भक्तपुरमा धानको बिस्कुन : किसानलाई लक्ष्मीपूजा अगाडि नै भित्र्याउने चटारो

 कात्तिक ४, २०७९ शुक्रबार १०:१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भक्तपुर भेलुखेलमा तिहार अगाडि नै धान भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरु यतिबेला धान भित्र्याउन लागिपरेका हुन् । उनीहरुको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ ।

भक्तपुरको भेलुखेल टोलका झण्डै पचास घर परिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । खेतका गह्रालाई आलीले छुट्याएजस्तै स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य देख्न सकिन्छ ।

भेलुखेलमा खाली चोक तथा आँगन धानले भरिएका छन् । सडक किनारमा सुकाइरहेको धान घुम्न आउने पर्यटकले समेत नियालेर हेर्ने गरेका छन् । धानको धुलोको बेवास्ता गर्दे पर्यटकहरु किसानको जीवनशैलीमा रमाउने गरेका छन् ।

स्थानीयहरु मिलेर धान सुकाउने र उठाउने गर्छन् । भेलुखेलमा मात्र होइन भक्तपुरका अरु ठाउँमा पनि यसैगरी धान सुकाएको देखिन्छ । चरा, कुखुराबाट जोगाउन उनीहरु धान सुकाएको ठाउँमा कुरेर बस्छन् ।

धान सुकाउन आउनुभएकी स्थानीय रामलक्ष्मी तिमानायले समयमै मल नआउँदा यस वर्ष गएका वर्षको तुलनामा धान कम फलेको बताउनुभयो ।

अन्त घाम कम लाग्ने भएकाले किराबाट धान जोगाउन घाममा सुकाउनु परेको उहाँ बताउनुहुन्छ ।

सबै मिलेर धान सुकाउने गरेको स्थानीय हरिप्रसाद महोलाले बताउनुभयो । समयमा नै बीउ र मल नआइपुग्दा विगतको तुलनामा यसवर्ष धान धेरै फल्न नसकेको उहाँको पनि गुनासो छ ।

पहिला धान चोरी हुने डरले किसानहरु धान सुकाएकै ठाउँमा सुत्थे । अहिले भने सुकाएकै ठाउँमा धानलाई त्रिपालले छोपेर छोड्ने गरिएको छ । 

राम्रोसँग नसुकाइ भण्डारण गर्दा धानमा ढुसी र घुनपुत्लालगायत किरा लाग्ने, सड्ने र बिग्रने कृषि विज्ञ बताउँछन् ।

धानलाई राम्रोसँग दुई तीन घाम सुकाउन राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका वैज्ञानिक सुशील सुवेदीको सुझाव छ । 

https://ujyaaloonline.com/story/77234/2022/10/19/good-storage-of-paddy-damage-can-be-reducedhttps://ujyaaloonline.com/story/77234/2022/10/19/good-storage-of-paddy-damage-can-be-reduced


 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया