सुनवल सबस्टेसनकाे निर्माणकार्य अन्तिम चरणमा

 कात्तिक २१, २०७९ सोमबार ११:५२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सञ्चालनमा रहेका र आउँदाे दिनमा खुल्ने उद्योगहरुलाई पर्याप्त,  भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–७ मा निर्माणाधीन सबस्टेसनको निर्माण एक महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेर काम भइरहेको छ । सबस्टेसनका उपकरणहरु जडान धमाधम भइरहेको छ । १३२/३३/११ केभी सबस्टेसनमा ६३ एमभीएका दुई वटा, २२ दशमलव ५ एमभीएको एक वटा पावर ट्रान्सफर्मरहरु रहने छन् ।

सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ३३ केभीका ७ वटा र ११ केभीका ४ वटा फिडरहरु निकालिने छन् । अहिले सञ्चालनमा रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन सुनवल सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट)  छ । यही १३२ केभी लाइनबाट सुनवल सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ ।    

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, लुम्बिनी प्रादेशिक कार्यालयका निर्देशक नवराज ओझालगायतको उच्चस्तरीय टोलीले सबस्टेसन निर्माण प्रगतिको स्थलगत अनुगमन गरी एक महिनाभित्र सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।

टोलीले परासी र भैरहवा क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरण लाइनका आयोजनाहरुको प्रगति, आउँदाे दिनमा नवलपरासी र रुपन्देहीको दक्षिण भेगमा हुने बस्ती तथा औद्योगिक क्षेत्र विस्तारका लागि आवश्यक पर्ने विद्युतीय पूर्वाधारलगायतका विषयमा जानकारी लिएको छ ।

‘परासी क्षेत्रका सिमन्ट, स्टिललगायतका ठूला उद्योगहरुलाई विद्युत् आपूर्तिका लागि सुनवल सबस्टेसन मेरुदण्ड हो, अहिले बुटवल सबस्टेसनबाट लामो र कम क्षमताको ३३ केभी प्रसारणमार्फत आपूर्ति दिँदा पर्याप्त विद्युत् नपाएको, भोल्टेजको समस्या भएको जस्ता गुनासो उद्योगीहरुबाट आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

‘सुनवल सबस्टेसनलाई सञ्चालनमा ल्याएर यहीँबाट विद्युत् आपूर्ति दिन थालेपछि सबै समस्या हट्छ, परासी बजार क्षेत्रलाई पनि सुनवल सबस्टेसनबाटै विद्युत् आपूर्ति दिन सकिन्छ यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ भने प्राविधिक चुहावट पनि घट्ने छ ।’

औद्योगिक करिडोरमा विद्युत् आपूर्तिको व्यवस्थापनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् प्राप्त भएको बजेटमा सुनवल सबस्टेसन निर्माण गरिएको हो ।

प्राधिकरणले परासी र रुपन्देहीको भैरहवा औद्योगिक करिडोरमा विद्युतको बढ्दो मागलाई सम्बोधन गर्न, प्रसारण क्षमता वृद्धि गर्न, प्राविधिक चुहावट घटाउन, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि सुनवल (भुमही)–हकुई १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अगाडि बढेको छ ।

नवलपरासीको सुनवल नगरपालिका–१३ मा निर्माण २२०/१३२ केभी नयाँ बुटवल सबस्टेसन निर्माण गरिएको छ । यही सबस्टेसनबाट भारतको गोरखपुरसम्म ४०० केभीको प्रसारण लाइन बन्दै छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बाट प्राप्त हुने अनुदान रकमबाट नयाँ बुटवलमा ४०० केभीको सबस्टेसन निर्माण गरिने छ ।  

प्राधिकरणले नयाँ बुटवल –बर्दघाट २२० केभी २१ किलोमिटर प्रसारण लाइन निर्माण गरिरहेको छ । वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको स्वीकृतिमा भइरहेको ढिलाइले लामो समयदेखि प्रसारण लाइन निर्माण प्रभावित भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

उहाँले नवलपरासी, रुपन्देहीको दक्षिणी क्षेत्रमा आउँदाे दिनमा हुने विद्युत् मागलाई सम्बोधन गर्न दीर्घकालीन योजना अन्तर्गत हुलाकी राजमार्गको आसपासबाट नयाँ बुटवल सबस्टेसनबाट कपिलवस्तुको मोतीपुर सबस्टेसनसम्म २२० केभी प्रसारण लाइन निर्माण गरिने बताउनुभयो ।  

बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

नेपाल विद्युत् प्राधिकरणले योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न गरी विद्युत् दिन थालेपछि भैरहवा क्षेत्रमा विद्युत् आपूर्तिमा सुधार आएको छ ।

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता वृद्धि र प्राविधिक चुहावट नियन्त्रणका प्रसारण लाइन र मैनहियामा १३२ केभी सबस्टेसन निर्माण गरी विद्युत् आपूर्ति दिइरहेको छ ।  मैनहिया सबस्टेसनबाट भैरहवा क्षेत्रको विद्युत् दिन थालेपछि त्यस क्षेत्रको भोल्टेज सुधार भएपछि उद्योगीहरुबाट गुनासो आउन छाडेको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो ।

स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिएको छ । विद्युतको भोल्टेजको सुधारका लागि २ वटा क्यापासिटर बैंक राखिएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशमा रहेकाे सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

भारतर्फको सबस्टेसनमा केही काम बाँकी रहेकाले प्रसारण लाइन सञ्चालनमा आएको छैन । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेको छ । मैनहिया–सम्पत्तिया प्रसारण लाइनले नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउने छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया