‘सिट बाँडफाँटमा गठबन्धनभित्र असहमति छैन, म चितवनको क्षेत्र नम्बर ३ बाट लड्दैछु’ – प्रचण्ड

 भदौ १७, २०७९ शुक्रबार ११:४२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिट बाँडफाँटको विषयलाई लएर गठबन्धन भित्र कुनै असहमति नरहेको दाबी गर्नुभएको छ ।

शुक्रवार नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनमा सिट संख्याको बारेमा लगभग टुंगिसकेको र एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम शुरु भएकोले समय लागेको बताउनु भयो । उहाँले शनिवार बस्ने गबन्धनको बैठकबाट प्रदेश र संघको चुनावमा क्षेत्र पनि तोक्ने बताउनु भयो ।

अध्यक्ष दाहालले गठबन्धनलाई अझ प्रभावकारी कसरी बनाउने भन्नेतिर छलफल केन्द्रित रहेको बताउनुभयो । उहाँले प्रदेश र संघको चुनावमा गठबन्धनका सबै दलको सन्तुलन मिलाउने गरी छलफल भइरहेको बताउनु भयो ।

‘गठबन्धनमा हामी सिट संख्या करिब सहमतिको नजिक पुर्‍याएर एकै पटक प्रदेश र क्षेत्र पनि टुंग्याउने गरी काम गरिँदैछ । आज दिनभरको काम सकिएपछि भोलि बैठक बसेर हामीले क्षेत्र, प्रदेशसमेत सबै कुरालाई समग्रमा टुंग्याउने भनेर हामी हिजो उठेका छौँ । चुनावका लागि हामी भेला, सामान्य बैठक गरेर अघि बढेका छौँ ' उहाँले भन्नुभयो, 'हिजो हामी सहमतिको निकट पुगेका छौँ । गठबन्धन भित्र असहमतिको कुनै स्थिति छैन । हामीले अहिले एउटा के मान्यता बनाउन प्रयास गरिरहेका छौँ भने संघको एउटाले लियो भने अर्कोलाई प्रदेशको गरेर भोट ट्रान्सफर हुने वातावरण बनाउने भन्ने छ । त्यसो गर्दा १६५ वटा नै निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश जुन छन्, तिनको मिलाउँदा सन्तुलन मिलाएर जाने भन्ने हो । उस्तै परे हाम्रो प्रभाव भएका सबै हामीले एक्लै जित्ने ठाउँमा पनि अन्य पार्टीलाई प्रदेशमा समायोजन गरेर लैजाने तिर नै हाम्रो जोड छ ।’

यस्तै, अध्यक्ष दाहालले चितवन क्षेत्र नम्बर ३ बाट आफ्नो उम्मेदवारी रहने दाबी गर्नुभयो । नेकपा एमालको उपाध्यक्ष रामबहादुर थापासँग प्रतिष्पर्धा हुने हो भन्ने पत्रकारको प्रश्नमा उहाँले तुलना नहुने कुरा नसोध्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘चुनाव म चितवनको क्षेत्र नम्बर ३ बाट लड्दैछु । तुलना नहुने कुरा पत्रकार साथीहरुले नसोध्दा राम्रो ।’

अध्यक्ष दाहालले कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) को राम्रो प्रभाव रहेको भन्दै सन्तुलित ढंगको तालमेल गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले माओवादीले आगामी दिनमा कर्णालीमा सरकार बनाउने स्थिति र गठबन्धनलाई जारी राख्ने स्थिति कायम गर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले विगतमा गरेका कामको आत्मसमीक्षा नगरेसम्म नेकपा एमालेसँग सहकार्य नहुने पनि दाबी गर्नुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया