मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद नरहेको सुनिश्चितता गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

 भदौ ५, २०७९ आइतबार ११:५:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मनोनयन दर्ता गर्नुभन्दा पहिले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आज बिहान पत्रकारहरुसँगको अन्तरक्रियामा उहाँले असोज २ गते मनोनयन दर्ता हुने भएकाले त्यसको अघिल्लो दिनसम्म उम्मेदवारले सांसद पदमा नरहेको सुनिश्चितता गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले चुनावको लागि आयोगले आचारसंहिता बनाउने काम थालेको जानकारी पनि दिनुभयो ।

पालिका चुनावको बेला आचारसंहिता कार्यान्वयनको अवस्थाको मूल्याङ्कन गर्दै दलहरूको सुझावको आधारमा आचारसंहिता बनाउने उहाँले बताउनुभयो । थपलियाले यसअघि पालिका चुनावमा केही पत्रकारले नै आचारसंहिता उल्लङ्घन गरेको देखिएकाले यसमा सचेत हुन पनि आग्रह गर्नुभयो ।

‘जुन मिडियाले आचारसंहिता पालना गर्नुपर्छ भनेर लेख्थ्यो उसैले बढी आचारसंहिता उल्लङ्घन गरेको पनि पाइयो । आचारसंहिता पालना गर्न र गराउन सञ्चार माध्यमको ठूलो भूमिका हुन्छ’ थपलियाले भन्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावका लागि सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको बताउनुभयो । उहाँले अबको चुनावमा कुनै पनि मतदान केन्द्रमा दोहोरिएर मतदान नहुने गरी सुरक्षा व्यवस्था बलियो बनाउन सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो । जहाँ घटना हुन्छ, त्यहीँ कारबाही गर्न सरकारसँग आग्रह गरिएको उहाँको भनाइ छ । 

पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा थपलियाले चुनावमा सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगलाई रोक्न नसकिए पनि त्यसको नकारात्मक पक्षमा भने ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

‘चुनावमा सामाजिक सञ्जाललाई नाइँ पनि भन्न नसकिने रहेछ, हाई पनि भन्न मनले नमान्दो रहेछ’ उहाँको टिप्पणी थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया