निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार : कानुनमन्त्री शर्मा

 साउन २४, २०७९ मंगलबार १३:२०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचन सम्बन्धी कानुनको संशोधनका लागि सरकार तयार रहेको बताउनुभएको हो । उहाँले त्यस सन्दर्भमा निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताउनु भयो । उहाँले लैंगिक समानता र समावेशिताको प्रतिकूल रहेको नेपालका कानुनहरुमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको उल्लेख गर्दै निर्वाचनको प्रयोजनको सन्दर्भमा लैंगिक समानता र समावेशिताको अनुकूल नै कानुन परिमार्जन गर्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

‘निर्वाचन सम्बन्धी केही कानुनको गृहकार्य जारी छ । निर्वाचन आयोगले पनि त्यसमा काम गरिरहेको छ' उहाँले भन्नुभयो , 'लैंगिक समानता र समावेशिताको प्रतिकुल रहेको नेपालका कानुनहरुमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको, परिमार्जन गर्दै आएको र अहिले पनि परिमार्जन, संशोधन र पुनरावलोकन गर्ने काम जारी रहेको कारणले गर्दा आवश्यक कानुनमा परिमार्जन गर्दै जाने नेपाल सरकारको नीति रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।’

मन्त्री शर्माले नेपालको कानुनले समावेशीकरण र समानताको कुरालाई अंगिकार गरेकाले कानुनी व्यवस्थालाई लागू गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले महिलाहरुलाई समान रुपमा प्रतिनिधित्व गराउनका लागि दलीय संरचनाभित्र सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । उहाँले सन् २०३० सम्म संघीय संसदमा महिलाहरुको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र पालिकामा ४२ प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो । सरकारको लक्ष्य अनुरुप राजनीतिक दलहरु पनि प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया