धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - प्रसूतिगृहमा जँचाउन जान लाग्नु भएकी धादिङकी निर्मला पाठक थापाथलीमा बाटो काट्दै हुनुहुन्छ । डाक्टरले दिएको समयभन्दा केही ढिलो होला भनेर उहाँ हतारिनु भएको छ । तर, तारन्तार आइरहेका गाडीले उहाँ बाटो काट्न सकिरहनु भएको छैन ।
‘हतार भएर बत्ती बल्छ कि भनेर हेरेको पिलिक पिलक गरेको मात्र देखिन्छ । अब ट्राफिकले कहिले रोक्ने हो र बाटो काट्नु’ गाडी कुन बेला रोकिन्छ भनेर हेर्दै गरेकी पाठकले भन्नुभयो ।
थापाथली चोकमा राखिएको ट्राफिक लाइट प्रायः पिलिक पिलिक मात्रै गरिरहन्छ । थापाथलीको जाममा रोकिएका ट्याक्सी ड्राइभर रोशन तामाङ भन्नुहुन्छ, ‘धेरै बेर भयो जाममा बसेको । अन्त त बत्ती बलेको देखिन्छ । यहाँ त ट्राफिकले हात हल्लाएर यता आउ र उता जाउ भन्छन् । खोइ के गरेको हो ।’
थापाथलीमा कुपण्डोलबाट सिंहदरबार, त्रिपुरेश्वरबाट माइतीघर, प्रसूतिगृह, कुपण्डोल जाने तथा थापाथलीबाट कुपण्डोलतर्फ जाने गाडीको चाप धेरै रहने गर्छ । यस्तोमा ट्राफिक बत्तीले गाडी नियन्त्रण नगरि ट्राफिकले नियन्त्रण गर्दा कुनै लेनको गाडी छिटो र कुनै लेनको ढिलो छुट्ने गर्छ ।
गाडीको चाप एकै नहुने, विद्युत् आपूर्ति अवरुद्ध हुने अनि बेलाबेला बिग्रने कारणले बत्ती बाल्न नसकिएको बताउनुहुन्छ, ट्राफिक प्रहरीका प्रवक्ता सञ्जीव शर्मा । उहाँ भन्नुहुन्छ ‘ट्राफिक बत्ती ट्राफिकले राख्दैन, त्यसैले हामीले बले बाल्दिने हो । नबल्ने भएर नै ट्राफिक राख्नुपरेको हो ।’
काठमाण्डौ उपत्यकाको ट्राफिक बत्ती जडान तथा मर्मत सम्भारको काम सडक विभागले गर्छ । काठमाण्डौ उपत्यकाका थापाथली, सिंहदरबार, महाराजगञ्ज, बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, दरबारमार्गलगायत २४ वटा चोकमा विभागले ट्राफिक बत्ती जडान गरेको छ ।
सडक विभागका सडक सुरक्षा तथा ट्राफिक युनिट प्रमुख बेलबहादुर भुजेल भन्नुहुन्छ, ‘हामीले जडान गरेका २४ वटा चोक छन् । त्यसको मर्मत तथा सफ्टवेयरमा समस्या आयो भने हामीले हेर्छौँ ।’
काठमाण्डौका व्यस्त चोकहरु थापाथली, त्रिपुरेश्वर, सिंहदरबार, बानेश्वरलगायतका ठाउँमा ट्राफिक बत्ती भए पनि ट्राफिक प्रहरी नै उभिएर हात हल्लाइरहेको देखिन्छ । ट्राफिक प्रहरी पनि बत्ती पनि किन त भन्ने जिज्ञासामा प्रवक्ता शर्मा भन्नुहुन्छ, ‘हामी कस्तो देशको नागरिक हो भने ट्राफिक बत्तीको मुनि ट्राफिक बस्छ । संसारमा कहीँ पनि बस्दैन । कहिले बत्ती गएको हुन्छ । कहिले बिग्रिएको हुन्छ । अनि हामीले बाध्य भएर ट्राफिक राखेर नियन्त्रण गर्नुपर्छ ।’
थापाथलीमा लामो समयदेखि ट्राफिक बत्ती नबले पनि सडक विभागका भुजेल भने ट्राफिक बत्तीमा कहीँ पनि समस्या नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बानेश्वर, त्रिपुरेश्वर, थापाथलीलगायतका कुनै पनि भीआईपी एरियामा समस्या छैन । हामीले ट्राफिक प्रहरीलाई अनुरोध गरेका छौँ । सकेसम्म यसलाई नियमित गरौँ । ट्राफिक सिग्नलहरु बलोस् र नागरिहरु पनि त्यही अनुरुप हिँड्न पाउन भन्ने हाम्रो पनि चाहना छ ।’
महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाण्डौका उपत्यका ट्राफिक अपरेशन इञ्चार्ज सन्तोष रोका भन्नुहुन्छ, ‘कार्यालय समयमा ६० प्रतिशत गाडी ललितपुरबाट छिर्छ भने ५० प्रतिशत त्रिपुरेश्वरबाट । त्यसको तुलनामा माइतीघरबाट कुपण्डोल जाने झन्डै ४० प्रतिशत हुन्छ । त्यसैले मिलाउन गाह्रो छ ।’
बानेश्वर, पुतलीसडक लगायत ठाउँको ट्राफिक बत्ती भने प्रायः बलिरहन्छ । यी ठाउँका ट्राफिक बत्तीमा पैदल यात्रु तथा गाडीले रोकिनुपर्ने समय पनि देखाउँछ । जसले गर्दा कुर्नुपर्ने मानिसलाई यति समय कुुर्नुपर्छ भनेर सजिलो बनाउने गरेको छ ।
बानेश्वरमा बाटो काट्दै गर्नु भएकी बिनु पाण्डे भन्नुहुन्छ, ‘जति हतार भए पनि त्यहाँ समय नभइ बाटो काट्न पाइने होइन । तर, यसले बाटो काट्ने मान्छे सुरक्षित भएका छन् । नत्र त यहाँ जेब्रा क्रसमा दुर्घटना भएर मान्छे मरेका पनि छन् ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।