङ्गीको धुनमा मिसाउँदै, गाउँदै हुनुहुन्थ्यो ।
माया, प्रेम, मिलन, बिछोडका भावका साथै गाउँघर, उकाली, ओराली, मेलापातका गीत आफ्नो सारङ्गीको धुनमा बुन्दै सीतारामले लेकबेसी, गाउँघर, सहरबजार, चोक गल्ली डुलेको पनि झन्डै ७ दशक हुन लागिसक्यो ।
सीतारामको सारङ्गी मोह !
लमजुङ राइनास नगरपालिका-८ पिपलटारी भाटगाउँका सीताराम गन्धर्वले १२ वर्षको कलिलै उमेरदेखि सारङ्गी रेट्न थाल्नुभएका हो । सारङ्गीप्रतिको उहाँको छुट्टै अनुराग छ ।
पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा पुगी आफ्नो सारङ्गीको धुन सुनाइसक्नुभएको छ, उहाँले ।
अझै पनि सारङ्गी बजाउँदै गाउँघर, सहरबजार डुलिरहनुहुन्छ । सारङ्गी बजाउँदै लमजुङसहित तनहुँ, गोरखा, कास्की, स्याङ्जा, बाग्लुङदेखि गोरखपुरसम्म पुगिसकेको उहाँ बताउनुहुन्छ ।
‘सारङ्गी बजाउँदै विभिन्न जिल्ला पुगेको छु । पश्चिमतिर झनै यसको महत्त्व गर्नुहुन्छ । सारङ्गीको धुनमा गीत सुन्न रुचाउनुहुन्छ । माया, इज्जत गर्नुहुन्छ,’ उहाँले भन्नुभयो ।
बाग्लुङमा पनि आफूले बजाएको सारङ्गीको धुन सुन्न चाहनेको जमात रहेको उहाँ बताउनुहुन्छ । ‘बाग्लुङमा पनि हामीले बजाएको सारङ्गीको धुन मन पराउनुहुन्छ । सुन्न रुचाउनुहुन्छ । बाग्लुङ्गेले निकै माया गर्नुहुन्छ । सहयोग पनि राम्रो गर्नुहुन्छ,’ उहाँले भन्नुभयो ।
त्यसो त सीतारामले प्रकाश सपूतको चर्चित गीत बोल माया गीतको भिडियोमा समेत समेत गन्धर्व दाइकै भूमिकामा अभिनय समेत गर्नुभएको छ । पहिले सञ्चारको माध्यम नहुँदाताका गन्धर्वहरुले देश, समाजका खबर, घटना, सन्देश गाउँघरसम्म पुर्याउने गरेको उहाँ बताउनुहुन्छ ।
‘पहिले खासै सञ्चारको सुविधा थिएन । रेडियो सुनेर देश, समाजका खबर टिपेर सारङ्गीको धुनमा गाउँदै गाउँघरसम्म पुर्याउने चलन थियो । गन्धर्व दाइ गाउँ पुगेपछि सारङ्गीको धुन सुन्न आउनेको भिड लाग्थ्यो,’ सीतारामले भन्नुभयो।
सारङ्गीको भरमै चलेको जीवन
तर अहिले सञ्चारको विकास भएको छ । अहिले विभिन्न ठाउँ पुग्दा धेरैले माया, प्रेमकै गीत सुन्न रुचाउने गरेको उहाँको अनुभव छ । उहाँले सारङ्गी बजाएर पाएको सहयोगले नै जीवन चलाउँदै आउनुभएको छ ।
‘बाउबाजेबाट सारङ्गी बजाउन सिकेको । अहिलेसम्म बजाइ रहेको छु । सारङ्गी बजाउँदै गाउँटोल पुग्दा सकेको सहयोग गर्नुहुन्छ । यसैको आम्दानीले जीवन चलाएको छ । यो बिना त म बाँच्नै सक्दिनँ’ बजाउँदै गरेको सारङ्गी रोकेर मुस्कुराउँदै उहाँले भन्नुभयो ।
जीवन चलाउन मात्र नभइ आफ्नो बाउबाजेको पुर्ख्याैली पेसा संरक्षणको लागि पनि आफूले सारङ्गी बजाउन नछाडेको उहाँ बताउनुहुन्छ ।
‘अब त बुढेसकाल पनि लाग्यो । बलको काम गर्न सकिन्न । यो फेरि बाउ–बाजेको पुर्ख्याैली पेसा । यसलाई जोगाउन पनि सारङ्गी बजाउन छाडेको छैन,’ उहाँले भन्नुभयो ।
सुनिँदैनन् सारङ्गीको धुन, भतभती पोल्छ सीतारामको मन
केही दशकअघि गाउँघरमा सारङ्गीको धुन गुञ्जन्थे । गन्धर्व दाइहरु सारङ्गीको धुनमा देश, समाजका खबर, सन्देश गाउँघरसम्म पुग्दै, सुनाउँदै हिँड्थे । गाउँघर, मेलापात, उकाली, ओरालीका साथै दुःख पीडा, वेदनाका भाव पनि उनीहरुका सारङ्गीका धुनमा मिश्रित हुन्थे ।
तर अहिले खासै गाउँघरमा सारङ्गीको धुन सुन्न पाइँदैन । गन्धर्व समुदायका नयाँ पुस्ताका युवाले चासो र चिन्ता नदिँदा यो पेसा पछिल्लो समय हराउँदै गएको बुढापाकाको बुझाइ छ ।
‘अहिलेका युवाले सारङ्गी बजाउनमा ध्यान दिँदैनन् । सारङ्गी बजाएर हिँड्न लाज मान्छन्,’ सीतारामले भन्नुभयो ।
‘मौलिक लोकभाका, बाजाको जगेर्ना गर्नुपर्छ’
सारङ्गी बजाउने पेसा हराउँदै गएकोमा उहाँको मन भतभती पोल्छ । जीवन निर्वाहकासाथै आफ्नो पुर्ख्याैली संस्कृति संरक्षणका लागि आफू यो उमेरमा पनि सारङ्गी बजाउँदै हिँड्ने गरेको उहाँ बताउनुहुन्छ । ‘हाम्रा मौलिक, लोकभाका, बाजा, संस्कृतिलाई जोगाउनुपर्छ’ उहाँले भन्नुभयो ।
लगत्तै सीताराम गन्धर्वले अर्को गीत पनि सुनाइहाल्नुभयो,
जति मैले फेरे नि वर्ण
सुखी ज्यानको सकिन मन पर्न
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।