एमाले अध्यक्ष ओलीसँग राजदूतहरूकाे भेट

 भदौ ८, २०७९ बुधबार २०:२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतका राजदूतसहित अस्ट्रेलिया, स्विट्जरल्यान्ड र युरोपेली सङ्घका निमित्त राजदूतहरूले आज एमाले पार्टी कार्यालय च्यासलमा सामूहिक भेट गरेका छन् । 

भेटमा राजदूतहरूले नेपाल सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न लागेको सन्दर्भमा प्रमुख विपक्षीको भूमिकाका विषयमा जिज्ञासा राखेका थिए । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा अन्तर्राष्ट्रियस्तर र मान्यतामा ध्यान पुर्‍याउनुपर्छ भन्ने उनीहरूको चासो रहेको थियो । नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धताअनुसार पीडितको आवाज सम्बोधनको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि एमालेको प्रभावकारी र महत्त्वपूर्ण भूमिका रहोस् भन्ने राजदूतहरूकाे भनाइ थियो ।

भेटमा अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसद्को सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताउनुभयो । अध्यक्ष ओलीले यस्ता महत्त्वपूर्ण विधेयकहरू छोटो प्रक्रियाबाट अगाडि बढाउनु न्यायोचित नहुने स्पष्ट गर्नुभयो ।

यो समस्या गठबन्धन सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभइ देशकै समस्या भएकाले बहुमत–अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्ग्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले स्पष्ट गर्नुभयो ।

भेटवार्तामा अध्यक्ष ओलीसँगै रहनुभएका पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले यस विषयमा सर्वोच्च अदालतले के फैसला गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्नेलगायत विषय राख्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूत र्‍यान्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटलगायतले गर्नुभएको भेटवार्तामा उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा. अञ्जान शाक्य सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया