काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – गाउँमा बिजुली थिएन । कुटानी–पिसानीका लागि मिल थिएनन् । अन्न पिस्ने माध्यम नै ढिकी, जाँतो थियो । धान निफनेर निद्राको बेवास्ता गरी रातभरि ढिकीमा धान कुटेको दुःखदायी पल आज पनि स्मरण गर्नुहुन्छ, लमजुङ दोर्दी गाउँपालिका–२, अर्चलबोटकी ज्येष्ठ नागरिक मायादेवी मरेटा ।
‘बत्ती थिएन । मिल थिएन । १० पाथी धान एकै रातमा ढिकीमा कुटिन्थ्यो । रातभर धान कुटेर उज्यालो भएपछि घाँस काट्न गई, घर आइ खाना पकाएर दिउँसो मेलापात गइन्थ्यो । सारै दुःखको थियो त्यो बेला,’ उहाँले विगत सम्झिनुभयो ।
केही दशक अघि गाउँका प्राय: सबै घरमा ढिकी, जाँतो हुन्थे । अन्न पिसानीका लागि ढिकी, जाँतो चल्थे । ढिकी जाँतोको आवाज सुनिन्थ्यो गाउँघरमा । तर आजकाल त्यो चलन हराइ नै सकेको छ ।
‘अहिलेका मान्छे खासै दुःख गर्न चाहदैँनन् । ढिकी जाँतोको चलन त हराइसक्यो नि’, मायादेवीले भन्नुभयो । तर आफूले अझै पनि घरमा ढिकी, जाँतो राखेको भन्दै उहाँ भन्नुहुन्छ, ‘झरी बादल लागेको बेला, बिजुली नभएका बेला थोरथोरै अन्न त ढिकी जाँतोकै पिस्न सकिन्छ । त्यसैले अहिले पनि घरमा ढिकी, जाँतो राखेको छु ।’
उहाँका अनुसार ढिकीमा कुटेको चामलको भातको स्वाद निकै मिठो हुन्छ । ढिकी, जाँतोमा अन्न पिस्न सके पैसा पनि जोगिन्छ । स्वस्थकर र स्वादिलो खाना पनि पाइन्छ । उहाँ भन्नुहुन्छ, ‘तर अहिलेका मान्छेलाई सुविधा चाहिएको छ । दुःख कस्ले गर्ने ?’
यस्तै पहिले कुटानी–पिसानीका लागि ढिकी, जाँतोकै भर पर्नुपर्दा दुःख धेरै हुने अनुभूति सुनाउनुहुन्छ, लमजुङ भोटेओडारकै ७९ वर्षीया शिवदेवी पण्डित ।
उहाँका अनुसार विगतमा गाउँमा धेरै अन्न पिस्ने बेला गाउँ, छिमेकीको साथ माग्ने चलन थियो । चाडपर्व, विहे, पूजाआजाका बेला अन्न कुटानी–पिसानीका लागि ‘पर्मा’ लगाउने चलन थियो ।
दुःख भएता पनि यसले एकआपसमा आपसी सहयोग र सद्भाव बढाउँथ्यो । विद्युतीय मिलमा भन्दा ढिकी, जाँतोमा पिसेको अन्नको स्वादको परिकार स्वस्थकर र स्वादिलो हुन्थ्यो ।
‘मिलमा कुटेको अन्नको भन्दा त ढिकी जाँतोमा पिसेको अन्नको स्वादमा धेरै फरक छ । ढिकी जाँतोमै पिसेको अन्नको स्वाद मिठो नि,’ उहाँले थप्नुभयो ।
अहिले गाउँगाउँमा बिजुलीको पहुँच पुगेसँगै परम्परागत ढिकी, जाँतोको चलन गाउँघरबाटै हराउँदै गएको उहाँको ठम्याइ छ ।
सानै उमेरमा अन्न पिस्नका लागि पानी घट्ट गएको याद अझै ताजा छ, लमजुङ दोर्दी ढोकेबेसीका गोविन्द नेपालीलाई पनि । विगतमा धान घरकै ढिकी, जाँतोमा पिसे पनि गहुँ, मकै र कोदो पिस्नका लागि घण्टौको बाटो धाएर बेलघारी, डुम्रीश्वाँरासम्म पुगेको उहाँ बताउनुहुन्छ ।
‘धेरै दुःख हुन्थ्यो । अन्न पिस्न घण्टौँको बाटो धाउनुपथ्र्यो । अहिले गाउँगाउँमा बिजुलीबाट चल्ने मिल छन् । अहिले सजिलो त भएको छ । तर स्वादिलो खाना पाइएको छैन,’ ४७ वर्षका गोविन्दले भन्नुभयो ।
पुरानाे पुस्तासँग ढिकीजाँचाेबारे अनुभव छ । तर कतिपय नयाँ पुस्तालाई भने ढिकी जाँतोको प्रयोग र महत्वबारे थाहै छैन । आफूले ढिकी जाँतो देखे पनि ढिकी जाँतोमा कुटानी पिसानी नगरेको लमजुङ अर्चलबोटकी १९ वर्षीया प्रमिला रेग्मीले बताउनुभयो । यस्तै, सुन्दरबजार नगरपालिका–८ रामादीका १९ वर्षकी सपना थापाले जाँतोमा कहिलेकाहीँ दाल पिसे पनि ढिकीमा भने धान कुटेको अनुभव नभएकोे बताउनुभयो ।
सुख–सुविधा खोज्ने भएकाले गाउँघरका उर्वरभूमि बाँझै रहेको, खेतीपाती गर्न छाडिएको बजारमा चामल किनेर खाने प्रवृत्ति बढ्दै गएकाले पनि पछिल्लो समय ढिकी, जाँतोको प्रयोग घट्दै गएको स्थानीय बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।