ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाडौं – रोटेपिङमा फनफनी घुम्दा पिङ घुमाउने मान्छेको मनसँग त्यसैगरी आफ्नो मन बेरिएला भन्ने ईश्वरी केसीलाई कहिल्यै लागेको थिएन ।
तर भन्छन् नि भगवानले आफ्नो मान्छे पहिल्यै जुराइसकेका हुन्छन्, बेला आएपछि र संयोग मिलेपछि पहिले जुरेको त्यही मान्छेसँग भेट हुन्छ, अनि मन मिलाएर जिन्दगीको यात्रा अघि बढ्छ । यस्तै भयो गाउँमा रोटेपिङ खेल्न गएकी लमजुङकी ईश्वरी केसीलाई पनि ।
कुरा १२ वर्षअघि २०६३ सालतिरको हो । लोकतन्त्र स्थापना भएसँगै गाउँठाउँमा मेला महोत्सवको चहलपहल बढ्न थाल्यो । लमजुङमा पनि उद्योग वाणिज्य महासंघले महोत्सव आयोजना गरेको थियो । महोत्सवमा पिङ राख्न इटहरीका मन्तोष पाललाई खबर पुग्यो । पिङका सरसामान र जडान गर्ने मान्छे सहित मन्तोष इटहरीबाट लमजुङ पुग्नुभयो । ईश्वरी त्यहीँको एउटा निजी स्कुलमा पढाउनुहुन्थ्यो ।
गाउँमा महोत्सव सुरु भएपछि स्कुलले पनि विद्यार्थीलाई अवलोकनको लागि लैजाने भयो । ईश्वरी विद्यार्थी लिएर महोत्सव पुग्नुभयो । विद्यार्थीले रोटे पिङ खेल्ने भने ।
विद्यार्थीसँगै ईश्वरीले पनि रोटे पिङ खेल्नुभयो । पिङमा घुम्दै गर्दा उहाँका आँखा पिङ खेलाउने मन्तोषसँग टक्क रोकिए । ईश्वरीको एकोहोरो हेराईले मन्तोषको मनमा हलचल ल्यायो । पिङ फनफनी घुम्दै गर्दा दुवैका मन आपसमा बेरिन थाले । यो आँखाले त्यो आँखाको भाका बुझ्यो । त्यो मनले यो मनको ढुकढुकी ठम्यायो । मन्तोषको मेहनत र मन ईश्वरीलाई मन पर्यो । ईश्वरीको इच्छा र इमानले मन्तोषको मन पगाल्यो ।
दुवैको मन मिलेपछि कसको के लाग्थ्यो र ? पिङले जुराएको भेट र पिङसँगै बेरिएको मनलाई एक बनाउन दुवै सहमत भए । त्यसपछि जिन्दगीको नयाँ यात्रा सुरु भयो ।
इटहरी घर भएका मन्तोषका बावुबाजेले सर्कस देखाएर गुजारा चलाउँथे । बाबुबाजेको कामलाई सघाउन परेपछि मन्तोष बेलामा स्कुल जान पाउनुभएन । पढाई छुट्यो । उहाँ अक्षर चिन्नुहुन्छ, अलिअलि हिसाब गर्न पनि आउँछ । तर ठूलो हिसाब गर्नुपर्यो भने कसैको सहयोग चाहिन्छ । ईश्वरीसँग भेट हुनु पहिले उहाँ साथीहरुको सहयोगमा हिसाबकिताब राख्नुहुन्थ्यो ।
जिन्दगीमा ईश्वरी आएपछि उहाँलाई भगवान ईश्वर नै भेटेजस्तो भएको छ । बीएड पास गरेकी ईश्वरीलाई हिसाबकिताब राख्न राम्रोसँग आउँछ । ‘सबै हिसाब गर्ने काम उनै गर्छिन्, मलाई त सरसामान मिलाउने र कहाँ लगेर पिङ हाल्ने भन्न मात्रै आउँछ’ मन्तोषले यसो भन्दै गर्दा छेउमा बसेकी ईश्वरी उता फर्केर हाँस्नुभयो ।
मधेसी मूलका निरक्षर मन्तोष, पहाडी मूलकी शिक्षित ईश्वरी । झट्ट सुन्दा र थाहा पाउँदा धेरैलाई कताकता के नमिलेजस्तो लाग्छ । तर मिल्नेको मन मिलिसकेपछि अरुको मनमा जे लागे पनि के फरक पर्यो र ? नपढेका श्रीमानसँग घरजम गर्नुपर्यो भनेर ईश्वरीलाई पटक्कै पछुतो छैन ।
‘पढे पनि, नपढे पनि मान्छेले एउटा इलम गरेर खाने हो, उहाँले राम्रो इलम गरेर कमाई रहनुभएको छ’, ईश्वरीले सन्तुष्ट हुँदै भन्नुभयो, ‘म पढेकी र उहाँ नपढेको भनेर केही फरक भएको छैन । उहाँ पिङको व्यवस्थापन गर्नुहुन्छ, म हरहिसाब राख्छु ।’
दुवैको आपसी विश्वास र समझदारीले जिन्दगी पनि पिङजस्तै रमाइलोसँग अघि बढिरहेको छ ।
पहिले बावुबाजेले गर्दै आएको सर्कस देखाउने काममा लागेका मन्तोषले १५ वर्षदेखि पिङको काम थाल्नुभएको हो । त्यतिबेला अहिलेजस्तो जेनेरेटरले घुमाउने पिङ थिएन । गाउँठाउँमा कतै मेला महोत्सव हुँदा फलामे पिङ जडान गर्नुहुन्थ्यो । हातैले पिङ घुमाउनुपथ्र्यो ।
‘जेनेरेटरले चलाउने पिङ आएको त ४ वर्षजति मात्र भयो, पहिलेजस्तो अहिले हातले घुमाउनु पर्दैन’, मन्तोषले भन्नुभयो ।
कतै मेला महोत्सव भयो भने पिङको लागि मन्तोषलाई खबर पुग्छ । अनि उहाँ पिङका गह्रौं फलामे सरसामान ठूलो ट्रकमा राखेर महोत्सव हुने ठाउँमा पुग्नुहुन्छ । पिङ जडान गर्न ७ देखि १० दिनसम्म लाग्छ । पिङ खेलाइसकेपछि खोल्न पनि उत्तिकै दिन लाग्छ ।
‘पिङ खेल्न र हेर्न मात्रै रमाइलो हो, यो काम निकै गाह्रो छ’, कीर्तिपुर मैदानमा पिङ जडान गर्दै गर्दा भेटिएका मन्तोषले भन्नुभयो, ‘जडान गर्न, खोल्न र ढुवानी गर्न मात्रै एकलाख भन्दा धेरै खर्च लाग्छ ।’
काम गाह्रो भए पनि कमाई लोभलाग्दो छ । एउटा महोत्सवबाट फर्किंदा खर्च खटाएर दुई लाख रुपैयाँ गोजीमा बाँकी हुन्छ । ‘कहिलेकाहीँ घाटा लागे पनि कमाई राम्रै छ, त्यसैले त दुःख र झण्झट भए पनि यही काम गरिरहेको छु नि’, मन्तोषले हाँस्दै भन्नुभयो ।
मेला महोत्सवले मन्तोषको मनमा सधैँ उत्सव ल्याउँछ । तीनथरी पिङ राखेर उहाँले सोचेअनुसारकै कमाई गरिरहनुभएको छ । साथमा मन मिल्ने र सहयोग गर्ने श्रीमती भएपछि झनै आनन्द भएको छ ।
‘दुःख गर्ने हो भने कमाउन विदेश जानु पर्दैन, यहीँ छ विदेश’, सन्तोषी मन्तोषले जडान गरेको पिङ हेर्दै भन्नुभयो, ‘घरपरिवारसँगै बसेर काम गर्दा अझ जाँगर पनि बढ्दो रहेछ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।