चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै केएमसीमा धर्ना

 कात्तिक १९, २०७९ शनिबार १३:१९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै विगत केही दिनदेखि काठमाण्डौ मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ ।

काठमाण्डाै महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा ज्यान गएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । मृतककी श्रीमती सुशिला विद्याधरसहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन गरेको हो । त्यस क्रममा उनीहरुले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’, ‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’, लगायतका नारा लगाएका थिए ।

डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको ज्यान गएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेको छ । यता अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताउनु भयो । उहाँले बिरामीको मृत्यु भएको २१ दिन पुगिसक्दासमेत अस्पतालले कुनै चासो नदिएको बताउनु भयो ।

उहाँले आज पनि अस्पतालले पीडितका मागहरु सम्बोधन नगरेमा आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिनुभयो । उहाँले ज्यान गएको २१ दिनसम्म परिवारलाई क्षतिपूर्ति दिने कुरा नै नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

मृतकका परिवारले डा. अमृत थापाको नेतृत्वमा रहेको काठमाण्डाै मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लापरबाही गरेर बिरामीको ज्यान गएको बताए । संघर्ष समितिका सदस्यहरुले सरकार पीडितलाई न्याय दे, मेडिकल माफिया मुर्दावाद, हाम्रो माग पूरा गर, केएमसी प्रशासन मुर्दावाद, लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन जस्ता नारा लगाएर विरोध गरेका थिए । 


 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया