दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी

 असोज ५, २०७९ बुधबार १७:५१:३१ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वन तथा वातावरण मन्त्रालयले हिजाे मङ्गलवारदेखि मुस्ताङमा आयोजना गरेको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले आज बुधवार दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी गरेको छ ।

सम्मेलनले नेपाल सरकारबाट प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय समुदाय तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारसँगको समन्वयमा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ को सन्दर्भमा २०७९ असोज ४ र ५ गने मुस्ताङमा आयोजित दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलनले घोषणापत्र जारी गरेको छ । सम्मेलनले दिगो पर्वतीय विकासका लागि जलवायु परिवर्तन, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता, पर्वतीय महिला, पर्वतीय संस्कृति र पर्वत–समथर अन्तरसम्बन्धलाई अलग अलग र एकीकृतरूपमा सम्बोधन गर्दै आफ्ना नीति, कार्यक्रम, बजेट तथा अभ्यासमा आन्तरिकीकरण गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई अपिल गरेको छ ।

यसैगरी संसारको सबैभन्दा अग्लो पर्वत शृङ्खला भएको देशकाे नाताले त्यस्ता देशसँग हातेमालो गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पर्वतीय देशका सवाल र समाधानका उपायलाई अन्तर्राष्ट्रीयकरण गर्न सरकारलाई याे सम्मेलनले अनुरोधसमेत गरेको छ । पर्वतीय विषयलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समन्वय, साझेदारी र सहकार्यसमेत आवश्यक पर्ने हुँदा हिन्दूकुश पर्वतीय क्षेत्रका देशबीचमा मन्त्रीस्तरीय क्षेत्रीय परिषद् गठनका लागि पहल गर्न हिन्दूकुश हिमाली क्षेत्रका देशलाई सम्मेलनले आह्वान गरेको छ ।

यसैगरी सम्मेलनले वर्ष २०२२ लाई अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्षका रूपमा घोषणा गरी पर्वतीय विषयलाई विशेष महत्त्व दिएकामा संयुक्त राष्ट्र सङ्घप्रति आभार व्यक्त गरेको मन्त्रालयका जलवायु महाशाखा प्रमुख बुद्धिसागर पौडेलले जानकारी दिनुभयो । यसैगरी नेपालले मनाइरहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास वर्ष समारोहको उद्घाटनमा भौतिकरूपमा उपस्थित रही साथै मुस्ताङ पैरवी सम्मेलनमा भर्चुअलरूपमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विशेष धन्यवाद दिएको छ । नेपालले मनाइरहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास वर्ष समारोहको अन्तरसंवाद कार्यक्रममा प्रमुख अतिथि भइ सम्बोधन गर्नुभएकोमा सङ्घीय संसद् प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई धन्यवाद दिएको छ ।

नेपालजस्ता पर्वतीय देशका लागि दिगो विकास लक्ष्य हासिल गर्न पर्वतीय मुद्दालाई विशेषरूपमा सम्बोधन गर्नुपर्ने सम्मेलनले आवश्यकता महसुस गरेको छ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया