देशभित्र खपत र निर्यात बढाउन विद्युतीय पूर्वाधार विस्तार गर्दै विद्युत् प्राधिकरण

 कात्तिक १४, २०७९ सोमबार १३:३५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बङ्लादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्नेछ ।

विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने  भएकाे छ । साथै, भारत र बङ्लादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गरिने छ ।

प्राधिकरणले देशमा उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । सञ्चालनमा रहेका पूर्वाधारहरुको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिवार र आइतवार विद्युत् खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको छ ।

टोलीले भारतको पश्चिम बङ्गाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना, बङ्लादेशतर्फ विद्युत् निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त ठाउँ लगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको छ । टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र अहिले सञ्चालनमा रहेका विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती विस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँहरुलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताउनुभयो ।

‘दीर्घकालीन रुपमा भारत र बङ्लादेशतर्फ विद्युत् निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किशनगञ्ज बिन्दुहरु नजिक पर्ने देखिएको छ, त्यसैले ४०० केभीको इनरुवा सबस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै ४०० केभी प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा ४०० केभी सबस्टेसन बनाएर प्रसारण सञ्जाल विस्तार गर्नुपर्ने देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘यो लाइन अत्यावश्यक छ, यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय भएर खपत बढ्ने छ भने भारत र बङ्लादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुने छ।’

घिसिङ नेतृत्वको टोलीले पावर ग्रिड भारतको पश्चिम बङ्गालकाे सिलिगुढी मा रहेकाे ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत् आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भुटानको ताला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ ।  

प्राधिकरणको खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरुलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ । दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचान गर्ने र आन्तरिक रुपमा खपत गरी बढी भएको विद्युत् निर्यातका लागि ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण गरिने छ ।

प्राधिकरणको उच्चस्तरीय टोलीले झापाको ग्वालडुब्बा, मोरङको केरौन, सुनसरीको इनरुवा तथा कुशहामा निर्माणाधीन सबस्टेसनहरुको निर्माण प्रगतिका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेको थियो । टोलीले सबस्टेसनहरु भरपर्दो र विश्वसनीय विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण भएकोले जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरेको थियो।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया